क्वारेन्टाइन निर्माणमै ढिलासुस्ती

रेशम खड्का
तुलसीपुर, ११ जेठ । भारतबाट नेपाल भित्रिने आप्रवाशी नेपालीमा अत्यधिक रुपमा कोरोनाको संक्रमण देखिए पनि भारतीय सीमाबाट दाङ ल्याइएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माणमा ढिलासुस्ती देखिएको छ । सानातिना विवादलाई पनि स्थानीय सरकारले व्यवस्थापन गर्न नसक्दा यो समस्या विकराल बन्दै आएको छ । भारतीय सीमाबाट सयौं व्यक्तिहरु तुलसीपुर भित्रिएको अवस्थामा पनि उपयुक्त तथा पर्याप्त क्वारेन्टाइन निर्माण हुन नसकेको उपमहानगरबासीको गुनासो छ ।
करिब १५ दिन अघि नै भारतबाट आप्रवासी नेपाली घर आइपुग्ने निश्चित भइसकेको थियो । मुख्यमन्त्री शंकर पोख्रेलले दाङ आएकै बेला कम्तिमा ६ हजार भारतका विभिन्न स्थानमा काम गर्ने दाङबासी यहाँ आउने उद्घोष गर्दै आवश्यकता अनुसार क्वारेन्टाइन र आइसोलेशन बेड निर्माण गर्न स्थानीय सरकारलाई निर्देशन गरिसकेका थिए । तर अझैसम्म पनि आवश्यक मात्रामा क्वारेन्टाइन निर्माणको काम हुन नसकेको नगरबासीको अभिव्यक्ति छ ।
‘सरकारी स्कूल÷कलेज र गैरसरकारी संस्थाका खाली भवनहरु समेत क्वारेन्टाइन राख्न नदिनेमा लविङ गरिरहेको देखिन्छ, महामारीका बेला राज्यको सम्पत्ति समेत सहज रुपमा प्रयोग गर्न तगारो झिक्नु दुर्भाग्य हो’—तुलसीपुरका एक स्थानीयले भने । उनका अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन हुन नसके तुलसीपुर संक्रमणको उच्च जोखिममा छ । यहाँ तुलसीपुरका मात्र नभएर सल्यान, रोल्पा र रुकुमको पनि ट्रान्जिट प्वाइन्ट हो ।
भारतीय सीमाबाट आएकाहरुलाई आफ्नो गाउँमा राख्दा गाउँमै संक्रमण फैलनसक्ने भन्दै स्थानीयबासीले त्यसको विरोध गर्न थालेका छन् । यो गलत विचारका कारण तोकिएको स्थानमा क्वारेन्टाइन व्यवस्थापन गर्न नसकिएको स्थानीय सरकारले जनाएको छ । ‘हामी चिकित्सक सहितको क्वारेन्टाइन निर्माणमा जुटिरहेका छौँ, तर कहीँकतै विरोधहरु पनि नभएका होइनन्, त्यसलाई समायोजन गर्दै जाने छौँ’—तुलसीपुर उपमहानगरपालिकाका एक वडाध्यक्षले भने । कोरोनाबाट जुझ्न विश्व नै एक भएकोबेला क्वारेन्टाइन राख्ने स्थानका विषयमा विवाद झिक्नु उपयुक्त नभएको पनि उनको अभिव्यक्ति थियो । क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा भारतीय सीमाबाट आउने तुलसीपुरबासी मनोमानी घर–घरमै बस्न थाले, त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुने पनि उनले बताए ।
क्वारेन्टाइनमा राखेर आवश्यक परीक्षण गरी कोरोना पोजेटिभ भएमा मात्र भारतबाट आएका नेपालीलाई घर पठाउने नीति रहेको स्पष्ट पार्दै उपमहानगरपालिकाले उपयुक्त र आवश्यक स्थानमा क्वारेन्टाइन स्थापना गर्ने सवालमा सहयोग गर्ने पनि नगरबासीलाई आग्रह गरेको छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि आफ्नो क्षेत्रमा सोही क्षेत्रका स्थायी घर भएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न दिने बताउँदै अवरोध सिर्जना गर्नथालेका छन् । ‘आफ्नो क्षेत्रका व्यक्ति मात्र राख्ने भए विद्यालयमा क्वारेन्टाइन बनाउन दिन्छौँ, नत्र भने दिँदैनौँ’—एउटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको भनाईलाइ उदृत गर्दै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका एक अधिकारीले भने ।
तुलसीपुर स्वास्थ्य महाशाखा अनुसार हालसम्म २ हजारको हाराहारीमा बेड आवश्यक परे पनि जम्मा ४ सय बेड मात्र क्वारेन्टाइनका लागि व्यवस्थापन भएको छ । स्थानीय निकायबीच कुनै पनि समन्वय नहुनाले आइसोलेशन बेड र क्वारेन्टाइन निर्माणमा समस्या आएको एउटा वडाका कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा गोरक्षलाई बताए ।
तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० बेडको क्वारेन्टाइन सञ्चालनका लागि उपमहानगरपालिकालाई उपलब्ध गराएको अवस्थामा अन्य सामुदायिक विद्यालयहरुले समेत यसबाट पाठ सिक्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाको तर्क रहेको छ ।