घोराहीका क्वारेन्टाइनमा ६ सय ७० जना

अमरराज आचार्य
दाङ, ११ जेठ । भारतका विभिन्न सहरहरुमा मज्दुरी गर्न गएका आप्रवासी नेपाली घर फर्कने क्रममा घोराही उपमहानगरपालिकामा ६ सय ७० जना आइपुगेका छन् । उनीहरुलाई उपमहानगरपालिकाका विभिन्न वडामा व्यवस्थापन गरिएका क्वारेन्टाइनहरुमा राखिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका विभिन्न स्थान गरी ३७ वटा क्वारेन्टाइनमा उनीहरुलाइ राखिएको बताइएको छ । उनीहरुको आवश्यकताअनुसार आरडिटी र पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ देखिएमा मात्र घर पठाइने तथा संक्रमित भएको पाइए आइसोलेशनमा राखेर उपचार गरिने उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिए । क्वारेन्टाइनमा ६ सय १९ पुरुष, ४८ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

महिला तथा बालबालिकाहरुका लागि छुट्टै कोठामा बस्ने व्यवस्था गरिएको छ । अहिले उपमहानगरपालिकामा एक हजार ६ सय ५६ जना अट्ने क्षमता रहेको क्वारेन्टाइन छ । अन्य स्थानबाट आउने नागरिकको संख्या बढ्दै गएमा क्वारेन्टाइनको संख्या पनि थप गरिने उपमहानगरपालिकाले तयारी गरेको छ । रोजगारका लागि भारत गएकाहरुलाई अहिले सीमासम्म पुगेर ल्याइने गरिएको छ । उनीहरुलाई सकेसम्म सम्बन्धित वडामा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा राखिने गरेको छ ।
यसरी क्वारेन्टाइन राखेकालाई घरपरिवारबाटै खाना पु¥याउने गरेका छन् । वडामै क्वारेन्टाइन निर्माण गरेकाले घरपरिवारलाई सहज भएको सूचना अधिकारी चौधरीको भनाई छ । अहिले उपमहानगरपालिकाले वडामा कम्तिमा पनि एउटा क्वारेन्टाइन निर्माण गरिएको छ । आवश्यकताअनुसार क्वारेन्टाइको संख्या बृद्धि गर्दै जाने उपमहानगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा बस्नका लागि व्यक्तिगत रुपमा आवश्यक पर्ने सामग्रीहरु व्यक्तिहरुले घरबाट नै व्यवस्था गर्नुपर्ने भएको छ । समूहगत रुपमा आवश्यक पर्ने सामग्री उपमहानगरपालिकाले प्रदान गर्ने गरेको चौधरीले बताए । उपमहानगरपालिकाले बत्ती, खानेपानी तथा शौचालयको व्यवस्था गरिदिने गरेको उनले जानकारी दिए । अहिले क्वारेन्टाइन विद्यालयमा निर्माण गरिएकाले विद्यालयले प्रयोग गर्दै आएको खानेपानी नै प्रयोग गर्न दिइएको छ । आवश्यक परेको स्थानमा खानेपानी फिल्टर गर्ने व्यवस्था गरिएको सूचना अधिकारी चौधरीले बताए ।
पहँुच भएको स्थानमा इन्टरनेट सेवा समेत प्रदान गरिएको छ । नगरका सबै स्थानमा यस प्रकारको सेवा भने पाउनसकेका छैनन् । क्वारेन्टाइनमा राखेकाले गरेको फोहरलाई सम्बन्धित क्षेत्रमै व्यवस्थापन गरिने भएको छ । ‘क्वारेन्टाइनमा रहेकाले गरेको फोहरलाई सम्बन्धित स्थानमा उचित व्यवस्थापन सहित विसर्जन गरिने छ’–सूचना अधिकारी चौधरीले भने । आफै घर नजिकै बस्न पाउँदा क्वारेन्टाइनमा बस्नेहरुलाई पनि सहज हुने गरेको वडाध्यक्षहरुको भनाई छ । क्वारेन्टाइनमा बसेकाहरुको आवश्यकताअनुसार स्वास्थ्य चाँज समेत गरिने गरेको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखामार्फत् स्वास्थ्य जाँच गर्ने गरिएको चौधरीको भनाई छ ।
क्वारेन्टाइनमा स्थानीयवासीले नै निगरानी गर्ने गरेका छन् । क्वारेन्टाइनमा रहेकालाई बाहिर आउन नदिनका लागि खाना पु¥याउँदा भित्र जान नदिनेजस्ता कार्य स्थानीयवासीले गरेका छन् । सबै अनुशासनमा रहँदा सबैलाई सहज हुने उनको भनाई छ । अहिले सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्था नगरिएको बताइएको छ । आवश्यक परेको समयमा सुरक्षाकर्मीहरु, स्वयम्सेवक परिचालन गरिने गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले क्वारेन्टाइनको गाइड लाइनअनुसार कार्य गर्दै आएको जनाएको छ ।

क्वारेन्टाइनमा गुनासै गुनासा
यसैबीच उपमहानगरपालिकाका विभिन्न स्थानमा व्यवस्थापन गरिएका क्वारेन्टाइनका विषयमा गुनासैगुनासाहरु विभिन्न सामाजिक सञ्जालहरुमा व्यक्त भइरहेका छन् । केही क्वारेन्टाइन आसपासका स्थानीयवासीले क्वारेन्टाइन नाम मात्रका भएको गुनासो गर्दै आवश्यकताअनुसार व्यवस्थापन गर्न पनि स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

‘जेठ महिनाको धुपमा क्वारेन्टाइनभित्र न खानेपानीको सहज व्यवस्थापन छ, न त उनीहरुलाई दिनरात कटाउन पंखाको व्यवस्थापन पनि छ’–घोराही उपमहानगरपालिका–१० का एक स्थानीयले भने । नारायणपुर बजारको सिद्ध रत्ननाथ विद्यालयमा राखिएको क्वारेन्टाइनमा राखिएकाहरुलाई चर्को गर्मीमा समय कटाउनै मुस्किल भएको छ । विद्यालयमा पंखा जडान भएका धेरै कोठाहरु भए पनि ती कोठाहरुमा नराखी टिनले छाएका कोठाहरुमा राखिएको छ । जुन कोठाहरु बजारसँग जोडिएका छन् । क्वारेन्टाइनमा स्थानीयवासीको सहजै आवतजावत हुनसक्ने र त्यहाँ रहेका पनि सहजै बाहिरिनसक्ने अवस्था भएकाले संक्रमणको सम्भावना समेत बढेको स्थानीयवासीको ठम्याई छ । ‘क्वारेन्टाइनमा बसेकाहरुमध्ये एक जनामा मात्र संक्रमण रहेछ भने पनि यो बसाईले सबै व्यक्तिहरु संक्रमित हुने अवस्था देखिएयो’– उनले बताए । तर यो विषयमा स्थानीय सरकारका प्रतिनिधिहरुले भने यो विषयमा माथिल्लो निकायमा सोध्न जानकारी दिन्छन् ।

स्थानीय तहहरुले रोजगारीका लागि भारतमा गएकाहरुलाई सीमा क्षेत्रमा पुगेर नै उद्धार गरेर ल्याए थिए । सीमाबाट उद्धार गरिएकाहरुलाई अहिले आ–आप्mना वडामा रहेका विद्यालयहरुमा क्वारेन्टाइन बनाएर राखिएको छ । तर ती क्वारेन्टाइनमा खानेपानीको समेत व्यवस्था हुन नसकेको उनीहरुको गुनासो छ । क्वारेन्टाइनमा बसेकाहरुलाई खानेपानी समेत घरपरिवारले ल्याइदिने गरेको घोराहीमा रहेको एक क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिले बताए । आफूहरुले पटक–पटक समस्याका बारेमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उनको भनाई छ । यस बारेमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने उनीहरुको आग्रह छ ।
क्वारेन्टाइनमा बसेकाहरुलाई अपहेलनाको दृष्टिले हेर्ने गरेको पनि उनको अभिव्यक्ति थियो । ‘भोको पेट भए पनि भारतमा संक्रमित त भइएको थिएन, तर यहाँका क्वारेन्टाइनमा संक्रमणको भय हुँदैन भन्ने हाम्रो आशा थियो’–क्वारेन्टाइनमा बस्दै आएका ती व्यक्तिले भने । यसरी बस्नुपर्दा आफूहरुलाई थप संक्रमणको जोखिम बढ्ने उनीहरु बताउँछन् । क्वारेन्टाइनमा बस्नेहरुले शौचालय पनि एउटै प्रयोग गर्दै आएको बताएका छन् ।

यसैबीच घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियारका स्थानीयवासीले क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै आन्दोलन गरेका थिए । घोराही–७ सौंडियारको मावि सौंडियारमा रहेको क्वारेन्टाइनलाई व्यवस्थित गर्न माग गर्दै भएको आन्दोलन स्थानीयसँग छलफलका क्रममा घोराही ७ का वडाध्यक्ष खोपीराम चौधरीले क्वारेन्टाइन व्यवस्थित गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि विवाद समाधान भएको बताइएको छ । क्वारेन्टाइन भद्रगोल हुनुका साथै क्वारेन्टाइनमा बस्नेहरुको उचित सुविधा सहितको व्यवस्थापन गर्न स्थानीय आइतवार विहानैदेखि जम्मा भएर घोराही ७ को वडा कार्यालयमा धर्ना बसेका थिए ।