किसानको पसिनामा रजाईं

लिलाधर वली
दाङ, ११ जेठ । गर्मी मौसम शुरु भएसँगै देउखुरीका किसानलाई बगर खेतीबाट राम्रो आम्दानी हुने आशा थियो । गर्मी मौसममा जिल्लाका अन्य ठाउँहरुमा तरकारी खेती कम हुने हुँदा देउखुरीका किसानहरुले राप्ती नदीको बगरमा तरकारी उत्पादन गर्दै आएका छन् । त्यही तरकारीबाट उनीहरुले राम्रो आम्दानीसमेत लिने गरेका छन् ।

तर यो बर्ष कोरोना भाइरसका कारण सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको मारमा किसानहरुसमेत परेका छन् । अहिले देउखुरीको राप्ती नदीको बजारमा किसानहरुले उत्पादन गरेको तरकारीले राम्रो बजार पाउन सकेको छैन । लकडाउनका कारण बजार बन्द हुँदा किसानहरुले उत्पादन गरेको तरकारी बजारसम्म ल्याउन पाएका छैनन् । विगतका बर्षहरुमा देउखुरीको लमहीसँगै घोराहीसम्म तरकारी बिक्रीका लागि आउने किसानहरु अहिले घरबाटै तरकारी बेच्न बाध्य छन् । कतिपय किसानहरु भने देउखुरीको लमही–गढवा सडकखण्डअन्तर्गत रहेको राप्ती पुलको दक्षिण र उत्तरतिरको छेउमा बसेर तरकारी बेच्दै आएका छन् ।

बजार बन्द हँुदा किसानले मेहनत गरेर उत्पादन गरेको तरकारीले मूल्य समेत पाउन सकेको छैन । किसानहरुले तरकारी बजारसम्म बिक्रीका लागि ल्याउन सक्ने अवस्था छैन । गाउँमा जाने किसानहरुले तरकारीको मूल्य नै नदिने गरेको राप्ती पुलको छेउमै तरकारी बिक्री गर्दै आएका लमही नगरपालिका वडा नं. ४ श्यामरहवाका किसान छुकान चौधरीले बताए । उनले करिब ६ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आएका छन् । ‘यो बर्ष बगरखेतीको श्रम खेर जाला जस्तो छ, तरकारी उत्पादन भए पनि बिक्री हुँदैन’, किसान चौधरीले भने– ‘उत्पादन भएको तरकारी बिक्री नहुँदा छिप्पिन थालिसक्यो, बिक्रीका लागि बजार खुल्दैन ।’ बजारसम्म तरकारी लैजाने अवस्था नभएपछि अहिले राप्ती नदीको पुल छेउमै बसेर तरकारी बिक्री गर्ने गरेको बताए । खरबुजासँगै करेला, सिमी, भान्टा, भिण्डीलगायतका तरकारी बेच्दै आएका चौधरीले विगतका बर्षहरुको तुलनामा यो बर्ष तरकारीको मूल्य नभएको बताए । ‘यो.बर्ष तरकारीको मूल्य नै छैन, विगतको भन्दा दोब्बर कम मूल्यमा तरकारी बेच्दैछौ’, उनले भने– ‘तर यहाँ तरकारी किन्न आउने त्यही पनि महंगो भन्छन् ।’ उनका अनुसार विगतको बर्ष प्रतिकेजी एक सय रुपैयाँसम्म बेचेको तरकारी अहिले बढीमा ४० देखि ५० रुपैयाँसम्म बिक्री गर्ने गरेको बताए । ‘अहिले तरकारी मूल्य नै नभए जस्तो गर्दछन्, तरकारी किन्नका लागि आउने व्यवसायीहरु १० देखि २० रुपैयाँसम्म प्रतिकेजी तरकारी माग्छन्’, उनले भने– ‘व्यवसायीको मागअनुसार तरकारी बेच्दा मेहनत नै उठ्दैन ।’ सस्तोमा बिक्री गर्नुभन्दा बारीमै कुहियोस भनेर नबेच्ने गरेकोसमेत उनले बताए ।

त्यस्तै भनाइ छ देउखुरीकै अर्की किसान चमेली चौधरीको पनि । चौधरीले राप्तीको बगरमा करिब दश कठ्ठा जमिनमा लगाएको खरबुजा, करेला, भिण्डीलगायतका तरकारी बिक्रीका लागि तयार छ । तर बेच्ने ठाउँ छैन । त्यसैले उनी पनि लमही–गढवा सडकखण्डको छेउमै बसेर खरबुजालगायतका तरकारी बिक्री गर्दै आएकी छिन् । ‘तरकारीको मूल्य नभए पनि बेच्नै प¥यो, नत्र बारीमै तरकारी छिप्पिन थालिक्यो’, उनले भनिन्– ‘छिप्पिन दिनुभन्दा घाटा घाएरै भए पनि तरकारी बेच्ने गरेका छु ।’ तरकारी राम्रो उत्पादन भए पनि यो बर्ष बेच्नलाई समस्या भएको उनले बताइन् । ‘गएको बर्ष त तरकारी बेच्न लमहीदेखि घोराही बजारसम्म जाने गरेको थिएँ’, उनले भनिन्– ‘तर यो बर्ष बजार र गाडी बन्द छन्, त्यसैले बजारसम्म जान पाएकै छैन ।’ बजार बन्द हुँदा घाटा खाएरै तरकारी बेच्न बाध्य भएको उनले बताइन् । ‘तरकारी फलेको छ, बेच्ने ठाउँ छैन । त्यसैले तरकारी छिप्पिन थालिसक्यो’, उनले भनिन्– ‘तरकारी छिप्पिने र कुन थालेपछि कतिपय तरकारी त बारीमै फाल्ने गरेका छौ ।’ गाउँघरमा किन्न आउने मानिसहरुले तरकारीको मूल्य नै नदिने गरेको उनको गुनासो रहेको छ । ‘तरकारी खेती गर्दा लाग्ने मेहनत, बीउको मूल्य र मलको आधारमा मूल्य लिने हो’, उनले भनिन्– ‘तर कतिपय मानिसहरुले आफै फलेको तरकारी होलाजस्तो गरी तरकारीको कम मूल्य गर्छन् ।’ उनका अनुसार कतिपय व्यवसायीहरुले सस्तोमा तरकारी लगेर महंगोमा समेत बेच्ने गरेको बताइन् ।

लामो समयसम्म लकडाउनका कारण बजार बन्द हुँदा देउखुरीमा बगरखेती गरेका छुकान चौधरी र चमेली चौधरीजस्तै धेरै किसानहरु समस्यामा परेका छन् । तरकारी उत्पादन भए पनि बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा उनीहरुले उत्पादन गरेको तरकारीसँगै मेहनतसमेत खेर जाने अवस्था रहेको छ । उनीहरुले उत्पादन गरेको तरकारी बजारसम्म ल्याउने व्यवस्था स्थानीय सरकारले गरिदिए किसानहरुले मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार पाउने र किसानहरुले राहत पाउने अवस्था रहेको छ ।