९ दिनमा भित्रिए १३ सय बढी नागरिक

आउने संख्या बढेसँगै क्वारेन्टाइनको क्षमता बढाइँदै

लिलाधर वली
दाङ, ९ जेठ । लकडाउनका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुलाई घर ल्याउन शुरु गरिएपछि दाङमा करिब ९ दिनको अवधिमा १३ सय बढी नागरिकहरु भित्रिएका छन्् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा काम बन्द भएपछि सयौको संख्यामा मानिसहरु घर फर्कन थालेका हुन् । रोजगारीका लागि भारत गएका ठूलो संख्यामा मानिसहरु फर्कन थालेपछि स्थानीय तहहरुले क्वारेन्टाइनको क्षमतासमेत धमाधम बढाउन थालेका छन् ।

कोरोनाका कारण काम नचलेर बसेर घर फर्कन इच्छुकलाई गाउँपालिकाले आग्रह गरेपछि जेठको ९ गतेसम्म गाउँपालिकामा ४ सय मानिसहरु भित्रिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन् । घर फर्कनका लागि गाउँपालिकाले गाडीको व्यवस्था गरेपछि ठूलो संख्यामा मानिसहरु फर्कन थालेको उनले बताए । ‘घर फर्कनलाई गाउँपालिकाले गाडीको व्यवस्था गरेपछि धेरै मानिसहरु आइरहनुभएको छ’, गाउँपालिका अध्यक्ष वलीले भने– ‘अहिले ठ्याक्कै तथ्याङ्क भन्न सक्ने अवस्था छैन, करिब ४ सय मानिसहरु आइपुग्नुभएको छ ।’ उनका अनुसार शुक्रवार पनि कृष्णनगर नाकासम्म आइपुगेका नेपाली ल्याउनका लागि गाउँपालिकाको गाडी जान थालेको बताए । ‘अहिले पनि कृष्णनगरसम्म आइपुगेकाहरुले फोन गरिरहनुभएको छ, हामीले त्यहाँ सुरक्षित तरिकाले बस्न आग्रह गरेका छौं’, अध्यक्ष वलीले भने– ‘त्यहाँ आइपुगेकालाई लिन गाडी जाँदैछ ।’ बंगलाचुलीमा लकडाउनका कारण भारतमा रोकिएका करिब दुई हजार मानिसहरु आउने अनुमान गरिएको छ ।

रोजगारीका लागि भारत गएका मानिसहरु फर्किन थालेपछि गाउँपालिका क्वारेन्टाइन भरिएर राख्नलाई समेत समस्या हुने अवस्था देखिएको उनले बताए । ‘ठूलो संख्यामा भारतबाट मानिसहरु फर्किन थालेपछि हामीलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या भएको छ’, उनले भने– ‘फर्किकाहरुको जतिसक्यो चाँडो पिसिआर परीक्षण गरे व्यवस्थापनमा सहज हुने थियो ।’ त्यसै तुलसीपुर उपमहानगरपालिकामा जेठ १ गतेदेखि यता १ सय १० जना मानिसहरु आएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनीहरुमध्ये ८४ जना भारतबाट र बाँकी नेपालमा अन्य जिल्लाहरुबाट आएका छन् । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको तुलसीपर उपमहानगरपालिकाले जनाएको छ । ‘अहिले तुलसीपुर उपमहानगरपालिकामा पनि भारतबाट आउने नेपालीहरुको संख्या बढेको छ’, सूचना अधिकारी बाबुराम अधिकारीले भने– ‘उहाँहरु सबैलाई क्वारेन्टाइनमा राखेका छांै, घर–परिवारसँग भेटघाट गर्न दिएका छैनौं ।’ रोजगारीका लागि भारत गएका मानिसहरु धमाधम फर्कन थालेपछि अहिले उपमहानगरपालिकाले क्वारेन्टाइनको संख्या समेत बढाउन थालेको उनले बताए । उनका अनुसार उपमहानगरपालिकामा क्वारेन्टाइनका लागि अहिले ३ सय ५० बेड तयारी अवस्थामा छ ।

त्यस्तै पश्चिम दाङको बबई गाउँपालिकामा पनि रोजगारीका लागि भारत गएका नेपालीहरु आउने क्रम शुरु भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अहिले बबई गाउँपालिकामा ११ जना आएका छन् । उनले अहिले यो संख्या थोरै भए पनि केही दिनमा संख्या बढ्ने बताए । ‘भारतका विभिन्न ठाउँबाट हामीहरुलाई सम्पर्क गरिरहनुभएको छ, उहाँहरुलाई कृष्णनगर वा कोइलावास नाकासम्म आउन आग्रह गरेका छौं’, गाउँपालिका अध्यक्ष पौडेलले भने– ‘त्यहाँसम्म आइपुगे गाउँपालिकाले गाडीको व्यवस्था गरेर ल्याउनेछ ।’ भारतबाट फर्किनेहरुको संख्या बढ्ने भएपछि गाउँपालिकाले क्वारेन्टाइन बेडसमेत बढाउन थालेको अध्यक्ष पौडेलले बताएका छन् ।

लकडाउनका क्रममा जेठको अहिलेसम्म घोराही उपमहानगरपालिका ५ सय ८५ जना आइपुगेका छन् । उनीहरुलाई घर पायक पर्ने गरी घोराही उपमहानगरपालिकाले विभिन्न वडाहरुमा राखेको छ । जिल्लाका दशवटै स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै मानिसहरु घोराही उपमहानगरपालिकामा भित्रिएका छन् । त्यसैगरेर देउखुरीको राप्ती गाउँपालिकामा १ सय ९ जना, गढवा गाउँपालिकामा २७ जना र देउखुरीकै राजपुर गाउँपालिकामा १६ जना यो महिना गाउँपालिकामा आएको स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले जानकारी दिएका छन् ।

उनीहरुलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी भइरहेको समेत रोकायाले जानकारी दिए । त्यस्तै दंगीशरणमा तीनजना र शान्तिनगरमा ७७ जना रोजगारीका क्रममा भारत गएका मानिसहरु भित्रिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिएका छन् । यो अवधिमा सबैभन्दा कम दंगीशरण गाउँपालिकामा तीन जनामात्र भित्रिएका छन् । त्यस्तै बुधवारसम्मको तथ्यांकअनुसार लमही नगरपालिकामा २९ जना मानिसहरु आएको जिल्ला आपतकानिी कार्य सञ्चालन केन्द्रले जनाएको छ ।