बजार क्षेत्रमा क्वारेन्टाइन निर्माण आफैमा चुनौती बन्दैछन् । क्वारेन्टाइन निर्माण तथा सञ्चालन मापदण्डले सकेसम्म बस्तीदेखि टाढा राख्ने भनेको छ । बजारमा यो प्रावधानको पूर्ण पालना गर्न गाह्रो भएका कारण कम्पाउण्ड भएका बिद्यालय तथा अन्य भवनहरुको खोजी गर्न आवश्यक देखिएको छ । क्वारेन्टाइन बनाउन बजार क्षेत्रमा कत्तिको अप्ठ्यारो छ भन्ने जान्नका लागि घोराही १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेसँग गोरक्षले गरेको कुराकानी ।
कुन–कुन ठाउँमा क्वारेन्टाइनमा बनाउनुभएको छ ?
घोराही उपमहानगरपालिका वडा नं. १५ मा एउटा मात्र क्वारेन्टाइन रहेको छ । त्यो क्वारेन्टाइन हामीले घोराहीको भरतपुरमा रहेको पद्मोदय पव्लिक नमुना माध्यमिक विद्यालयमा बनाएका छौं । जहाँ ५० जनासम्मलाई राख्न सकिन्छ ।
अहिले बनाएको क्वारेन्टाइनको क्षमता पर्याप्त छ कि थप्नुपर्ने आवश्यकता देखिन्छ ?
तत्कालीन अवस्थामा पर्याप्त छ नै भन्ने लागेको छ । तर छिमेकी देश भारतसँगै बाहिरी जिल्लाहरुबाट मानिसहरु आउने क्रम जारी रहेकाले भोलिको दिनहरुमा यो पर्याप्त नहुन सक्छ । अहिले पद्मोदयको एउटा व्लकलाई प्रयोग गरेका छौं । जहाँ ११ जना बसिरहनुभएको छ । भोलि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था धेरै भयो भने क्वारेन्टाइनको क्षमता बढाउने छौं ।
क्वारेन्टाइन बनाउन समुदायसँग कत्तिको छलफल गर्नुभयो ?
औपचारिकरुपमा त्यस क्षेत्रका समुदायसँग छलफल भएको छैन । तर राजनीतिक दलका प्रतिनिधि, हाम्रो वडामा बनेको उच्चस्तरीय राजनीतिक संयन्त्र र विद्यालय व्यवस्थापनसँग छलफल गरेर पद्मोदयमा क्वारेन्टाइन बनाउने निर्णय भएको हो । त्यसका लागि विद्यालय व्यवस्थापन समितिले निर्णयसमेत गरिदिएको छ । जसले गर्दा हामीलाई क्वारेन्टाइन बनाउन सहज भएको हो । समुदायसँगको छलफल, उनीहरुमा अपनत्वभाव जागृत गर्ने, सुरक्षा सतर्कताको सुनिश्चितता तथा अहिलेको संकटसँग जुझ्नका लागि समुदायको भूमिकाका बारेमा नागरिकलाई सचेत बनाउँदा क्वारेन्टाइन बनाउन बजार क्षेत्रमा पनि खासै समस्या हुँदैन भन्ने लागेको छ ।
क्वारेन्टाइन बनाउँदा कत्तिको मापदण्ड पालना गर्नुभएको छ ?
हाम्रो वडामा क्वारेन्टाइन बनाउँदा सकेसम्म मापदण्डको पालना गर्ने प्रयास गरेका छौं । मापदण्डमा भनेजस्तै क्वारेन्टाइनमा बस्नेहरुलाई कोठामा हुल्ने मात्र होइन उनीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने ख्याल गरेका छौं । क्वारेन्टाइनमा बस्नेहरुलाई पनि सामाजिक दूरी कायम गरेर बसाल्ने काम गरेका छौं । क्वारेन्टाइनमा बस्नेहरुको नियमित स्वास्थ्य चेकअपका लागि हरेक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म बस्ने गरी दुईजना स्वास्थ्यकर्मीको व्यवस्थासमेत गरेका छौं ।
क्वारेन्टाइनमा के–के सुविधा रहेको छ ?
क्वारेन्टाइनमा सकेसम्म सुविधा दिने काम गरेका छौं । बाहिरी जिल्लाहरुमा क्वारेन्टाइनबाट भागेका समेत खबरहरु आइरहँदा हामीले हाम्रो वडामा बनेको क्वारेन्टाइनबाट कोही त्यसरी भाग्न नपरोस् भनेर ध्यान दिएका छौं । त्यसैले क्वारेन्टाइनमा उनीहरुलाई मनोरञ्जनका लागि दुईवटा टिभी, नेट चलाउनका लागि वाईफाईसँगै खानाका लागि मिलाएर बिहान दूध, गेडागुडी, फलफूललगायतको खाना मिलाएर ल्याउन सम्बन्धित परिवारलाई भनेका छौं । उनीहरुलाई घरपरिवारसँग भेट गर्न दिएका छैनौं ।