पाँच भाइ पाण्डवहरुको जन्मकथा

राधेश्याम उपाध्याय

उता पाण्डु विरक्तिएर तपस्या गर्छु भन्दै वानप्रस्थ लिएर शतश्रङ्घ पर्वतमा गएर तपस्या गर्न लागे । कुन्ती र माद्रीले पनि नृपको आदर साथ सेवा गरी साथ दिन थाले । कुनै दिन पाण्डुले जेठी पत्नी कुन्ती लाई बोलाएर सन्तान भएनन् । पितृ ऋण कसरी तिर्ने होला भनेर पाण्डु चिन्तित भए र कोही सुयोग्य द्विजलाई बोलाएर सन्तान उत्पादन गरी कुलको रक्षा र पितृ उद्धार गर्न नीति शास्त्रले समेत मान्यता दिएकाले यसमा पाप लाग्दैन मैले तिमीलाई आदेश दिन्छु । मेरो आदेशको पालना गर भने । पतिको यस्तो आज्ञा सुनेर कुन्तीले आफूलाई सानैमा दुर्वासा ऋषिले मन्त्र दिएको र सो मन्त्रको प्रभावले आफूले जुन देवता ऋषि जोसुकैलाई पनि बोलाउन सक्ने बताइन । यस्ता पत्नीको कुरा सुनेर राजाले धर्मलाई बोलाई असल ज्ञानी धर्मात्मा सत्पुत्र जन्माउन आदेश दिए । पतिको आदेशानुसार धर्मको आह्वान गरिन् । धर्मले दर्शन दिनुभयो । कुन्तीको इच्छाअनुसार गर्वधारण गरिन र धर्मले धेरै आशीष तथा सुयोग्य पुत्रको जन्म हुनेछ भनेर फर्किए । जसबाट युधिष्ठिरको जन्म भयो । फेरि राजाले अर्को छोराको लागि वायुलाई बोलाउने आदेश दिए, आदेशानुसार कुन्तीले वायुलाई बोलाइन् । वायुबाट भीम जन्मन गए । तेस्रो पटक इन्द्रको आह्वान गरिन् र अर्जुनको जन्म भयो । यसबाट माद्री खिन्न तथा दुःखी भएको राजाले थाहा पाए र माद्रीलाई पनि मन्त्र सिकाइदिन भने र कुन्तीले पनि भक्ति एवं श्रद्धापूर्वक यो मन्त्रको जप गरी कुनै देवताको आह्वान गर भनी मन्त्र सिकाइदिइन् । सोही वमोजिम माद्रीले पनि भक्ति एवं निष्ठापूर्वक मन्त्र जप गर्दै अश्विनी कुमारको आह्वान गरिन र जेठा नकुल तथा कान्छा सहदेवको जन्म भयो ।

सबै राजकुमारहरुको कश्यप ऋषिले संस्कार गराइदिए । केही समय पछि बसन्त ऋतुको आगवन भयो । वातावरण मनमोहक थियो । हुने हुनामी राजाले आफूले ऋषिबाट पाएको श्राप बिर्से र माद्री नजिकै सेवा गरिरहेकी थिइन्, माद्रीलाई समाएर रतिक्रिडा गर्न थाले । उनको तत्कालै मृत्यु भयो । माद्रीले आफ्ना दुवै छोरा नकुल र सहदेव कुन्तीको जिम्मा लगाएर पतिसँग सती गइन् । ज्ञानी कश्यपले बालकहरुबाट राजाको सम्पूर्ण काजक्रिया गराइदिए र कुन्ती तथा पाँच भाइ पाण्डवहरुलाई लगेर धृतराष्ट्र, भीष्म विदुरको जिम्मा लगाए । सम्पूर्ण हस्तिनापुरभरि दुःखको माहोल छायो । महारानी सत्यवतीले पनि छोराको मृत्युको दुःख सहन नसकेर दुवै बुहारीहरु अम्बिका र अम्बालिकालाई लिएर वनमा गई तपस्या गर्न लागिन् । राज्यको सम्पूर्ण भार तथा सुरक्षाको जिम्मा भीष्मलाई दिइन् । भीष्म जिन्दगीभर हस्तिनापुरको चौकिदार भई नै रहे । महारानी सत्यवती र बुहारीहरु अम्बिका, अम्बालिका उतै मोक्ष पाई स्वर्गमा गई आनन्दले रहन लागिन् ।

केही समयमा पाण्डुको मृत्युको दुःख सबैले बिर्सन लागे, सय भाइ कौरव र पाँच भाइ पाण्डव सँगसँगै खेल्न थाले । दुर्याेधनलाई म राजाको छोरा र यी गासेहुरु हुन भन्ने रिस, डाहा र घमण्ड थियो । दुर्योधनको घमण्ड भीमले झारिदिन्थे । बलमा भीम निकै बलिया थिए । यी दुवैको जन्म एकैदिन भएको थियो । युधिष्ठिर सबैभन्दा जेठा थिए । यी सबैले गर्दा पनि सदैव दुर्याेधनको मनमस्तिष्कमा भीमलाई पञ्छाउने प्रवल इच्छा थियो । एक दिन जलविहार गर्ने वहाना बनाएर पाण्डवहरुलाई गंगा निकट लगे । भीमलाई खिर खुब मन पर्दथ्यो । खिरमा तिक्ष्ण विष हालेर एकान्त पारी भीमलाई खान दिए र जब भीम विषका कारणले लठ्ठ भए तब सय भाई मिलेर बाँधेर गंगा जलमा फालिदिए । अफूहरु थाहा नपाए जसरी राजदरबार फर्किए । केही बेरपछि पाण्डवहरुमा भीमलाई नदेखेर हल्लीखल्ली भयो । कसैले भेटाउन सकेनन् । उनीहरु पनि दरबार फर्किए । दुर्योधन तथा उनका सय भाइलाई पनि सोधपुछ गरियो । अहँ कसैले केही बोलेनन् । आमा कुन्ती तथा दरबार निवासी सबै चिन्तित भए ।

उता बाँधिएर गंगामा फालिएका भीम नागलोक पुगे । धेरै नागहरुलाई भीमले च्यापेर मारे, नागहरु रिसाएर भीमलाई डस्न लागे । सर्पको डसाइले अघि खिरसँग खाएको विषको प्रभाव कम हुँदै गयो । भीम व्युँझिए र आफ्ना सबै बन्धन छुटाएर सर्पको विनाश गर्न लागे । यो कुरा नागका राजा बासुकी कहाँ पुग्यो । बासुकी आफै गएर हेर्दा भीमलाई देखे, उनले भीमलाई चिने । यी भीम पाण्डुपुत्र भनि कुन्तीको कुशल मंगल सोधे र एक पात्र खानाले दश हजार हात्तीको बल लाग्ने सोमरसको कुण्ड छ, त्यसबाट यिनले खानसक्ने जति खानदेऊ भनी खान दिए । भीमले पनि आठ पात्र सोम रस खाए र उनी आठ हजार हात्तीको बलवाला भए । जब कि भीम पहिला पनि बलवान नै थिए । आठ पात्र सोमरस खाएर भीम आठ दिन नै नाग लोकमा सुते । उठेपछि वासुकीले भीमलाई राम्रा–राम्रा भोजनले सत्कार गरे र दूतहरुसँग हस्तिनापुर पठाइदिए । हस्तिनापुर पुगेर आमा तथा दाजुलाई ढोक दण्डवत गरे, सबै कुरा सुनाए । दुर्योधनले विष खुवाएको कुरा कसैलाई नभन्नु भनि सिकाए र उनले कसैलाई भनेन् । सबै खुशी साथ रहन लागे । यस्ता प्रयास कुरुहरुले धेरै पटक गरे, तर भीम तथा पाण्डवहरुले सबै प्रयास विदुर र युयुत्सुको सल्लाहमा झेल्दै र विफल पार्दै आए ।

कृपाचार्यको उत्पत्ति
महर्षि गौतमका शरद्धान नामका छोरा थिए । शरद्घान धनुर्वेदका ज्ञाता थिए । उनी घनाजंगलमा तप गरेर धेरै सस्त्रअस्त्र प्राप्त गरेका थिए । शरद्घानको तप देखेर इन्द्र निकै भयभित भए र जानपदी नाम गरेकी देवकन्या (अप्सरा)लाई तप भङ्ग गर्न पठाए । जानपदी देवकन्या मुनिका आश्रममा पुगिन् । ती सुन्दरीलाई देखेर उनको शरीर काप्न लाग्यो । उनको हातबाट धनुष वाण खस्यो । आफूलाई धीरपूर्वक रोक्न खोजे तापनि अञ्जानमा वीर्य पतन भयो । यो थाहा पाएर मुनिले दिक्क मानी सस्त्रास्त्र फालेर आश्रम एवं कन्यालाई छाडी मुनि अन्यत्र लागे । विर्य बगेर सडकबाट आफै दुई भागमा बाँडिन गयो । दैवको इच्छा त्यसबाट एक पुत्र तथा एक पुत्रीको उत्पत्ति भयो । त्यसै समयमा राजा शान्तनु आफ्ना दलबलका साथ त्यहाँ पुगे र राजाले ती बालबालिकालाई आफूसँग राजदरबारमा लगी पालन–पोषण गरी यथोचित शिक्षादीक्षा तथा संस्कार दिए । पुत्रको नाम कृप र पुत्रीको नाम कृपी राखिदिए । शरद्घानले आफ्नो तपोबलबाट छोराछोरी कहाँ छन् भनी जाने र राजा शान्तनुका दरबारमा आएर आफूसँग भएको विद्या ज्ञान सीप सबै छोरा कृपलाई सिकाइदिए र नाम तथा गोत्र पनि भनिदिए । केही कालपछि तिनै कृप कृपाचार्य भए र भीष्म कहाँ गई कौरव तथा पाण्डवका गुरु भई धनुर्वेदको शिक्षा दिन लागे र कुरु तथा पाण्डवलाई पाराङ्गत बनाए ।

क्रमशः