दाङका संक्रमित युवा : ६ दिन बित्दा पनि हुन सकेन कन्ट्याक्ट ट्रेसिङ

नारायण खड्का
दाङ, ११ जेठ । गत जेठ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ भगवारका एक ४४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि ग¥यो । संक्रमित ती युवा काठमाडौंको एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्थे ।
उनकी हजुरआमाको निधन चैत १ गते भयो । हजुरआमा बितेको १०औँ दिनमा चैत १० गते उनी दाङ आए । उनी सोझै घोराही—१५ भरतपुरस्थित आफ्ना साहिँला अंकलका घरमा पुगे । त्यही उनका बुबा र अंकल हजुरआमाको किरिया बसेका थिए ।
१३औँ दिनको शुद्ध शान्तिपछि मात्रै ती युवा घोराही–९ भगुवारस्थित घर आए । संक्रमितका बुबाका अनुसार १३औँ दिनका दिन दाजुभाइ एकै घरमा बस्नुपर्ने तथा घरघरमा जान नपाइने भन्ने प्रचलनका अनुसार उनीहरू भने घोराही भरतपुरस्थित किरिया बसेको घर साहिँलो भाइकै घरमा उक्त दिन पनि बास बसे । ती संक्रमित भने शुद्ध शान्ति कार्यक्रमपछि घर आए ।
संक्रमित व्यक्तिका दुई छोरा, पत्नी पनि छन् । बुबाआमा साथमै बस्छन् । ‘छोरा मकै छरेर सकेपछि काठमाडौं काममा जान्छु भनेर बैशाख ३१ गते घरबाट गएको हो’–उनका बुबाले भने–‘अफिसले चेक गराएर मात्रै अफिस आउनु भनेछ अनि छोराले चेक गराउँदा रिपोर्ट पोजेटिभ देखिएछ ।’ ती युवा बैशाख ३१ गते तुलसी बाल हस्पिटलको एम्बुलेन्समा काठमाडौं हिँडेका थिए, जेठ १ गते पुगे ।
छोरासँग आफ्नो कुरा भइरहेको र हाल टेकु अस्पतलाको आइसोलेशनमा रहेको उनले जानकारी दिए । हामीलाई अहिलेसम्म कसैले केही भनेको थिएन’–उनले भने– ‘हिजोमात्रै प्रहरी घरमा आएर अब धेरै गाउँघर नडुल्नु होला भनेर सम्झाउन आएका थिए ।’ आफ्नो हस्पिटलको एम्बुलेन्स चालकसँगै काठमाडौँ गएका व्यक्तिमा कोरोना पुष्टि भएपछि तुलसी बाल हस्पिटलले ती चालकको कोरोना जाँच गरायो । चालकको रिपोर्ट नेगेटिभ आएको हस्पिटलले बताएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले संक्रमित व्यक्तिका आफन्त र परिवारका सदस्यलाई हालसम्म स्वास्थ्य चेक नगरिनु तथा सबैको कन्ट्याक्ट ट्रेसिङ नगर्नु गम्भीर लापरवाही भएको बताइन् ।
भारतबाट आएर सोझै क्वारेन्टाइनमा बसेकाभन्दा यसरी समुदायमा घुलमिल भएका व्यक्तिबाट कोरोना संक्रमणको उच्च जोखिम रहने भण्डारीको तर्क छ । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ तत्काल गरेर सम्पर्कमा आएका सबै व्यक्तिको स्वास्थ्य जाँच हुनुपर्नेमा त्यो हुन नसकेको भन्दै दुःख व्यक्त गरिन् । दाङका जिल्ला फोकल पर्सन कमल चन्दले कन्ट्याक्ट ट्रेसिङको काम स्थानीय जनप्रतिनिधिको भएको प्रतिक्रिया दिए ।
घोराही वडा नं. ९ का अध्यक्ष मानबहादुर बस्नेतले आफूले संक्रमितका बुबासँग फोनमा कुरा गरेको भए पनि अन्य कन्ट्याक्ट ट्रेसिङको काम केही नभएको जानकारी दिए । संक्रमित युवा यो बीचमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुरमा मानो मिसाउन गएको भन्ने कुरा बुबाले गरेको वडाध्यक्ष बस्नेतले जानकारी दिए । ‘संक्रमित युवा अर्को एक ठाउँमा १३औँ दिनको शुद्ध शान्ति कार्यक्रममा सहभागी भएको भन्ने पनि सुन्नमा आएको छ’–अध्यक्ष बस्नेतले भने–‘तर संक्रमितका बुबाले मसँग हिजो साँझ फोनमा ती कुरा गर्नुभएन ।’
भगुवार गाउँका एक युवाले भने संक्रमित युवाका परिवार आजसम्म पनि गाउँघरमा निस्फिक्री हिडडुल गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘संक्रमित व्यक्तिको घर सिल गर्नुपर्छ र उनीहरूका घरपरिवारका सदस्यको पनि कोरोना जाँच गर्नुपर्छ’– ती युवाले भने ।