शरीरमा लाग्ने रोग संसारलाई लाग्दा…

मधुसूदन सुवेदी

दुःख, पीडा, भय, हानि, त्रास, संताश, रोग, शोक, भोक जे–जस्ता कठिन अप्ठ्यारा र जटिल परिस्थिति तथा अवस्था एकजना, दुईजना तथा तीनजनासम्म हुँदा वा फैलिँदा त्यो सामान्य बन्दोरहेछ । जब त्यो परिवार, समाज, छिमेक, परिवेश, देश, राष्ट्र, मुलुक हुँदै संसार वा विश्व छोप्दछ त्यो शरीरका लागि मात्र नभएर संसारकै लागि महामारी बन्दोरहेछ । रोग त्यतिबेलासम्म रोग बन्दोरहेछ जतिबेला दुई–चार व्यक्तिमा मात्र सीमित भएर समाप्त हुँदोरहेछ वा निदान हुँदोरहेछ ।

त्यही रोग महामाररी त्यतिखेर बन्दोरहेछ जतिखेर संसार नै छोपेर निदानको कुनै उपाय नै चन्दोरहेनछ । बेला–बेला, समय–समय यस्तो रोग नआएको र नफैलिएको पनि होइन । समय, बेला, परिस्थिति स्थिति र अवस्था अनुसार यो रोगलाई सामान्यीकरण र सहजीकरण बन्दोरहेछ । जतिबेला समाज ज्ञान, विज्ञान र विकासको क्रममा निकै पछाडि रहन्छ वा रहेको हुन्छ । त्यो बेलाको रोग वा महामारी सहजीकरण वा सामान्यकरण बन्दोरहेछ । जतिबेलाको समय विकास, विज्ञान, ज्ञान, यन्त्र–तन्त्र, मन्त्र, जन्त्र, संयन्त्रले निपुण भएको बेला यस्तो खाले महामारी आउँदा सपनाजस्तो लाग्दोरहेछ । आजको पछिल्लो समयमा वा आजको २१औं शताब्दीमा एउटा सामान्य रोगसँग लड्न नसकेर वा प्रतिकार गर्न नसकेर वा त्यसको निदानको कुनै उपाय र उपकरण पत्ता लगाउन नसकेरसंसारभरका जनता दुई महिना, तीन महिना वा सोभन्दा बढी समयसम्म घरभित्रै गोठमा पशु बाँधिएसरह बाँधिनु भनेको यो संसारकै लागि अचम्मको घटना होला ।

यसभन्दा अगाडिका रोगका कुरा गर्दा र त्यसैको उपचारको विधि, पद्धति र उपकरण सोध्दा वा पश्न गर्दा गोली, सुई, क्याप्सुल, सिरप, विविध किसिमका औषधिका नाम र उपचारका प्रक्रिया भनिन्थ्यो । यतिबेला त उपचारको कुरा ग¥यो भने त सिधै घरभित्र थुनिएर बस्न सिकाइन्छ र बनाइन्छ । घरभित्रै एक्लै थुन्निएर बस्नु र सामाजिक दूरी कायम गर्नु औषधि बन्ने यो युग कुन होला ? कहिले काहीँ आफैलाई यो समय हो कि होइन भन्ने जस्तो लाग्छ ।

आज घरमा बस्दा–बस्दा सारा कुरा गुमाउँदा पनि यसको कुनै लेखाजोखा र मूल्यांकन कसैले गर्न किन सकेन ? सबैले बुझ्ने र बुझाउने भाषामा लकडाउन भने पनि यो आफैमा सकडाउन हो । अर्थात् यसले भोलिका दिनमा सबैथोक सकेर लैजाने छ । लकडाउनका कारण रोग कति नियन्त्रण हुन्छ र कति मानिस मर्नबाट बच्छन् ? त्यसको नतिजा आउला–नआउला भन्न सकिन्न तर मानिसमा भएको जोश, जाँग, हिम्मत, साहस, पराक्रम, योजना, लक्ष्य, सिद्धान्त, भविष्य, सपनालगायत घरमा भएको अन्नपात, दालतरकारी, धनपैसा तथा आयआर्जनको बाटो सबै सकेर, निखारेर, निचोरेर, रित्याएर, घोप्ट्याएर, पोखेर, खसालेर, पेलेर खली बनाउने छ भन्दा कुनै अचम्म नहोला । जति समय बित्दै जान्छ उति यो लकडाउनको महत्व बढ्दै जान्छ । आज कुन व्यक्ति कुन अवस्थामा गुज्रिएको छ त्यसको डाटा कोसँग छ होला र ? केवल रोगसँग लडने र प्रतिकार गर्ने क्षमता नभएपछि भाग्नु र घरभित्र ढोका लगाएर बस्नुको विकल्प नै के रहेछ र ? आज विश्वलाई महामारीले भन्दा लकडाउनले ठाडो चुनौती दिइरहेको छ र भनिरहेको छ– ‘ए ! मानव हो यति यो रोग सदासर्वदाका लागि जीवित रह्यो भने तिम्रो योजना खाली मलाई स्वीकार्नु मात्र हो । अर्थात् यो अवस्थामा संसारमा ताला लगाउनेबाहेक अरु विकल्प केही रहँदैन ।

अघि–पछि एकदिन देश बन्द हुँदा र ठप्प हुँदा देशमा यति करोड र उति अरबको घाटा लाग्छ भनेर हिसाब निकाल्न जान्ने अर्थतन्त्रका विद्वान्हरुले आज विश्वभर महिनौ ताला लाग्दा, बन्द हुँदा, ठप्प हुँदा र लकडाउन हुँदा सबैको हालत के छ होला ? आज पनि त्यो हिसाबलाई रुपैयाँ, पैसा र कारोबारमा लेख्न, भन्न र उतार्न सक्छौ ? विश्वको अर्थतन्त्र कहाँ पुग्यो ? भन्दा लाज लाग्छ कि लाग्दैन ? अब भन, यो युग विकासको युग हो कि ? विकासको ? विज्ञानले त विकासभन्दा अरु केही पनि गर्दैन भन्ने मान्यता थियो । आज त्यो कहाँ फेल खायो ? विज्ञानभित्र विकास मात्र रहेछ कि विनाश पनि अब याद भयो कि भएन ? हरेक कुरा गर्दा उदाहरण दिँदा २१औं शताब्दीलाई अघि सारिन्थ्यो र भन्ने गरिन्थ्यो– यो २१औं शताब्दी हो । चानचुने होइन । आज साठी दिन देशमा ताला लाग्दा त्यो शताब्दी कहाँ गयो ? घर त शताब्दीलाई पनि रहेछ । भय त शताब्दीलाई पनि रहेछ । त्रास त शताब्दीलाई पनि रहेछ । पीडा त शताब्दीलाई पनि रहेछ । महामारी र लकडाउन शताब्दीले पनि पचाउन सकेन । यो लकडाउन २१औं शताब्दीले पनि हटाउन सकेन । धानभन्दा धक्कु ठूला, हिँड््न खोज्दा खुट्टा खुला भनेझैँ यो कोरोनाको कहर र लकडाउनले २१औं शताब्दीमा गर्नुसम्म खिस्सी ग¥यो । आज आफैले आफैलाई प्रश्न गर्नुपर्ने बेला भएको छ– यो युग कुन युग हो ? यो समय कुन समय हो ? यो बेला कुन बेला हो ? यो मौसम कुन मौसम हो ? यो अवस्था कुन अवस्था हो ? यो स्थिति कुन स्थिति हो ? यो परिस्थिति कुन परिस्थिति हो ? यो व्यवस्था कुन व्यवस्था हो ? यो राज्य कुन राज्य हो ? यो मुलुक कुन मुलुक हो ? यो राष्ट्र कुन राष्ट्र हो ? यो संसार कुन संसार हो ? कस्तो आश्चर्य ! सोच्दा, सम्झिँदा पनि सपनाजस्तो लाग्ने र आफूले आफैलाई चिमोट्नुपर्ने ? सत्य भनौं युगकै बदनाम, असत्य भनौ भोगेकै यही हो । अब के भन्ने ? आज होला भन्यो, भोलि होला भन्यो, पर्सी होला भन्यो अवस्था उस्तै ।

जाडोमा गर्मी लाग्दा कम होला भन्यो, गर्मीमा बर्षा लाग्दा कम होला भन्यो, बर्षा लाग्दा घाम लाग्दा कम होला भन्यो, घाम लाग्दा बतास चल्दा कम होला भन्यो, मौसम परिवर्तन हुँदै गएको छ तर यो संसारको रोग लकडाउनको रोग कम भएन । यहाँ त महामारी र लकडाउन सँगसँगै भित्रियो । भित्री रोग कोरोना र बाहिरी रोग लकडाउन । यी दुबै एकैसाथ चलेको सायद यही युगको पहिलो चुनौती होला । समय आउथ्यो, जान्थ्यो तर यस्तो खराब, प्रतिकूल कहिल्यै आएन होला ! संसार ढुंगे युगमा चल्दा पनि यस्तो दुःख र कष्ट संसारले भोगेन र झेलेन होला । किनभने त्यतिबेला मानिसमा आत्मअनुशासन र धर्म संस्कार निकै हावी र प्रचलनमा थियो । विकृतिको जालो यसरी फैलिएको थिएन । मानिस आफ्नो शरीरका लागि स्वयं काफी थियो । र्ग नहुने कहिल्यै गर्दैनथ्यो र गर्न हुने कहिल्यै त्याग्दैनथ्यो । आज त त्यस्तो छैन । जे विकृति हो त्यो चल्दै छ र जे संस्कृति हो त्यो मासिँदै छ । धर्म र संस्कृतिको आडमा अडेस लाग्न नसक्दा र आफ्नो धर्मलाई कमजोर ठान्दा यो हामी देख्दैछौं, भोग्दैछौं र संसारमा हेर्दैछौं । अब के होला र कसो होला ?