पत्रकारलाई चिकित्सकको आग्रह : ‘मास्क नलगाएको देखिए लगाउन भन्नुस्’

लिलाधार वली
दाङ, १० जेठ । कोहलपुर मेडिकल कलेजका फिजिसियन डा शिशिर रेग्मीले कोरोना भाइरसबाट बच्नका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । पत्रकारले भनेको कुरा नागरिकले सहजै स्वीकार्ने भन्दै उनले भने– ‘कसैले मास्क लगाएको छैन भने तपाईंहरुले लगाउन भन्नुस् ।’

उनले मास्कको नियमित प्रयोगसँगै साबुनपानीले समय–समयमा हात धुन र सामाजिक दूरी बनाउनका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै त्यस्तो भूमिका निर्वाह गर्न आग्रह गरे । पत्रकारको यो प्रयत्नले कोरानाको संक्रमबाट बच्न र बचाउनमा ठूलो योगदान पुग्ने उनको भनाई थियो ।

कोरोना भाइरस छिट्टै सर्ने संक्रमण भएका कारण नागरिक आफै यो संक्रमणबाट बच्नका लागि सतर्क हुनुपर्नेमा उनको जोड थियो । संक्रमितको संख्या बढ्दै जाँदा मृत्युको अनुपात पनि त्यही अनुसार बढ्नेतर्फ सतर्क उन हुनले आग्रह गरे । ‘सक्दो प्रयास गरौँ र संक्रमणको सम्भावनालाई पर ढकेल्दै जाऔँ’–उनले भने– ‘अहिले थपिनसक्ने संख्यालाई एक महिना पर ढकेलौँ, यो हाम्रो जिम्मेवारीको कुरा हो ।’ उनले यसरी संक्रमणको संख्या बढ्न नदिने प्रयासले यस विरुद्धको लडाईका अरु उपाय अपनाउन समय मिल्ने समेत बताए ।

नेपाल प्रेस युनियन दाङलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा डा रेग्मीले भने–‘यसमा कसैले पनि हेलचेक्र्याई गर्न हुँदैन ।’ नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभापति खड्काले नेपालमा दिन प्रतिदिन कोरोनाको जोखिम बढिरहेको भन्दै क्वारेन्टाइन निर्माणसँगै क्वारेन्टाइनलाई व्यवस्थित र सुविधा बुढाउन आग्रह गरे । उनले नाम मात्रका क्वारेन्टाइन बनाएर संख्या बढाउनुभन्दा क्वारेन्टाइनको गुणस्तर बढाएर बाहिरबाट आएका मानिसहरुलाई ढुक्कसँग बस्नलायक बनाउनुपर्ने बताए । त्यस्तै उनले बाहिरबाट आउने मानिसलाई क्वारेन्टाइनमा बस्दा आफूसँगै घर र समाजलाई सुरक्षित राख्नका लागि हो भन्ने बुझाउन आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले कोरोनाको संकटको समयमा नेपाली पत्रकारितामाथि महत्वपूर्ण जिम्मेवारी रहेको बताए । उनले अहिलेको जोखिमको समयमा आफू बच्ने र अरुलाई सूचना दिने जिम्मेवारी पत्रकारिता क्षेत्रको रहेको भन्दै त्यसका लागि हरेक पत्रकारहरु सचेत रहनुपर्ने बताए । उनले अहिलेको समयमा सरकार राजनीतिक दलहरुका लागि आदर्श र लोकप्रिय हुने कुरा गर्ने भन्दा पनि नागरिकलाई कसरी सचेत बनाउन सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम राखेर काम गर्न र नियमित मास्कको प्रयोगसँगै साबुनपानीले हात धुने बानी बसाल्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य चिन्तामणि धिताल, प्रेस युनियनका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल सयोजक केपी घिमिरे, केन्द्रीय सदस्य जयसिंह केसीलगायतले धारणा राखेका थिए ।

कार्यक्रममा प्रेस युनियनलाई युनियनका केन्द्रीय सदस्य जयसिंह केसीको संयोजनमा एक हजार पिस ग्लोब्स्, ५० पिस मास्क र ५० पिस सेनेटाइजर हस्तान्तरण गरिएको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको समयमा अग्रभागमा रहेर रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरुलाई स्वस्थ रहन सहयोग पु¥याउने उद्देश्यले मास्क, सेनेटाइजर र ग्लोब्स सहयोग गरेको प्रेस युनियनका केन्द्रीय सदस्य केसीले जानकारी दिएका हुन् ।