दृष्टिवाणी धिताल
प्रश्नै प्रश्नले जकडिएको छुँ, मानौँ यसरी पिल्सिएकी छँु कि, जसरी मेरो देश बर्षौदेखि पिल्सिएको छ । निश्पाप निस्कलंक अनुत्तरित ! लाग्छ, यो धैर्यताको बाँध टुट्दै गयो भने कसरी सामान्य बन्ला र दिनचर्या ? कसरी गर्न सकिएला काम ? विश्वको अवस्था दिनप्रतिदिन कहालीलाग्दो हुँदै गैरहेको छ । आफ्नै घरमा आगो सल्किसकेको छ । देशमा पर्याप्त सावधानी अपनाइएको छैन । कयाँै दिनदेखि क्वारेन्टाइनमा बसेकाहरुलेसमेत स्वास्थ्य उपचार त परको कुरा, कोरोनाको परीक्षणसमेत गराउन पाएका छैनन् । क्वारेन्टाइनमै मृत्युवरण भैसकेपछि परिक्षण हुन्छ अनि नतिजा आउँछ पोजेपिटभ । सरकारको बेवास्ताका कारण कोरोना संक्रमितले उपचार नै नभै, अझ भनौँ रोगको पहिचान नै नभै नागरिकले ज्यान गुमाउनु परेको छ । कस्तो विडम्वना ! यो अवस्थाले नागरिकले सरकारप्रति कस्तो अपेक्षा गर्ने ? अनि क्वारेन्टाइनमै बसेका हजारौँको मनस्थिति कस्तो होला ?
यहीँ छिमेकी तर मित्रराष्ट्र बन्न नसकेको भारतले नेपाली भूमि हडप्न कुनै कसर बाँकी राखेको छैन । एकातिर कोरोनासँग लड्नु परेको छ भने अर्कोतिर छिमेकीसँग । त्यो पनि आफ्नै भूमिका लागि । आफ्नै भूमिको पहरेदार अरुलाई तोक्नुको चरम पीडा भोग्दै त्यही छिमेकी देशबाट स्वदेश फिर्न कयाँै दिन सीमामा छट्पटाउनेको मनको कुण्ठाको त यहाँ हिसाब किताब नै छैन । उनीहरुको पीडा अनुभूति गर्न नसक्ने सरकारलाई के भन्ने ?
एक पटक सोच्ने कि सरकार ? हैन भने आफ्नै देशको विद्रोहको विगुल फुक्दै उसैले दिएको गाँस निल्न कति कठिन होला स्वाभिमानी नेपालीलाई भारतीय क्वारेनटाइनमा ? नत्र रेलका डिब्बामा यसरी किन कोचिदै छन् ?
सीमा विवाद बल्झिएको अघिल्लो वर्षको कात्तिक महिनादेखि हो । जब भारतले नयाँ राजनीतिक नक्सा बनायो, त्यसमा नेपालको भूमि नै समेटिदियो । यस्तो अन्याय कसले सहन सक्छ र ? नेपालले पटकपटक सीमा विवाद सुल्झाउनका लागि कुटनीतिक वार्ताका लागि आग्रह गर्यो, तर आफूलाई ठूलो ठान्ने भारतले आग्रह लत्यायो । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो भन्ने प्रशस्तै ऐतिहासिक दस्ताबेज छ भन्ने जानेर नै हो, भारतले वार्ता गर्न नचाहेको । भारतले अलमल र आलटाल गरेरै नेपाली पक्षलाई निरन्तर झुक्याउने र आफ्नो रणनीति कार्यान्वयन गर्ने कहिलेसम्म ?
यस्तो कुरा त्यही देशमा मजदुरी गर्दै गर्दा कहाँ बुझ्न सक्छाँै र हामी ? बुझे पनि अवलम्बन गर्न सकिएला र ? झन्डै ६६ वर्षे कालखण्डमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको दाबीसहित घनिभूत संवाद गरेको छैन । दुई देशको संयुक्त प्राविधिक समितिले सीमा विवाद टुंगो लगाउन झन्डै १७ वर्ष काम ग¥यो रे । तर उक्त क्षेत्रलाई विवादित भन्नेबाहेक थप कुराकानी नै भएनछ । धन्य हो संयुक्त प्राविधिक समिति । सन् २००१ मा भारतमा नेपाली दूतावासकै पहलमा संवाद भएको थियो, कालापानीकै विषयमा । तर किन त्यो बहसले निरन्तरता पाएन ? नेपालसँग भएका प्रमाण, कालापानी क्षेत्रमा स्थानीयले तिरो तिरेका कागजातका विषयमा भारतीय पक्षसँग छलफल भएको थियो भन्ने इतिहास रहेछ ।
कोरोनाको घनचक्कर
स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीईको व्यवस्था समेत छैन कसरी उपचार गर्ने ? आइसोलेसनको मापदण्ड र समस्याको जड के हो त ? सबै मानिसको प्रतिरक्षा क्षमता उस्तै हुँदैन अनि संक्रमण भएपछि अस्पतालले सन्तुलित आहार प्रदान नगर्दा संक्रमित विरामीमा रुपान्तरण हुन बेर लाग्दैन । कोरोनाभाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ । हुन सक्छ संक्रमण भएर पनि लक्षण क्यै नदेखिनुको नतिजा नै त कतै मृत्यु हो कि सिन्धुपाल्चोककी सुत्केरीको ?
सिन्धुपाल्चोकको हृदयविदारक घटनाबाट हामी गुज्रिएका छाँै । विश्वभरी लाखौँ मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । कैयौँ आमाले सन्तान गुमाएका छन्, कयौँ सन्तानले आमा गुमाएका छन् । अकल्पनीय छ नवजात शिशु र आमाको कोरोनाले दिएको कथाको व्यथा । आमाको मृत्यु भएपछिको अवस्था अनि नवजात शिशु उफ ! शिशुलाई आमाकै काख र स्तनपान अति आवश्यक हुने नवजात शिशुको के हालत होला ? आमाले कोरोना संक्रमणका कारण मृत्युवरण गरेपछि बच्चामा त्यसको प्रभावको बारेमा यसो कल्पना गरौँ न, मन कुँडिन्छ आँखा रसाउँछ ! भोग्नेलाई कस्तो होला सन्तान आमा खोजेर रुदैछ, उसलाई फकाउन समाल्न नपाउने परिवारजनको स्थिति उस्तै कारुणिक । धन्न यी बालक र परिवारजनमा संक्रमण रहेनछ । अहिले शिशु र परिवारका सदस्य कसैलाई पनि कोरोना पोजेटिभ नदेखिदा मन बुझाउने बाटो त पाएका छौँ, तर संक्रमित आमाको काखमा बसिसकेका शिशुको स्वास्थ्य आगामी दिनमा सधैँ ठीक रहला या नरहला ? यो आशंकाले पक्कै पनि शिशुको अभिभावकत्व ग्रहण गर्नेलाई सधै सताइरहन सक्छ ।
यदि कुनै बिरामीको शरीरले कोरोनाभाइरसँग राम्ररी संघर्ष गरेको छ भने उसको प्रतिरक्षा क्षमता राम्रो हुन सक्छ । कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय संक्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग पनि गाँसिएको हुन्छ ।
त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ । कोरोना भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ने कुरा पनि निकै खतरनाक हुनसक्ने विज्ञहरुले दाबी गरेका छन् भने यो पाटोलाई कतै हामी नजरअन्दाज त गर्दै छैनौँ ? यो के कति खतरनाक हुन सक्ने भन्ने चुनौती सामना गर्न त सक्दैनौँ भने यो हेलचक्रयाई के का लागि ? चिन्ताको विषय कोरोना मात्र हैन, अब त भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्ने पनि हुन सक्ने रहेछ । कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्ने रहेछ, भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण । फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन् । अबको अवस्थामा हामीले के के कुरामा सावधानी अपनाउने भन्ने कुराको चिन्तन गरौँ ।
कोरोनाको संक्रमण बढ्दो छ तर मास्क, पन्जा अनी स्यानीटाइजरको माग त थेग्न नसकेको सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने, क्वारेनटाइनमा राख्ने, संक्रमणको परीक्षण गराउने भन्ने कुरा पनि व्यवस्था गर्ला र ? यदि सरकारले यसमा तत्परता देखाएको हो भने सघाऔँ ।
संक्रमितका परिवार र आसपासमा भएकाहरुको मनोभावको अवस्थाप्रति कसरी मूल्याङ्कन गर्दैछौँ हामी ? निकै गम्भिर छ अवस्था । संकटको यो घडिमा मानसिक अवस्थाको अध्ययन कहिले कसरी गर्ने त हामीले ? कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण त्रसित भएको हाम्रो स्वस्थ मन र मष्तिष्कको आधार के त ? विश्व स्वास्थ्य संगठन डब्लूएचओले मृतक, उनीहरूको संस्कृति र धार्मिक परम्पराका साथै परिवारको पनि प्रतिष्ठा कायम राख्नु पर्ने बताएको भए पनि यी कुराहरुप्रति समभाब राख्न सक्ने व्यवस्था गर्न सकिएला त ? र यो सबै गर्न नपाउँदाको विचलनप्रति जिम्मेवार को ?
५९ जना संक्रमित र एकजना सात महिने शिशुसहित ६० जनालाई २५ वटा बेडमा राखिँदा संक्रमितको मनोदसा कस्तो हुन्छ होला ? सुन्नु र बुझ्नुमा फरक पर्ने यही हो, जहाँ हामी हरेक चोटी चुक्दैछाँै । क्वारेन्टाइनमा कतिका त साना साना बच्चा सँगै छन् । उनीहरु स्वभावैले चन्चल र मृदुभाषी हुन्छन् । ति नानी बाबु निकै जोखिममा त्यहाँ रहन्छन् भने अरुमा पनि संक्रमण हस्तान्तरण गराउने सम्भावना सृजना हुन सक्छ । हाम्रा बाबु नानीलाई सरसफाइमा ध्यान दिन प्रेरित गरौ । खेलकुदमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल हुन्छन् । उनीहरुको चंन्चलताले जोखिमलाई हस्तान्तरण गरेको हुन सक्ने तर्फ विचार पु¥याउँ । घरमा हेरचाह गर्ने मानिस नभएको भन्दै संक्रमण नै नभएको शिशुलाई संक्रमित आमासँगै राख्नुको पीडा कस्तो हुन्छ ति आमालाई ? समाचारका अनुसार तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको संख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन रहेछ । त्यो संख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिसमा लक्षण नै देखिएको छैन । यसले गर्दा संक्रमणको संख्या धेरै नै हुन सक्ने सम्भावना रहने नै भयो । यसर्थ संक्रमण बढ्दैछ चिकित्सक, पत्रकार, प्रहरी पनि कोरोना संक्रमीत भएका छन । हामी त झन बढि जोखिममा पुग्दैछौँ । सावधानी अपनाऔँ, कोरोना भाइरसबाट बचौँ र बचाऔँ ।
पत्रकार धिताल प्राइम टाइम्स टेलिभिजनमा कार्यरत छिन् ।