अनलाइन कन्फेरेन्समा अपांगता भएकाहरू

गोरक्ष समाचारदाता
दाङ, ११ जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन भएको दुई महिनापछि नेपालभरका अपाङ्गता भएका व्यक्तिहरु पनि अनलाइन कन्फेरेन्समा जोडिएका छन् । आइतवार मुलुकभरका कम्तिमा ५२ जना अपाङ्गता भएका व्यक्तिहरुले अनलाइन कन्फेरेन्समा आ–आफ्ना अभिव्यक्ति साटेका छन् । अनलाइन कन्फेरेन्सको व्यवस्थापन राष्ट्रिय अपाङ्ग महासंघले मिलाएको थियो ।
लकडाउनको अवस्था लम्बिएसँगै विभिन्न सामाजिक संघसंस्थाहरुले भिडिओ कन्फेरेन्समार्फत् आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुसँग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिहरुले आयोजना गरेको यो सम्भवतः पहिलो कन्फेरेन्स हो । ‘लकडाउनको समयमा मुलुकका विभिन्न प्रदेशहरुले आगामी आर्थिक वर्षका लागि नीति र कार्यक्रमहरु ल्याइरहेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुको विषयमा के–कस्ता कार्यक्रमहरु ल्याउनुपर्छ भन्ने विषयमा हाम्रो कन्फेरेन्स केन्द्रित थियो’—नेपाल राष्ट्रिय अपाङ्ग संघ बागमती प्रदेश अध्यक्ष मनिस प्रसाईले गोरक्षलाई भने ।
लकडाउनका कारण बन्दाबन्दी भएको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुको रोजिरोटीको व्यवस्थापन, सम्भावित संक्रमणमा अपाङ्गता भएका व्यक्तिहरु परे÷नपरेको तथा क्वारेन्टाइनमा अपाङ्गता भएका व्यक्तिहरु राखे÷नराखेको विषयमा छलफल भएको बहिराहरुका दोभाषे स्मृति योगीले बताइन् । दोभाषेको भूमिकामा स्मृति योगीसँगै काठमाडौंका प्रकाश महर्जनले समेत भूमिका निर्वाह गरेका थिए । साथै भिडिओ कन्फेरेन्समा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गमैत्री क्वारेन्टाइनमा राख्न सम्बन्धित पालिकाका स्थानीय सरकारहरुलाई आग्रह गर्ने र शंकास्प्रद व्यक्तिहरुलाई सक्दो चाँडो कोरोनाको परीक्षणमा नैतिक दबाब दिने विषयमा पनि गम्भीर छलफल भएको थियो ।
लकडाउन भएको करिब दुई महिनापछि अनलाइनमार्फत् अपाङ्गता भएका व्यक्तिहरुले आ–अफ्ना समस्या राखेका थिए । अनलाइनमा जोडिएका बहिराहरुले दोभाषेका माध्यमबाट आफ्ना समस्या राखेका थिए भने दृष्टिविहीनहरुले कन्फेरेन्सको रेकर्ड सुनेका थिए । अन्य सामान्य अपाङ्गता भएका व्यक्तिहरु पनि यसमा जोडिएका थिए । कन्फेरेन्सको सहजीकरण किर्तन दुवालले गरेका थिए ।