बीउ, औषधि ल्याउनै समस्या

अमरराज आचार्य
दाङ, ९ जेठ । खेती गर्ने सिजन शुरु भएसँगै कृषकहरु बीउ, औषधिको जोह गर्न थालेका छन् । अहिले कृषकहरु धान खेती गर्नका लागि धानको बीउको जोहो गर्न एग्रोभेटसम्म आउने गरेका छन् । त्यसैगरेर भर्खरै लगाएको मकै बालीमा अमेरिकन फौजी किराले नष्ट गर्न थालेपछि औषधिको खोजी गरिरहेका छन् । तर व्यवसायीहरुले मगाएका बीउ तथा औषधिहरु समयमा नआउने समस्या रहेको सिद्धार्थ एग्री सेन्टरका सञ्चालन एकनारायण पौडेलले बताए । अहिले फौजी किरा नियन्त्रण गर्नका लागि औषधिको माग बढी रहेको उनको भनाइ छ । ‘कृषकहरुलार्ई रित्तो हात फर्काउने अवस्था भने आइसकेको छैन’, पौडेलले भने– ‘अब बाहिरबाट मगाएको माल आएन भने फर्काउनपर्ने हुनसक्छ ।’

कतिपय बीउ तथा औषधि देश बाहिरबाट ल्याउन पर्दा समस्या भएको छ । अहिले कोरोनाको संक्रमणका कारण देश बाहिरबाट ल्याउनु पर्दा धेरै समय लाग्ने गरेको उनको भनाइ रहेको छ । अर्का आरसी एग्रोभेटका सञ्चालक रविन्द्र चौधरी पनि लकडाउनले गर्दा समस्या परेको बताउँछन् । ‘लकडाउनले गर्दा आवश्यक मात्रामा बीउ तथा औषधि ल्याउन पाइएको छैन’, चौधरीले भने । कृषकहरुले खोजेअनुसारको बीउ उपलव्ध हुन नसक्दा फर्केर समेत जाने गरेको उनले बताए । सामान ल्याउन नसक्दा फर्काउनुपर्ने अवस्था आएको चौधरीको भनाइ रहेको छ ।
लकडाउनको कारण ढुवानीका लागि गाडी नपाउँदा समस्या भएको उनको भनाइ रहेको छ । सवारी साधनबाट जोखिम मोलेर ल्याउनुपर्दा ढुवानी पनि महंगो पर्ने गरेको पौडेल बताउँछन् । पहिले २२÷२३ हजारमा ढुवानी खर्च तिर्ने गरेकोमा अहिले ७०÷७५ हजार तिर्नुपरेको उनले बताए । पहिले एक कार्टुन ढुवानी गर्दा ७० देखि ८० रुपैयाँमा आउने गरेकोमा अहिले १ सय ५० भन्दा बढी तिर्नुपरेको पनि उनले बताए । ‘कोरोनाको जोखिमका कारण धेरै गाडीधनीले गाडी सञ्चालन नगर्दा बाध्य भएर बढी रकम तिरेर भए पनि ल्याउनुपरेको छ’, पौडेलले भने ।

‘लकडाउनका कारण करेसा तथा कौसी खेती गर्ने गर्नेहरुको संख्या भने बढेको उनले बताए । ‘अहिले थोरै खेती गर्नेहरुको संख्या वृद्धि भएको छ’, पौडेलले भने । करेसाबारीमा खेती गर्ने गरी बीउ किन्न आउनेहरुको संख्या वढेको उनको भनाइ छ । ‘बोडी, भिन्डी, सिमी, करेलाका बीउ बढी लग्ने गरेका छन् । त्यो पनि करेसाबारीमा लगाउने भनेर थोरै परिमाणमा किन्ने गरेका छन्’, उनले भने– ‘तर व्यावसायिकरुपमा खेती गर्ने कृषकहरु यो पटक थोरै देखिएका छन् ।’

उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा व्यावसायिक कृषकहरु हतोत्साहित हुनुपरेको महसुस आफूले गरेको पौडेलको भनाइ छ । ‘यसतर्फ राज्यले ध्यान दिनुपर्दछ’, उनले सुझाए । लकडाउनको कारण बीउ किन्न आउने कृषकहरु पनि समस्यामा परेका छन् । एग्रोभेट खुले पनि बजारसम्म आउन समस्या हुने गरेको कृषकहरु बताउँछन् ।