साँघुरिएको विश्व र कोरोना भाइरस

बविता रेग्मी

तुलसीको मठ नजिक फूलेका रंगिबिरंगी फूलहरु देखाउँदै मेरी आमा गर्वले सुनाउँछिन्, ‘समुद्र पारिबाट ल्याएका फूलहरु पनि कति राम्रा सप्रेका यहाँ, हावापानी पनि मिल्दो रैछ ।’ नजिकैकी छिमेकी ‘आन्टी’लाई आफ्नो फूलबारीका निर्धक्कका साथ गमलाहरु देखाउँदै थप्छिन्, ‘यी कलेजी, सेतो, गुलाबी, सेतो र गुलाबी मिसिएको सदासुन्दरी फूल पनि उतैबाट आइपुगे ।‘

अशोकको बोटमुनि फूलिरहेका विदेशी फूलहरु देखाउँदै मेरी आमाले सुनाइन् ‘कतिपय ती फूहरु र नेपाली फूलहरुको प्रकृति एउटै भए पनि हुर्कन भने हावापानी फरक चाहिँदो रै‘छ ।‘ विदेशी कैयौँ फूलहरु नेपालको हावापानीमा सजिलै हुर्कन नसकेर मरेछन् । उनले फूलका बोटहरु मरेको कुरा गरिरहँदा मलाई भने कोरोना भाइरसले मारेका विदेशी तथा नेपाली नागरिकका मनहरुको याद आइरहेको छ । यी मरेका विरुवा र भाइरसले मरेका मानिसका समाचारले यो लेख लेख्न वाध्य पारेको छ ।

सरसर्तीे हेर्ने हो भने प्रत्येक नेपालीका घर–घरबाट एकएकजना नेपाली बाहिर नगएको सायदै होला । उच्च शिक्षा हाशिल गर्नको लागि किन नहोस् या रोजगारीका सिलसिलामा किन नहोस् वा स्थायी बसोबास सुविधान पाएर किन नहोस् । प्रायःजसो प्रत्येक नेपालीका घरहरु रित्तिएका छन्, परिवारका सदस्यहरु सात समुद्र पारि पुगेका छन् । विदेशिन वाध्य मात्र होइन, देखासिकीको रहर पनि बनेको छ । सामान्य परिवारको सदस्य पनि लाखौँ ऋण लिएर विदेशिएका उदाहरणहरु हाम्रै छिमेकमा प्रशस्त पाइन्छन् । यस्तो लाग्छ कि विदेशिने एउटा प्रचलन भइसक्यो । अझ भन्ने हो भने यही प्रचलनलाई बढावा दिन ऋण लिएर अथवा आफूसँग भएका सम्पत्ति बेचेरै पनि छोराछोरीहरुलाई विद्यार्थी भिसामा बाहिराउँदा गर्व गर्ने अभिभावक हाम्रै समाजमा छन् ।

अर्काेतिर, यसरी पठाइएका वा विदेशिएकामध्ये धेरैले धेरैखाले समस्या भोग्दै आएका खबरहरु सुनिँदै आएका छन् । भलै, स्थायी बसोबासको अनुमति पाएर गएकाहरुलाई भने खासै ठूला समस्या नपर्ला । एकातिर, विदेश जान हिडेकाहरु बाटैबाट केही न केही नाता लाउँदै नेपालीकोमा पुग्छन् । अरुकोमा आश्रय लिएरै भए पनि ढाटिएर फोटो खिच्दै सामाजिक सञ्जालमा सावर्जनिक गर्न हतारिएको देख्दा त्यसको दीर्धकालीन असरबारे सोच्न वाध्य गरेको छ । अर्काेतिर, विदेशमा सन्तान रहेकैले नै धेरैजसो आमाबुबाहरुले संसार घुम्न पाएका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । सन्तानले बोलाउन सक्ने अवस्था भएन भने देखासिकी लागि सामान्य वर्गका नेपाली टुरिष्ट भिसामा संसार घुम्ने हैसियत राख्छन् । कतिपयले त उच्च शिक्षा हासिलका लागि पठाएका आफ्ना सन्तानको दीक्षान्त समारोहमा बडोगर्वले सहभागी भइरहेका हुन्छन् । यसरी जाने आउने गरिहरने अभिभावकले मज्जाले अंग्रेजी, फ्रेञ्चजस्ता स्थानीय भाषा मज्जाले बोल्नसक्ने भइसकेका हुन्छन् । पढ्दै नपढेका आमाहरु अंग्रेजी मिसाएर नेपालीमा कुरा गर्न थाल्छन् ।

हिजोसम्म ट्राञ्जिटमा ह्विल चियर चाहिने आमाबुवाहरु आज निर्धक्कका साथ एक्लै विदेशिएको देख्दा लाग्छ यो भन्दा आत्मविश्वास केलाई मान्ने ? जे–जस्तो भए पनि यो नयाँ देशको कलासंस्कार अनि शैली सिक्ने अवसर पनि हो । तर यही वहानामा नियमविपरित लुकिछिपी उतै बस्नु भने गैरजिम्मेवारपन हो । यसले एकातिर देशको इज्जतमा दाग लगाउँछ भने अर्कोतिर पुगेको देशमा पनि सम्मानजनक जीवनयापन नहुन सक्छ ।

भूगोल सानो छ, खैर ! दूरीले टाढा भए पनि । विश्व नजिक छ, खैर ! एउटामा रात पर्दा अर्काेमा दिन खुले पनि । आखिर विश्व हामी हिड्ने, डुल्ने, खेल्ने, घुम्ने, पढ्ने अनि मन परे स्थायी बसोबास गर्नसक्ने साँघुरो ठाउँ बन्दै गएको छ । तर यही विश्व आज विरामी छ । घरआँगनमा बसेर उताका फूलको बासना सुँघ्ने मेरी आमाहरुको मन रोएको छ । त्यही त विश्व साँघुरो छ । चाइनामा फैलिएको कोभिड–१९ अहिले विश्वभर फैलियो । र त भनिन्छ विश्व साँघुरो छ । विश्वमा आएको यो प्राकृतिक प्रकोपको उुथलपुथललाई कतिपय मानिसहरु कलियुग आएको संज्ञा दिन्छन् । सायद विज्ञानलाई पनि चुनौती दिने भाइरसले लाखौं मान्छे अकालमै कालको मुखमा पुगेपछि यस्तो अनुमान गर्नु वा संज्ञा दिनु स्वाभाविकै पनि होला । बुढापाखाले त्यसै भनेका रहेनछन्– ‘मान्छे बाँच्नुमात्र पर्छ के–के देख्न र भोग्न पाइन्छ ।’ जुन आज विश्वले भोगिरहेको छ, हामीले भोगिरहेका छौँ, देखिरहेका छौँ । हेर्नुस् त, एक मिनेट पनि फुर्सद निकाल्न गाह्रो हुने हामीलाई आज कसरी घरमित्रै थुनिएका छौँ । आखिर मर्न कसलाई पो रहर हुन्छ र ?

चीनको वुहान सिटीबाट फैलिएको कोरोना भाइरसले नेपालसहित विश्वका एक सय ९७ देशहरुमा महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याड्ढ अनुसार विश्वभर दैनिक ३२ हजार मानिसले ज्यान गुमाइरहेका छन् (जेठ ८, २०७७) । संगठनले ४७ लाख ९० हजार मानिस यो भाइरसबाट संक्रमित भएका छन् । संगठनले महामारीको संज्ञा दिएको भाइरस अझ कति देशहरुमा फैलिने हो र कहिलेसम्म नियन्त्रणमा आउने हो अनुमानभन्दा अरु गर्न सकिने अवस्था छैन्, यतिबेला । यो रोग नितान्त नयाँ रोग भएको स्वास्थ्य संघसंथाहरुले बताउँदै आएका छन् । लिइएको विरामीहरुको नमुनाका आधारमा यो नयाँ रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम भनेको रोगी व्यक्तिहरुको ¥याल, थुक, खकार नै प्रमुख कारण हो भनेर चिकित्कहरुले प्रतिवेदन सार्वजकि गरेका खबरहरु समाचार माध्यममा सुन्न पाइन्छ । स्वास्थ्य जनरलहरुका अनुसार यो नयाँ भाइरस कागज, फलाम र प्लास्टिकमा समेत जीवित रहने गरेको पाइएको छ । यो कोरोना भाइरसलाई दीर्घरुपमा निर्मुल पार्न र मानवीय क्षति गर्नका लागि औषधिको माग सर्वसाधारणबाट आएको छ । तर विज्ञानलाई चुनौती दिइएको भनिएको यो भाइरस विरुद्धको खोप वा औषधि आउने छाँटकाट यति छिटो भने छैन । यतिबेला हाम्रा लागि आफ्नो ज्यान आफै बचाउने जिम्मेवारी छ । किनकि हाम्रै सानो लापरवाहीले आफूलाई मात्रै होइन अरुलाई पनि सारिरहेको छ । त्यसैले, रोग लाग्नु भन्दा लाग्न नदिनु यसबाट बच्ने सर्वाेकृष्ट उपाय हो ।

यसका लागि हामी सबैजना आफ्नै घरमा क्वारेन्टाइमा बसौं । समय–समयमा साबुन–पानीले २० सेकेण्डसम्म मिची–मिची हात धुनु र व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी कायम राख्नुलाई विश्वमै यस भाइरस विरुद्धको उत्तम उपाय मानिएको छ । हाम्रो सानो अनुशानसले हामी बाँच्न सक्छौं अनि अर्काेलाई बचाउन सक्छौं । यतिमात्र होइन साँघुरिएको विश्वलाई बचाउन सक्छौँ । त्यसैले, यो भाइरस विरुद्ध लड्ने क्षमता विश्वले पाओेस् । अनि, विश्वका गफ गरेरै दिन कटाउने हजुरबा हजुरआमा र बाआमाहरुका लागि साँघुरिएको विश्व एकादेशको कथा नबनिदियोस् ।

babita.regmi33@gmail.com