‘त्यत्तिकै भाडा तिर्नुभन्दा संक्रमणका बिरुद्धमा सहयोग गरौं भन्ने लाग्यो’
अमरराज आचार्य
दाङ, १२ जेठ । आफ्नो नजिक क्वारेन्टाइन नबने हुन्थ्यो भन्ने मानसिकतामा धेरै देखिन्छन् । कतिपयले त नजिकमा किन क्वारेन्टाइन बनाएको भनेर बिरोधको स्वर पनि ओकेलेका छन् । यहाँ बनाउन पाइँदैन भनेर विवाद पनि झिक्दै आएका छन् । तर जिल्लाका एक उद्योगीले भने आफ्नो उद्योगलाई क्वारेन्टाइन बनाउन दिएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेखालीमा रहेको शान्ति पेपर ब्याग उद्योगका सञ्चालक अमृतसिंह ठकुरीले आफू बस्ने घरभन्दा केही परको दूरीमा रहेको उद्योग भवनलाई क्वारेन्टाइन बनाउन दिएका छन् । उनले दिएको त्यो भवनमा अहिले ४ जना बसिसकेका छन् । विदेशबाट गाउँमा आएकाहरुलाई त्यहाँ बसालिएको छ । ‘अहिले यस प्रकारको संवेदनशील अवस्थामा सबैले आ– आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ’, सञ्चालक ठकुरीले भने– ‘मैले पनि केही योगदान गर्नसक्छु कि भनेर उद्योगको घरलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने निर्णय गरेको हुँ ।’ लकडाउनको कारण अहिले उनको उद्योग बन्द छ । ‘खाली राखेर भाडा तिर्नुभन्दा अरुलाई पनि सहयोग पुग्ने छ’, ठकुरीले भने । उद्योगले २०७४ भदौ १ गतेबाट उत्पादन शुरु गरेको थियो । त्यो उद्योगले उत्पादन गरेका झोला जिल्लाका घोराही, तुलसीपुर, नारायणपुरलगायतका स्थान तथा जिल्ला बाहिर पोखरा, धनगढी, मोरङ, बीरगन्ज, जनकपुरसम्म पठाउने गरेको ठकुरीले बताए । मागअनुसार उत्पादन गरेर बाहिरी जिल्लासम्म पठाउने गरेको उनको भनाइ रहेको छ । त्यस उद्योगमा दैनिक २ हजार ५ सयसम्म झोला उत्पादन हुने गर्दथ्यो ।
कागजबाट उत्पादन भएको झोलाको मूल्य साइजअनुसार ७ रुपैयाँ देखि १० रुपैयाँसम्म पर्ने उनले बताए । झोलामा ३ देखि ५ केजीसम्म तौलको सामान बोक्न सकिन्छ । झोलामा कम्पनीहरूले आफ्नो नाम राखेर छाप्न सक्ने ठकुरीले बताए । शुरुका दिनमा हातले उत्पादन शुरु गरेका उनले अहिले मेसिनबाट उत्पादन गर्ने शुरु गरेका छन् । आफूसँगै उनले अहिले ७ जनालाई रोजगारसमेत प्रदान गर्दै आएका छन् । प्लाष्टिकको विकल्पका रुपमा आफू कागजको झोला उत्पादनतर्फ लागेको उनले बताए । ‘प्लाष्टिकको अत्यधिक प्रयोगले वातावरण प्रदूषण समेत भएको छ’, ठकुरीले भने । यसको विकल्पमा कागजको झोला प्रयोग गर्न समेत आग्रह गरेका छन् । प्लाष्टिकको झोलाभन्दा रकममा केही महंगो भए पनि वातावरणको हिसावले राम्रो र उपयुक्त रहेको उनको भनाइ छ ।