घरमै बसेर इद मनाउन मुस्लिम अगुवाको आग्रह

गोरक्ष समाचारदाता
दाङ, १० जेठ । मुस्लिम समुदायले आफ्नो महान् पर्व इदुलफित्र अर्थात् इद पर्व घरमै बसेर मनाउने भएका छन् । नेपाल सहित विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै घरमै बसेर परिवारजनसँग नमाज पढेर खुशी साटासाट गर्ने र सबै समुदायलाई पर्वका अवसरमा शुभकामना दिने निर्णय गरेका छन् । यो पर्वका अवसरमा आइतबार दिइएको बिदा रद्द गरेर सरकारले सोमबारलाई बिदा दिएको छ ।

मुस्लिम संगठन नेपाल शाखा कार्यालय दाङका जिल्ला इञ्चार्ज अताउल गनीको अध्यक्षता तथा मुस्लिम संगठन नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इञ्चार्ज साजिदा सिद्दिकीको प्रमुख आतिथ्यता र मुस्लिम संगठनका केन्द्रीय सचिवालय सदस्य कुदबुद्धिन फारुकीको विशिष्ट आतिथ्यतामा शनिवार घोराहीमा सामाजिक दूरी कायम राख्दै बसेको विशेष बैठकले इद पर्वलाई कोरोनाको जोखिमरहित ढङ्गले मनाउन सम्पूर्ण मुस्लिम समुदायलाई अपील गर्ने निर्णय गरेको हो । बैठकले यस वर्ष कोरोना भाइरसको जोखिमका कारण लागू भएको लकडाउनले सबै क्षेत्र ठप्प भएकाले कुनै पनि वस्तु शृंगार खरिद गर्ने अवस्था नरहेको हुँदा ती वस्तु खरिद गर्दा लाग्ने खर्च कटौती गरी गरिब दिनदुःखीलाई दान अर्थात् जकात गर्ने निर्णय गरेको छ ।

जोखिमका बेला इद पर्व समुदायमा गएर मनाउने वातावरण नरहेकाले घरमै बसेर एक आपसमा खुशी साटासाट गर्दै मनाउन र कोरोना भाइरसको महामारीबाट जोगिन आ–आफ्नो भूमिका आफैले निभाउने निर्णय गरिएको संगठनकी केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इञ्चार्ज सिद्दिकीले बताइन् । उनले इद पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएर स्वागतयोग्य काम गरेको भन्दै धन्यवाद दिएकी छिन् । बैठकमा संगठनका सहसंयोजक गुलाम रसुल, जिल्ला उपसंयोजक अब्दुल सिद्दिकी, सदस्य खालिद सिद्दिकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।