उम्मेदवार डिसीलाई समस्या सुनाउँदै मतदाता

घोराही, ८ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १६ का मतदाताहरुले नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डिसीसँग वडाको विकास गरिदिन माग गरेका छन ।

मतदाताहरु भेट्नकालागि घरघरमा पुगेका कांग्रेसका उम्मेदवार ताराबहादुर डिसीसँग वडावासीले विकास माग्ने गरेका छन् । वडामा रहेका समस्या लिएर उनीहरुले डिसीसँग समस्या राख्दै समाधानकालागि पहल गरिदिन समेत आग्रह गर्ने गरेका छन । घरदैलो र चुनावी सभामा सहभागि हुन आउने मतदाताहरुले वडामा सडक सञालदेखि खानेपानीको समस्या देखाउने गरेका छन् ।

मतदाताहरुले जिल्लाका सदरमुकामसँग जोडिएको वडामा कालोपत्रे सडक नहुनु आफुहरुकालागि दुर्भाग्य भएको भन्दै उनीहरुले डिसीसँग गुनासो गर्ने गरेका छन् । उनीहरुले सिँचाइको व्यवस्था नहुदाँ खेतबारी बाँँझै हुने गरेको र स्वच्छ खानेपानी नपाउनु वडाको समस्या भएको बताएका छन् । ‘वडामा न गतिलो सडक छ, न त खानेपानी, न त सिँचाईको नै व्यवस्था छ’, शान्ति चौधरीले भनिन्,‘ नेकपाले हाम्रो विकास गर्न सकेन, अव कांग्रेस गर्छ कि भन्ने आशा छ ?’ उनका अनुसार घोराहीको केन्द्रसँग जोडिएको वडा भएपनि वस्तीहरुमा अझै विद्युत पुग्न सकेको छैन ।

वडाबासीहरुले अघिल्लो निर्वाचनमा सबै समस्या समाधान गर्ने भन्दै आँफुहरुलाई आश्वासन देखाएर निर्वाचन जितेपनि समस्या जस्ताको त्यस्तै भएको बताएका थिए । ‘अघिल्ला चुनावमा हामीलाई भुक्याए, विकासको आशा देखाए, त्यसैले भोट पनि दिइम’,उनले भनिन्,‘तर कहाँको विकास गर्नु समस्या अहिले पनि उस्तै छन ।’ अघिल्लो निर्वाचनका क्रममा जस्तै अहिले नझुक्किने कांग्रेसका उम्मेदवार डिसीसँग लालमति बुढाले बताइन । ‘गएको चुनावमा विकास गर्ने पार्टी कम्युनिष्ट पार्टी हो भने, हामीलाई पनि होला झै लाग्यो भोट दिऔँ’,बुढाले भनिन्,‘ कहाँको विकास गर्नु चुनाव जितेपछि अनुहार देखाएनन्,अहिले पनि विकास गर्ने हामी हो भन्दै भोट माग्न आउने गरेका छन ।’ अव विगतको जस्तो गल्ती नगर्ने बुढाले उम्मेदवार डिसीलाई बताइन ।

मतदाताहरुको समस्या उनेपछि उम्मेदवार डिसीले तपाईहरुका समस्याहरु नोट गरेर राखेको भन्दै निर्वाचन जितेपछि समस्या समाधान गरिदिने बताएका थिए । समस्या समाधानका लागि वडावासीले कांग्रेसलाई बिजयी बनाउन समेत आग्रह गरे । निर्वाचनपछि वडावासीहरुकै सल्लाहमा वडाको विकास गर्ने प्रतिबद्धता समेत गरेका थिए ।