उन्नत जातको धानको वीऊ अनुदानमा वितरण

बालाराम खड्का
तुलसीपुर, ९जेठ । तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको धानको वीऊ वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत विभिन्न जातका धानको वीऊ वितरण गरेको उपमहानगरपालिकाको कृषि शाखाका प्रमुख धनराज गौतमले बताए । कृषि शाखाले वडा कार्यालयमार्फत् किसानहरुलाई विहीवारदेखि आवश्यक धानको वीऊ वितरण सुरु गरेको जनाएको छ ।

जिल्लाको घोराही, लमहीको देउखुरीका सहकारीबाट उन्नत धान खरिद गरी किसानहरुलाई धानको वीऊ अनुदानमा वितरण सुरु गरेको गौतमले बताए । कृषि शाखाले रामधान, सुखा ३ र २ सावा मन्सुली, उन्नत जातको धान खरिद गरी वितरण सुरु गरेको हो । रामधान प्रतिकिलो ६०, सुखा २ प्रतिकिलो ५५ र सावा मन्सुली प्रतिकिलो ६० मा खरिद गरी किसानलाई ५० प्रतिसत अनुदानमा वितरण गरेको जनाएको छ । दुई सय क्विन्टल धान माग भएकोमा एक सय ५० क्विन्टल धान मात्र आएको र उपमहानगरपालिकाका १४ वटा वडाहरुलाई धानको वीऊ उपलब्ध गराएर वितरण सुरु गरिएको बाँकी वडाका कृषकहरुलाई शुक्रवार वितरण गर्ने शाखा प्रमुख गौतमले बताए ।

भूगोल र माटो सुहाउँदो उन्नत जातको धानको वीऊ वितरण गरी उत्पादनमा बृद्धि गर्ने उद्देश्यले धानको वीऊ वितरण गरेको कृषि शाखाले जानकारी दिएको छ । ‘मागअनुसार धानको वीऊ पाउन समस्या भएको छ’–गौतमले भने । उनकाअनुसार कृषकहरुलाई उन्नत जातको धानखेतीतर्फ आकर्षण बढाउन अनुदानका कार्यक्रमहरु ल्याएको बताए । ‘हामीले स्थानीय उन्नत जातको खेतीलाई बढवा दिएका छौँ, त्यसैले धान, मकै र तोरीमा अनुदान दिने गरेका छौँ’–उनले भने ।

तुलसीपुर क्षेत्रमा एक हजार एक सय ६६ हेक्टरमा धान खेती हुँदै आएको कृषि शाखाले जानकारी दिएको छ । जसमा ३५ हजार ५ सय ५१ मेट्रिक टन उत्पादन हुने गरेको छ । हाल यस क्षेत्रमा २० प्रतिशत मात्र उन्नत जातको धानखेती हुँदै आएको छ । अन्य ८० प्रतिशत किसानहरुले भने हाइव्रिट जातको धानहरु लगाउने गरेको तथाङ्क छ । यस परिनिर्भरतालाई घटाउन आफूहरु लागेको शाखा प्रमुख गौतमले बताए ।

एकातिर लकडाउन लम्बिरहेको छ भने अर्कोतिर खेती किसानीको समय पनि सुरु भएको छ । लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषि कर्ममा समेत अवरोध आउँदा खाद्य संकटसमेत निम्तिन सक्नेतर्फ सचेत हुँदै सरकारले कृषि क्षेत्रका काम सुचारु गराउने निर्णय गरिसकेको छ । सोहीअनुसार नेपालको मुख्य बाली धान खेतीको समय सुरु भएसँगै उपमहानगर क्षेत्रका किसानहरूलाई उन्नत जातको धानको वीऊ वितरण गरेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

कृषकहरुले भने लकडाउनको समयमा स्थानीय सरकारले अनुदानमा धान र मकैको वीऊ वितरण गरेपछि खुशी व्यक्त गरेका छन् । ‘मकैको वीऊ पनि वडाबाटै भएका थियौँ, धानको वीऊ पनि स्थानीय सरकारले उपलब्ध गराएको छ, हामीलाई सहज भएको छ’–कृषक उमा केसीले भने । यसैबीच कृषि शाखाले धानको अभाव हुन नदिन निजी एग्रोभेट व्यवसायीहरुलाई धानको अन्य वीऊहरु ल्याउन सिफारिस समेत दिने गरेको बताएको छ । ‘हामीले धानको वीऊ अभाव हुन नदिन बाहिरी जिल्लाबाट नाकामै थन्किएको वीऊ ल्याउन सिफारिस–पत्र दिएर सहज बनाएको छौँ’ कृषि शाखा प्रमुख गौतमले भने । यो सँगै जिल्लामा धानको वीऊको अभाव कम हुने बताएको छ । यस अघि कृषिले कृषकहरुलाई अरुण–४ मकै २२ क्विण्टल पनि अनुदानमा उपलब्ध गराएको थियो ।