कोरोना भाइरस, लाञ्छना र विभेद

केशव धिताल

डिसेम्बर २०१९ मा चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई चुनौती दिइरहेको छ । कसैले सोचेका थिएनन् सन् २०२० मा यस्तो महामारी हुनसक्छ भनेर । कोरोनाले विश्व मानव जातिलाई जोखिम बनाएको छ । बालकदेखि बृद्धासम्म सबै यसको मारमा छन् । लाखौ मानिसहरुको निधन भइसकेको छ । कयौ व्यक्तिहरु उपचार लिइरहेका छन् भने हजारौ उपचारपछि घर फर्केका छन् । यो रोगले मानव जातिलाई मानसिक र शारीरिक रुपमा गहिरो चोट पु¥याएको छ । जसले डर, चिन्ता, र निराशालाई हटाए उनीहरु कोरोनासँगको लडाइँमा सफल भएका छन् । कोरोनासँगको व्यवस्थापनमा नेपाललगायत विश्वका सबै राष्ट्रहरु लागिपरेको छन् । कोरोना भाइरससँगै सामाजिक लाञ्छना र विभेद बढिरहेको छ । विभेद र लाञ्छना लाग्ने डरका कारण परिक्षणमा आउन व्यक्तिहरु डराइरहेका छन् । के कोरोना भाइरस लाग्नु पूर्वजन्मको पाप हो ? किन मानिसलाई लाञ्छना र विभेद लगाइएको छ ?
केही बर्ष पहिले एचआईभीको बारेमा नकारात्मक दृष्टिकोण थियो । लाञ्छनाको परिणामस्वरुप एचआईभीमा बाँचिरहेका व्यक्तिहरु अपमानित महसुस गर्थें । समाजले अस्वीकार गर्दथ्योँ । सामाजिक गतिविधिबाट बञ्चित समेत हुने गरेका थिए । शारीरिक र मानसिक हिंसाको शिकार भएका थिए । तर पछि–पछि शिक्षाको विस्तारले एचआइभीप्रति सकारात्मक बनायो । फेरि अहिले आएर कोरोना भाइरसका कारण व्यक्तिहरुले त्यस्तै नकारात्मक अनुभूति महसुस गरिरहेका छन् । व्यक्तिहरुलाई लाजमर्दो पार्ने खतरा हुनसक्छ । दोष दिने खतरा उत्तिकै छ । भर्खरै विदेशबाट आएका व्यक्ति, क्वारेन्टाइनमा रहेका, क्वारेन्टाइनबाट बाहिरिएका व्यक्ति, संक्रमित देखिएका परिवार, उसका आफन्त र परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुलाई बढी लाञ्छना र विभेदको डर छ । त्यस्ता व्यक्तिले समुदायका व्यक्तिहरुले सहजैरुपमा स्वीकार गरेका छैनन् । अहिले संक्रमण नभए फेरि देखिन्छ कि भन्ने डर समुदायका व्यक्तिहरुलाई छ । कोरोना भाइरसकै कारण उनीहरुले पाउनुपर्ने अधिकार र सामाजिक अवसरहरुको पूर्ण अनुभूतिको अभावमा बहिष्कृत हुनुको नतिजा विभेद हो । जसले गर्दा व्यक्तिलाई एक्लोपनको महसुस गराउँछ ।
समुदायले स्वीकार गर्दैनन तब व्यक्तिलाई चिन्ता, उदासीनता, आक्रोश आदि लक्षणहरु व्यक्तिले देखाउन सक्छन् । विगतको महामारीमा गरिएको अनुसन्धानले लाञ्छना र विभेदले गर्दा रोगको परीक्षण र उपचार गर्न आउन रोकेको बताइएको छ । जो व्यक्तिहरु दुर्गममा छन् । अशिक्षा छ, सामाजिक डर र त्रास बढी छ । त्यस्ता समुदायमा मेडिकल हेरचाहको सम्भावना कम हुन्छ । जसले गर्दा उनीहरु र अरुका लागि संक्रमणको जोखिम बढाउँछ । लकडाउनको समयमा रेकर्ड गरिएका केही लाञ्छना र विभेदका उदाहरणहरु यस प्रकार छन् ।
भारतबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ । ती क्वारेन्टाइनमा राखिएका व्यक्तिका परिवारहरुले नै भेटघाटको लागि नआउने । आएपछि हामीलाई सर्छ यहाँ आएर के गर्ने भन्ने शव्दहरु बोल्ने गर्छन् । क्वारेन्टाइनपछि घर गएर कसरी बसाल्ने फेरि कोरोना देखियो भने सबैजना मर्ने हो । आफूलाई त सार्ने भए हामीलाई समेत सार्ने भए भन्दै कराइरहने गरेको पाइन्छ । दिउँसो ३÷४ बजेपछि आफ्नो टोलका युवाहरु जम्मा हुन्छन् । पालै–पालो फुटवल खेल्न थाल्छन् । त्यही खेल्ने क्रममा छिमेकीको घरमा परीक्षा सकिएर आएको आफन्त बाहिर निस्कन्छ तब फुटवल खेल्दै गरेका युवाहरु भन्न थाल्छन्, नयाँ केटा देखियो साथीहरु हो भागौ यसले कतै कोरोना त ल्याएको छैन भन्दै गललल हाँस्छन् । उक्त केटाले भन्छ– ‘म तपाईहरुको छिमेकीको आफन्त हो, मलाई कोरोना लागेको छैन ।’ म लकडाउन हुनुभन्दा पहिले नै आएको हो भनेर स्पष्टीकरण दिएपछि बल्ल ती युवाहरु खेल्न थाल्छन् ।
केही दिनअघि एक व्यक्ति ज्वरो आइरहेकाले उपचारका लागि प्राइभेट अस्पतालमा पुगेका थिए । अस्पतालका स्वास्थ्यकर्मीले ज्वरो जाँचे । रुघाखोकी, छ, छैन भनेर सोधेँ । विदेश जानु भएको थियो भनेर सोधेँ । आधा घण्टा कोरोनाको विषयमा लेखाजोखा गर्न समय खर्चे । डराई–डराई बल्ल परीक्षण गरेँ । स्वास्थ्यकर्मीले सोधखोज गर्नु र सुरक्षित रहने उपाय सही होला तर खास के कारणले गर्दा ज्वरो आएको भनेर सोध्नु कता एक्कासी कोरोनाको शंका गरिदिँदा खिन्न महसुस भयो भन्ने गुनासो थियो ।
बालबालिकाहरु खेल्दै थिए । एक बालकले केही समय हाछ्छिउ गरे । अर्को बालकले भने– ‘यसलाई कोरोनाले भेटे छ, भागौं भागौं ।’ सबै जना भागेँ । आरोप लगाइएका बालक रुन थाले । घरमा गए ममी मलाई कोरोना लाग्यो रेँ । मेरा साथीहरु मैले हाछ्छिउ गर्दा मलाई कोरोना लागेको केटा भनेर भागे अब म मर्छु र ममी कोरोनाले त मान्छे मर्छ भन्दै त्यो बालक रुन्छ । यस्तो लाञ्छना र विभेदले गर्दा व्यक्तिलाई मनोबैज्ञानिक समस्याहरु सिर्जना हुन सक्छन् । तर कोरोनाले कुनै धर्म, जात, रंग भन्दैन् । धनी वा गरिब जसलाई पनि यो रोग लाग्न सक्छ । विभेद र पूर्वाग्राही कोरोनासँग सम्बन्धित छैनन् । लाञ्छना र विभेद, कोरोनाभन्दा पनि अर्को डरलाग्दो भाइरस बढ्न थालेको छ । जसले हरेक समुदायको एकता, सम्बन्ध, विश्वास र आस्थामा चुनौती थपेको छ । जात, अनुहारको रंगको आधारमा बिभेद र कलंकहरु लगाउन थालिएको छ । दीर्घरोग वा अन्य कुनै रोग लागेमा पनि कोरोनाको संक्रमण भयो कि भनेर जोडेर हेर्ने थालिएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई पनि संक्रमण ल्याउन सक्ने भन्दै सहजै स्वीकार गरिँदैन् ।
लाञ्छना र विभेद कसरी कम गर्ने ?
कोरोना भाइरससँग सम्बन्धित लाञ्छना र विभेद कम गर्ने एक प्रभावकारी माध्यम मनोशिक्षा हो । जसले व्यक्तिलाई रोगको बारेमा बुझ्न सहयोग गर्छ । रोग सम्बन्धित विश्वास र हानिकारक धारणा हटाउन सहयोग गर्छ । जबसम्म व्यक्तिहरु कोरोना भाइरसको बारे सचेत हुँदैनन् तबसम्म सामाजिक लाञ्छना र विभेद रहिरहन्छ । त्यसैले तलका केही सूचना र व्यवहारहरुले यस्ता समस्या घट्न सहयोग गर्छ ।
१. स्थानीय जनप्रतिनिधिहरु र समुदायका व्यक्तिहरुले हरेक व्यक्तिलाई सम्मानित र प्रतिष्ठित व्यवहार गर्ने, सकारात्मक व्यवहार गर्ने ।
२. कोरोना सम्बन्धित संक्रमित व्यक्ति र क्वारेन्टाइनमा बसेका व्यक्तिहरु प्रति गरिने पूर्वधारणाहरु त्याग्ने । उदाहरणका लागि कोरोनाको संक्रमण भए पनि हरेक व्यक्तिमा क्षमता हुन्छ । रोग जो–कोहीलाई लाग्न सक्छ ।
३. समुदायका व्यक्ति र परिवारलाई सही जानकारी दिने । जानकारी दिँदा कोरोना भाइरस कस्तो रोग हो ? कसरी सर्छ ? रोगबाट बच्न के गर्ने ? रोगको लक्षणहरु देखिएमा कसरी परीक्षण हुन्छ । कहाँ गएर परीक्षण गर्ने ? उपचारका लागि सम्भावित समय कति लाग्छ आदिबारे जानकारी दिने । व्यक्तिहरुलाई भेटेर वा स्थानीय पत्रपत्रिका, रेडियो प्रभावकारी माध्यमबाट सूचनाहरु दिन सकिन्छ । कोरोना भाइरसको बारेमा सूचनाहरु प्रशारण भए पनि व्यक्तिलाई लाग्न सक्ने लाञ्छनाका बिषयमा कम चासो दिइएको छ ।
४. कोरोना भाइरसको बारेमा समुदायमा गलत धारणा र बुझाई पाइएमा सत्य तथ्य कुराहरुकोे बारेमा खुलेर बोल्नुहोस् । सञ्चारमाध्यमहरुले पत्रकारिताको धर्म र मर्मको ख्याल गर्ने । सूचनाहरुको श्रोत खुलाउने ।
५ आफूलाई असुरक्षित गरेका व्यक्तिहरुका कुराहरु ध्यान दिएर सुन्ने । समस्याको पहिचान गर्ने । उहाँको समस्यालाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्ने ।
६. कोरोना भाइरसको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुलाई धन्यवाद र प्रेरणा दिने । उनीहरुको योगदानको कदर गर्ने । स्वास्थ्यकर्मीहरुले परीक्षण गर्नु पहिले र परीक्षणको नतिजा, हुन सक्ने मनोबैज्ञानिक प्रभावको बारेमा राम्रोसँग जानकारी दिनुपर्छ । व्यक्तिहरुको नतिजाको परिणाम पक्का भएपछि मात्र जानकारीहरु सार्वजनिक गर्ने ।
७. सम्वन्धित व्यक्ति र उनीहरुको परिवारलाई सही र सहयोगी जानकारीहरु दिने
८. व्यक्तिहरुको हक र अधिकारको संरक्षण गर्ने र जनचेतना फैलाउने ।
(धिताल स्वास्थ्यकर्मी हुन्)