गोरक्ष समाचारदाता
काठमाडौँ, ९ जेठ । नेपालको नयाँ नक्सा भर्खरै सार्वजनिक गरेको सरकारले संविधानमा रहेको निशान छापमा पनि सोही नक्सा राख्नका लागि संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको छ । नयाँ नक्सा सार्वजनिक गर्दै सरकारले अब सबै ठाउँमा नयाँ नक्सा नै प्रयोग गर्ने जनाएको थियो । नयाँ नक्साअनुसारको निशान छाप परिवर्तन गर्नका लागि कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालका अनुसार संविधानको अनुसूची ३ को निशान छाप संशोधन गर्न प्रस्ताव दर्ता भएको बताए ।
नयाँ नक्सामा लिपुलेक लिम्पियाधुरासहितको क्षेत्र समेटिएको छ । काली नदीको मुहानका आधारमा नेपाल भारत सीमा छुट्टिने सम्झौता सुगौली सन्धीका क्रममा भए तापनि नदीको मुहान कुन ठाउँलाई मान्ने भन्ने आधारमा सो क्षेत्र भारतले आफ्नो भन्दै दावी गर्दै आएको थियो । सो क्षेत्रमा नेपाललाई थाहा नै नदिएर भारतले एकतर्फीरुपमा सडक बनाई उद्घाटन गरेपछि नेपालमा त्यसको तीव्र बिरोध हुँदै आएको थियो । यद्यपि यसपूर्व पनि संसदीय समितिहरुले सो क्षेत्रलाई नेपालको नक्सामा समेट्न सरकारलाई निर्देशन दिँदै आएका थिए । सोहीअनुरुप सरकारले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि नेपालको निशान छाप परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागिएको हो । संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।