डायरी : साबुनको फिजले मर्ने भाइरसको यत्रो वितण्डा !

खेमराज रिजाल

तुलसीपुर, ११ जेठ । ऊ पसलमा बोलिरहेको थियो, कोरोना रोग होइन रहेछ, यो त एउटा युद्ध रहेछ । जावो दश रुप्पेको सावुनले मार्न सक्ने र रक्सीबाट बनेको सेनिटाइजरले मर्ने कोरोना भाइरसले विश्वमा यतिबिघ्न तहल्का किन मच्चाइरहेको छ ?
नविन हो उसको नाम । पेशाले प्यारामेडिक्स । निजी क्लिनिकमा बिरामी हेर्दै औषधि पनि दिन्छ । लकडाउनको सुरुआती दिनमा उसको मुखमा मास्क अनिवार्य हुन्थ्यो । हातमा ग्लोव्स र आँखामा चश्मा पनि अनिवार्य हुन्थ्यो । ज्वरो नाप्ने गन थर्मामिटर नपाएर ऊ चर्को ज्वरो आएका बिरामीलाई डिजिटल थर्मामिटर प्रयोग गर्न हिच्किच्याउँथ्यो । टेवलमा सेनिटाइजर पनि हुन्थ्यो ।
तर लकडाउनको महिना दिन नाघेपछि उसका आनी–बानी सहज भए । मास्क नलगाएरै पनि उपचार गर्न थाल्यो । निर्धक्क भएर देउखुरीबाट ल्याइएका तरकारी किन्न थाल्यो । चीनजानका साथीभाइसँग छोइन पनि थाल्यो । कोरोना भनेको यस्तै रहेछ भन्ने उसको अनुभूति हुन्थ्यो । लकडाउनको दुई महिनामा ऊ पुरै परिवर्तित भएको छ । पञ्जा त अझै पनि सकेसम्म प्रयोग गर्दैन । तर सचेत छ । अरुलाई पनि सचेत बनाउन थालेको छ । तर उसलाई विश्व स्वास्थ्य संगठनको अभिव्यक्तिप्रति आपत्ति छ । लकडाउन बढाऊ ? तर लकडाउनको विकल्प के ? उसले विश्व स्वास्थ्य संगठनलाई सोधिरहेको छ । सरकारलाई सोधिरहेको छ । सावुनको फिजले मर्ने कोरोना भाइरसको औषधि बनाउन किन सक्दैनन् बैज्ञानिकहरु ?
मानौं त्यो चोकको ऊ कोरोनाको प्रवक्ताजस्तै थियो । कहाँ कति संक्रमित भए, कहाँ कतिको कोरोनाका कारण ज्यान गुमाए भन्ने समाचार बुझ्न नजिकका व्यक्तिहरु उसकै आसपासमा पुग्थे । ऊ अपडेट भइरहन्थ्यो, कोरोना गुगल्स र विश्व स्वास्थ्य संगठनको वेवसाइटमा । तर जब भारतले लकडाउन खोलेपछि त्यहाँ बस्ने आप्रवासी नेपालीहरु धमाधम नेपाल आउन थालेर संक्रमितहरुको संख्या अस्वाभाविकरुपमा बढ्न थाल्यो, उसले पनि अपडेट हुने बानी फेरेको छ । भन्छ, थाहा छैन, सरकारलाई सोध्नुस् । उसको अचेलको हाउभाउमा उदेकपना देखिन्छ । किनकि लकडाउन बढिरहेको छ, कोरोनाको ओखती पत्ता लागेको छैन ।
उसको फरक विचार छ, सरकारले जुनबेला लकडाउन शुरु गर्नुपथ्र्यो, त्यहीबेला लकडाउन खुकुलो बनायो, बजारमा चहलपहल बढ्यो । भारतबाट समेत आवत–जावत बढ्यो । सँगै संक्रमितहरुको संख्या पनि ह्वात्तै बढ्यो । ऊ त्यतिबेला स्थानीय सरकारसँग रिसाएको थियो, जतिबेला वडा सरकारहरु असंगठित श्रमिकहरुलाई भन्दै आफ्ना आसेपासेलाई विपन्न परिवारका सदस्यहरुलाई नून, चामल बाँडिरहेका थिए । जुनवेला उनीहरुलाई राहतको आवश्यकतै थिएन । राहत त अब दिनुपर्छ, उसले शनिवार यो संवाददातालाई सुनाइरहेको थियो ।
हो, लकडाउनको दुई महिनासम्म यहाँका कुनै पनि श्रमिकहरुको घरमा चुलो बल्न छाड्ने अवस्था थिएन, तर अब हुने अवस्था शुरु भएको छ । हाम्रा अन्य जिल्लाबासीहरु अझै पनि लकडाउनले तड्पिएका छैनन् । सातामा एकछाक मासु खानेहरु अचेल एकदिन बिराएर मासु खान सक्ने भएका छन् । बस्ती–बस्तीमा हरेक दिन खसी काटिइरहेका छन् । कम पैसा हुनेले ब्रोइलरको मासु पनि दैनिकजसो खाइरहेका छन् । ऊ बकबकाइरहेको थियो, मीठो–मसिनो भनेको पनि यही लकडाउनले खान सिकाएको छ । खाद्यान्नमा करिब करिब कालोबजारी भएको छैन । गाउँका तरकारी अन्य जिल्लासम्म जान नसकेका कारण तरकारीको भाउ पनि लकडाउनको समयमा सस्तिएको छ । पोहरसाल सय रुपैयाँ पर्ने बोडी अहिले २०÷२५ रुप्पेमा पाइन्छ । टमाटर पनि २० रुप्पे किलो । दाल–चामलको भाउ पनि आकाशिएको छैन । लकडाउनको समय भनेर कराएपछि हुनेखाने साथीभाइले सरसापटी पनि दिइरहेका छन् । लकडाउनमा कसैले पनि अझैसम्म खाना नपाएर मर्नुपर्ने अवस्था दाङमा देखिएको छैन ।
खेमराज दाइ, तपाईले कोरोना संक्रमणको चरम प्रभाव त्यतिबेला देख्नुहुनेछ….। एकछिन रोकिएर भन्यो, लकडाउन हटेपछि घर–घरमा विकराल समस्या देखिने छ । बैंकहरुले हरेक व्यापारीलाई किस्ताका लागि अत्याउने छन् । सापटी दिएका साथीभाइहरु पनि लकडाउन खुलेको भोलिपल्ट पैसा फिर्ता माग्न आउने छन्, उधारो कसैले दिने छैनन् । निजी स्कुलका शिक्षकहरुले तलव लकडाउन अवधिभरको तलव पाउने छैनन् । अझै समस्यामा पर्नेछन्, अस्ती भर्खर करोड पर्ने गाडी बैंकको लोनमा किनिएका थिए नी, उनीहरुलाई झनै समस्या पर्नेछ । बैंकबाट ऋण लिएर घर बनाउन पहिलो किस्ता लिएकाहरुले पुरै घर निर्माणका लागि थप ऋण पाउने छैनन् । किनकि लकडाउन खुल्नासाथ खातावालहरु बैंकबाट पैसा झिक्न हतारिने छन् । बैंकमा पूरै तरलता हुँदा ऋण लगानी गर्ने अवस्था नै रहने छैन ।
उनी बहकिँंदै थिए, फेरि दोहो¥याए, कोरोना सकिने छैन, यो नजित्ने र नहार्ने युद्ध हो, तर लकडाउन त एकदिन अवश्य खुल्नैपर्ने छ । खुल्दाकै दिनेदेखि श्रमिकहरुलाई काम दिनुपर्ने छ । काम दिने आधार सरकारले बनाएको त म देख्दिनँ ? प्रतिपक्षी नेताकोजस्तै अभिव्यक्ति थियो उनको । खासमा उनी सत्तापक्षकै मतदाता थिए । उनी फर्फती बोल्दै गर्दा घोराही जाने गाडी आएर टक्क रोकियो, म फेरि भेटौंला भन्दै नविनसँग छुट्टिएँ ।