गोरक्ष समाचारदाता
तुलसीपुर, १० जेठ । जिल्लामा केही दिनदेखि गर्मी बढेको छ । गर्मी बढेसँगै आकाशमा साँझ–विहान बादल देखिए पनि पानी पर्न सकेको छैन । जेठ महिना गर्मी हुने महिना भए पनि एक÷दुई दिनदेखि यस वर्षको सबैभन्दा बढी गर्मी महशुस गरिएको स्थानीय बताउँछन् ।
गर्मी बढेसँगै जनजीवन पनि प्रभावित भएको छ । आकाशमा बादल देखिए पनि पानी पर्न नसकेको र दिउँसो तथा रातिमा गर्मी बढेपछि शीतलका लागि छहारीमा बस्नुपर्ने तथा घरमा पङ्खा लगाउनुपर्ने स्थानीय बताउँछन् । ‘एक÷दुई दिनदेखि गर्मी एकाएक बढेको छ, साँझमा पङ्खा नचलाएर बस्न नससकिने अवस्था छ’– खिमबहादुर वलीले भने । उनले बैशाखका गर्मी कम भए पनि जेठदेखि भने गर्मी बढेको बताए । त्यस्तै विहानैदेखि गर्मी सुरु भएसँगै आफूहरुलाई दैनिक काम गर्न समस्या भएको – मजदुर कुमार गुप्ताले बताए । ‘एक÷दुई दिन भयो विहान ९ बजेनै गर्मी हुन थालेको छ, घाम त्यति तेजिलो नलागे पनि एकैछिनमा शरीरभरि पसिना खल्खली आउने गरेको छ’– उनले भने ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङले पनि दाङमा केही दिनदेखि गर्मी सुरु भएको जनाएको छ । फिल्ड कार्यालय घोराही दाङ अकलेस चौरसियाले शुक्रवार अधिक्तम ३४ दशमलव ४ डिग्री सेल्सिएस र शनिवार एक डिग्रीले न्यूनतम तापक्रम बढेको बताए । उनले हावा नचलेका कारण अत्यधिक गर्मी महशुस भएको बताए । ‘बैशाखदेखि तापक्रम बढ्दै जान्छ जेठमा अलि बढी नै हुन्छ पानी पर्नसकेको छैन त्यसमा पनि मन्द हावा चलेकाले गर्मी मशुस भएको छ’– चौरसियाले भने ।
उनले एक/दुई दिनदेखि पर्याप्त हावा नचलेकाले गर्मी भएको बताए । आकाशमा बादल देखिए पनि पानी पार्ने बादल नभएका कारण पानी भने पर्न नसकेको उनको भनाई छ । ‘आकाशमा बादल भने लाग्ने फाट्ने गरेको छ, यो पानी पार्ने बादल होइन पानी पर्ने सम्भावना देखिँदैन उनले भने ।’