खेमराज रिजाल
तुलसीपुर, १२ जेठ । भारतीय सीमा क्षेत्रबाट नेपालीहरु गृहजिल्लामा प्रवेशको बढ्दो लस्करसँगै तुलसीपुर उपमहानगरपालिकाले विभिन्न वडाहरुमा कम्तीमा ७ सय ४० जना अटाउने क्षमताका क्वारेन्टाइन निर्माण गरिसकेको छ । सोमवार साँझसम्म कम्तीमा २ सय ५० जना विभिन्न भारतीय सीमा नाकाबाट ल्याएर क्वारेन्टाइनमा राखिएको तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिले जनाएको छ ।
उपमहानगरपालिकाले करिब १ महिनाको अवधिमा भारतका विभिन्न शहरहरुबाट तुलसीपुर उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने कम्तीमा २ हजार नागरिकहरु आउने अनुमान गरेको छ । त्यसैअनुरुप क्वारेन्टाइन राख्ने तयारी भएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताएका छन् । ‘सम्भव भएसम्म हाललाई क्वारेन्टाइनमा बस्नेहरुका लागि लत्ताकपडा र खानाको व्यवस्थापन उपमहानगरपालिकाले गर्नेछ, क्वारेन्टाइन रहेका सम्बन्धित वडाहरुले त्यसको व्यवस्थापन गर्नेछन्’, नगरप्रमुख पाण्डेले गोरक्षलाई भने । हाल व्यवस्थापन गरिएका क्वारेन्टाइनमा व्यवस्थापन असहज भए अझै केही स्थानहरुमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकिनेगरी आन्तरिक गृहकार्यसमेत भइरहेको उनको अभिव्यक्ति थियो ।
क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई घरमै सुरक्षित अवस्थामा रहेको अनुभूति हुने वातावरण मिलाउन उपमहानगरपालिका तयार रहेको बताउँदै नगरप्रमुख पाण्डेले आश्रितहरुलाई मेसमा खाना खुवाउने, नियमित सरसफाईका लागि आवश्यक शौचालय र बाथरुम पनि क्वारेन्टाइनभित्रै हुने अभिव्यक्ति दिए । हरेक क्वारेन्टाइनमा नियमित स्वास्थ्य परीक्षण हुने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताएका छन् ।
‘आवश्यकताअनुसार आरडिटी र पिसिआर परीक्षण गरी नेगेटिभ देखिएका व्यक्तिहरुलाई क्वारेन्टाइनबाट घर फर्काइने छ, कम्तीमा २१ दिनसम्म उनीहरु क्वारेन्टाइनमा बस्नेछन्’, निरीक्षक केसीले भने । स्वास्थ्य परीक्षणको काम जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा हुने पनि उनले बताए ।
तुलसीपुर उपमहानगरपालिकाका अनुसार सोमवारसम्म तुलसीपुर उपमहानगरपालिकाको अश्वारा, पवननगर, उरहरी, कालाखोला र मोतिपुरस्थित राप्ती लाइफकेयर अस्पतालको शिक्षण भवनमा क्वारेन्टाइन सञ्चालनमा आइसकेको छ । ती स्थानहरुमा कम्तीमा २ सय ५० जना क्वारेन्टाइनमा बसिसकेका छन् । संक्रमणको अवस्था भयावह भएको अवस्थामा अन्य गैरसरकारी संघसंस्थाका हलहरु तथा कोठासमेत प्रयोग गर्न सकिने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताएका छन् । त्यसले पनि समस्या समाधान हुन नसकेको अवस्थामा आवश्यकताअनुसार सम्बन्धित वडा सरकारको निगरानीमा घरमै पनि सेल्फ क्वारेन्टाइनमा बस्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।
उपमहानगरपालिकाका अनुसार सोमवारसम्म तुलसीपुर उपमहानगरपालिका १ को मावि भ्युडर सुनपुरमा ८० जना क्षमताको क्वारेन्टाइन, २ नं. वडाको मावि बालापुरमा ८०, ४ नं. वडाको गुरुजजुर मावि रक्षाचौरमा १ सय क्षमताको, ६ नं. वडाको सेन्टर स्कुलमा ७० जना क्षमताको, ७ नं वडाको मावि कालाखोला र राप्ती लाइफकेयरमा १ सय क्षमताको, ११ वडाको अमर मावि उरहरीमा ७० जना क्षमताको क्वारेन्टाइन निर्माण भइसकेको छ ।
त्यसैगरी १४ नं. वडाको खौसापुरमा ३० बेड क्षमताको, १६ नं. वडाको निमावि लक्ष्मीपुरमा ५० जना क्षमताको तथा १८ र १९ वडाको संयुक्तरुपमा सञ्चालन गरिने जनता संस्कृत मावि बिजौरीमा १ सय जना अटाउने क्षमताका क्वारेन्टाइनहरु निर्माण भइसकेको छ । सम्भव भएसम्म क्वारेन्टाइनलाई सहज बनाउन कोठाहरुमा फ्यान र आश्रित व्यक्तिहरुलाई झुलको समेत व्यवस्थापनको तयारी भएको उपमहानगरपालिकाले जनाएको छ ।
बिजौरीमा पनि सञ्चालनको तयारी
यसैबीच तुलसीपुर उपमहानगरपालिका १८ र १९ ले संयुक्तरुपमा १ सय जना अट्ने क्वारेन्टाइन निर्माण गरेका छन् । जनता संस्कृत माविको भवनमा बनाइएको सो क्वारेन्टाइनमा ती दुई वडाका स्थायी बासिन्दालाई राखिने सहमति सरोकारवालाहरुले गरेको छन् । सोमवार ती दुईवटा वडाका अध्यक्षहरु रामबहादुर योगी र माधव वलीसहितका सरोकारवालाहरुको बैठकले क्वारेन्टाइन सञ्चालनका लागि आवश्यक सहमति कायम गरेको हो । पहिलो चरणमा विद्यालयको माथिल्लो तलामा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । आश्रित व्यक्ति थपिँदै गएमा तल्लो तलालाई समेत उपयोग गर्न सकिने पनि बताइएको छ । कोठा सरसफाईलगायतका आवश्यक सबै तयारी पूरा भइसकेको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । क्वारेन्टाइनमा राखिने व्यक्तिहरुका लागि आवश्यक लत्ताकपडा र खानेपानीको सम्पूर्ण व्यवस्था उपमहानगरपालिकाले गर्ने जनाइएको छ । साथै विद्यालय परिसरमै रहेको खानेपानीलाई प्रशोधन गरी क्वारेन्टाइनमा आश्रितहरुलाई उपलव्ध गराइने छ । प्लाष्टिकका भाडाहरुमा मात्र खाने र तीनलाई सुरक्षित रुपमा बिसर्जन गर्ने सहमति पनि सोमवारको भेलाले गरेको छ ।