संक्रमितको संख्या ५ सय १६ पुग्यो
दाङ, ९ जेठ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरुसहित छन् । ‘आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पिसिआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’, आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने– ‘बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य छ ।’ उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाई गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् । शुक्रवारसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बेलुकासम्म संक्रमितको संख्या ५ सय १६ पुगेको हो ।
सो समाचारमा प्रयोग गरिएको फोटो सामाजिक सञ्जालबाट लिइएको हो । कोरोना संक्रमणबाट मुक्त भएपछि ८ बर्षीया बालिका अस्पतालवाट घर फर्किदै छिन् ।