राजनीतिक रुप र गलत मनोदसा

विनोद पोख्रेल

हिजो एक पन्नाको नियमले पूरा कुरा लेख्न सकिन । राजनीति र सत्तामा धेरै थोरै फरक हुनुपर्छ । सत्ता शक्तिको परिणाम हो । अझ भनौँ सत्ता प्राप्त गर्न शक्ति आवश्यक छ । शक्तिको रुप अलग हुनसक्छ । उदाहरणकै लागि विद्रोह, षड्यन्त्रदेखि जनमत समेत शक्तिकै रुप हुन् । तर सत्ता केन्द्रित नभएर अथवा सत्ता लक्षित नभएर पनि राजनीति हुनसक्छ । नेपालमै अझै केही यस्ता दलहरु छन् जो अस्तित्वमा त छन् तर सत्तामा कहिल्यै गएका छैनन् । मौका पर्दा समेत गएनन् । कोही भने बिटुलिन मात्रै भए पनि सत्तामा पुगे । कति यस्ता छन् जो सत्ताबिना राजनीति नै हुँदैन भनेझै चरित्र प्रदर्शन गरिरहेका छन् । राजनीतिको लक्ष्य सत्तामा केन्द्रित भयो भने अथवा सीमित भयो भने त्यहाँ जनता (आम नागरिक) गफको विषय मात्रै हुन्छ । सही वा गलत जुनतिरकाले पनि सत्ता प्राप्त गर्ने होड हुन्छ । जनता पनि त्यही तरिकाले प्रयोग गरिन्छ ।

जब राजनीतिक पक्ष स्वयम् केन्द्रित हुन्छ अथवा गैरजिम्मेवारी राजनीतिले प्रश्रय पाउँछ अथवा राजनीतिमा व्यक्ति वा थोरै व्यक्तिहरुको लहडको या त मनपरी निर्णयको प्रभाव पर्छ तब राजनीतिको यो गलत रुप देख्न सकिन्छ । अहिले नेपालले भोगेको यही हो । मानव समाज आफै एउटा अनुशासन र नैतिकताको सीमा स्वीकार गरेर निर्माण भएको समाज हो । त्यहाँ सामाजिक सोच हुन्छ । सामाजिक समस्या समाधानको जिम्मेवारी हुन्छ । नैतिकता र समाजमा स्थापित भएका र धेरैजसो अनुशासनका आधारमा मानिएका नियम हुन्छन् । यी चरित्रसँग केही अनावश्यक वा गलत कुरा पनि रहेका हुनसक्छन् । ती गलत कुरालाई सुधारेर समाजलाई अघि बढ्ने बाटो बनाउने कुरा एउटा हो पुरानो सबै फेर्ने वा जस्तै नारामा नैतिकता, अनुशासन, जिम्मेवारीजस्ता कुराहरु समेत नास्ने चरित्र वा सोच अर्को हो । पछिललो सोचले समाजलाई स्वाभाविक रुपमा अनुशासनहीन, अराजक र गैरजिम्मेवार बनाउँछ ।

यस्तोमा विभिन्न व्यक्ति वा समूहले आफ्नो लहड लाद्ने प्रयास गर्छन् । अनि समाज एकीकृत हुन सक्दैन र सामाजिक विघटनको खतरा बढ्छ । अहिलेसम्म व्यक्ति वा केही साना समूह मात्र अराजक भएका छन् । पूरै समाज अराजक भयो भने यसको अस्तित्व बच्न गाह्रो हुन्छ । हामी कता–कता त्यही बाटोमा छौँ जस्तो लाग्छ । कहिलेकाहीँ चिन्ता लाग्छ । अपराध गरेर सजाय भुक्तान गरेकाहरुलाई जसरी चोख्याउने, सम्मान दिने परम्परा बसेको छ । त्यो उचित परम्परा होइन । यहाँ त यस्तालाई संरक्षण गर्नमा र आफ्नो पूर्वाग्रहका भरमा निर्णय गराउनमा प्रतिस्पर्धा जस्तै चलेको छ । एउटाले त्यही काम ग¥यो भने गलत हुन्छ आफूले त्यही काम गर्दा ठीक भनेर वकालत गरिन्छ । व्यक्ति हत्या, बलात्कार, भ्रष्टाचारजस्ता सबै अपराधलाई राजनीतिको पछ्यौरी ओढाएर चोखो पार्ने वा राम्रो बनाउने काममा प्रतिस्पर्धा गर्नेहरुले देश कहाँ लग्ने हुन् थाहा छैन ।
२०७६ फागुन ७ गते

राजनीतिबारे लेख्ने मन लाग्दैन । तर कहिलेकाही अलि बढी नै असन्तुष्टिले च्याँपेपछि लेख्न मन लागिहाल्छ । हिजो र अस्तिको लेखाई यसकै उदाहरण हो । हिजो फागुन सात गने । केही कार्यक्रमहरु भए । खास गरेर सैयौँको संख्यामा जेलबाट बन्दीहरु मुक्त भए । तर बिदा भने दिइएन । मलाई बिदासँग केही मतलव त छैन । तर पनि यो बिदाले राष्ट्रमा एउटा अधिनायकवादी हुकुमी शासनको अन्त्य भएको र नेपाली राजनीति नेपाली जनताको हातमा आएको प्रतिकको रुपमा मान्यता पाएको छ । यस्तो कार्यक्रममा आम नागरिकलाई बढीभन्दा बढी सहभागी गराउन सक्नु मात्रैले पनि राष्ट्रियता र राष्ट्रिय एकतालाई मलजल पु¥याउने थियो । मैले धेरै पल्ट लेखेको छु अहिलेको नेपाली राजनीतिमा सिङ्गो नेपाललाई एउटै नारामा समेट्ने परिवेश बनाउन सकिएको छैन । अझ तीतो भाषामा भन्ने हो भने त्यस्तो नारा मात्रै पनि छैन ।

यस्तोमा फागुन सात गते जस्ता दिनहरुले केही विकास दिन सक्थे । कतै त्यसै कारणले नै पो हो कि यसको महत्व समाप्त पार्न खोजिएको ? राष्ट्रियता र राष्ट्रिय एकतालाई जति कमजोर बनायो राजनीति त्यति अराजक बन्ने रैछ । यस्तोमा सबैलाई नेता बन्न अलि धेरै सजिलो हुने रैछ । वर्तमान राजनीतिबाट मैले बुझेको यही हो । यस्तै भएर नै हो मैले राजनीतिबारे नलेख्ने भन्छु । तर यो कमजोरीबाट पूरा निस्कन सकिरहेको छैन । मलाई थाहा छ मैले मनमा राखेको असन्तुष्टि मस्तै छ । हिजो र अस्ति केही लेखेँ । अब नलेख्ने भन्ने सोचेको छु । संयोगले फागुन सात गते प¥यो र अलिकति फरक रुपमा भए पनि केही लेख्न मन लागिहाल्यो । यस प्रकारको कमजोरी ममा छ भन्ने कुरा पनि मैले धेरै पटक स्वीकार गरेको छ । हिजोको दिन लेखक संघको कार्यक्रममा बित्यो । हिजो वार्षिक साधारणसभा, पुरस्कार वितरण र अधिवेशन समेत थियो । एक जना अतिथि कोषराज न्यौपानेले आफूलाई अरुले दोषराज पनि भन्ने गर्छन् । किनभने मैले दोष नै बढी देख्छु भन्नुभयो । दोष मात्रै देख्छु कि जस्तो पनि लाग्छ । हिजोको पुरस्कार वितरणमा पनि व्यक्ति दोहोरिएको र पुरस्कार पाउने व्यक्तिको स्तर हेर्दा लेखक संघ स्थापना गर्दाका सोचसँग नमिलेको जस्तो लाग्छ । तर पनि केही बोल्न मन लाग्दैन । एकजना हाम्रा मित्रले यस्ता कुरामा कुनै तनाव लिनु हुँदैन भन्ने बुझाउन ‘चल घोडी धानै धान’ भन्नुहुन्थ्यो । जे भए पनि जस्तो भए पनि वास्ता नगर्ने उहाँको आशय थियो । यो सुन्दा हाँसो लाग्थ्यो । तर अहिलेको परिवेशले त्यही ठीक हो जस्तो लाग्न थालेको छ । यो मनोदशाबाट मुक्त हुन पाए हुन्थ्यो भन्ने लाग्छ नै ।
२०७६ फागुन ८ गते