आवश्यकताअनुसार क्वारेन्टाइनको संख्या बढाउँदै जाने तयारीमा स्थानीय सरकारहरु देखिन्छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । क्वारेन्टाइन कति आवश्यक पर्ने हो भन्ने कुनै अनुमान नै गर्न नसकिने अवस्था छ । अहिलेसम्म बनेका क्वारेन्टाइनहरु अस्थायीरुपमा बनाइएका छन् । प्रायः विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएका छन् । भोलि अवस्था सहज भयो भने र विद्यालय चल्न थाले भने क्वारेन्टाइन कहाँ बनाउने भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । संघीय सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेका छन् र त्यहीअनुरुपको बजेटको तयारी समेत भइरहेको छ । तर कोरोनामुक्त नेपाललाई प्रमुख लक्ष्य लिएको सरकारको नीति तथा कार्यक्रममा क्वारेन्टाइन निर्माणका लागि छुट्टै योजना र प्रतिबद्धता आउन सकेको छैन ।
कोरोना भाइरस त्यत्ति छिट्टै लोप भएर जाने पक्कै छैन । संक्रमणबाट मुक्त हुन औषधि बने पनि संक्रमितहरुलाई सामाजिक दूरी बनाएर अलग्गै राख्नका लागि क्वारेन्टाइनहरु चाहिने छन् नै । त्यसका लागि स्थायी प्रकारका क्वारेन्टाइनहरु पनि निर्माण गर्नपर्ने हुन्छ । यसतर्फ कुनै पनि तहका सरकारहरुले तयारी गरेको देखिँदैन । अब यस्तो तयारीमा बिलम्व गर्न हुँदैन । विद्यालयलाई सधै यही रुपमा प्रयोग गर्न पाइँदैन र हुँदैन पनि । यसतर्फ सरकारको ध्यान समयमै पुग्नु पर्दछ । बजेट निर्माण गर्दै गर्दा यतातर्फ पनि सोचिनु पर्दछ । खाली रहेका जमिनहरु तथा सामुदायिक भवनहरुको प्रयोगको अवस्था हेरेर तिनलाई सरकारले भाडामा लिएर पनि निश्चित अवधिका लागि क्वारेन्टाइन बनाउने विकल्पलाई पनि कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ । यसबाहेक पनि अहिले बनाइएका क्वारेन्टाइनहरुको गुणस्तर, सुरक्षा अवस्थालाई अझ व्यापकरुपमा सुधार गर्नुपर्ने देखिएका छन् । गुनासोहरु प्रशस्तै आउने गरेका छन् । संक्रमितहरु बाहिर निस्कने र पसलमा गएर किनमेल गरेको समेत देखिन्छ । उनीहरुलाई बाहिर नजानका लागि रोक्ने काम पनि भएको छैन । यसरी संक्रमण झनै फैलन सक्ने अवस्था रहन्छ । शुद्ध र पर्याप्त पिउने पानीको समेत अभाव रहेको जानकारी त्यहाँ भित्रबाट गराइएको छ । उनीहरु त्यहाँ बस्ने क्रममा अध्ययन गर्न, रमाइलो गर्न र समय कटाउनका लागि इन्टरनेटमा पहुँच बनाउनुपर्ने हुन्छ । त्यसका लागि पनि काम गर्नपर्ने अवस्था छ । यसरी दीर्घकालीन र अल्पकालीनरुपमा क्वारेन्टाइनहरुको व्यवस्था तथा त्यहाँ बस्नेहरुबाट अहिले आइरहेका गुनासा मेट्ने कार्य गर्न आवश्यक छ । सरकारले बजेट बनाउँदै गर्दा यी पक्षहरुलाई पनि ध्यान दिन आवश्यक छ ।
संक्रमण रोक्नका लागि भएका पहलहरुलाई अझ व्यापकता दिनुपर्ने अवस्था एकातर्फ छँदैछ, अर्कोतर्फ संक्रमितहरुका लागि न्यूनतम सुविधाको सुनिश्चितता कामय गरेर उनीहरुलाई क्वारेन्टाइनमा बसाल्ने कुरालाई पनि उत्तिकै ध्यान दिनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ । क्वारेन्टाइनमा बस्ने भनेको सजाय भोग्नका लागि वा जोल बसेको जस्तो गरी वा हेपिइएर बसेको हैन भन्ने अनुभूति दिलाउन आवश्यक छ । क्वारेन्टाइनबाट मानिसहरु भागेको समाचार सुन्न नपर्ने अवस्था निर्माण गरियोस् ।