भर्खरै उम्रिएको मकैमा किरा

अमरराज आचार्य
दाङ, ८ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी भक्त घर्तीमगरले रोपेको मकैमा अहिले किरा लाग्न थालेको छ । उनले करिब १ बिगाहामा मकै रोपेका छन् । केही दिनअघि मात्र गोडेर सकेको मकैमा किरा लाग्न थालेपछि उनी चिन्तित बनेका छन् । उनका अनुसार अहिले किराले खाएर मकैमा पातहरु छिया–छिया भएका छन् । मकैमा देखिएको किरा कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताले उनीसहित किसानहरुलाई सताउन थालेको छ । ‘अब मकैमा देखिएको किरा कसरी नियन्त्रण गर्ने हो ?’ घर्तीले प्रश्न गरे ।
उम्रना साथ मकैमा किरा देखिन थालेपछि लगानीसमेत नउठ्ने हो कि भन्ने चिन्ता आफूहरुमा भएको उनको भनाइ छ । सोही स्थान निवासी दिनेश वलीले पनि मकैमा किरा देखिएको बताए । अहिले मकैमा लागेको किराको नामका बारेमा जानकारी नभएको उनले बताए । ‘हामीलाई प्राविधिक ज्ञान छैन, त्यसैले मकैमा लागेको किरा कुन हो भन्न सक्दैनौ र के औषधिले यी किरा मर्छन् भन्ने पनि थाहा छैन’, वलीले भने ।
राज्यले समय नै ती किराहरुको पहिचान गरी औषधि सुझ्याएर कृषकहरुलाई सहयोग गरी क्षति हुन नदिनका लागि सहयोग गर्नुपर्ने उनीहरुको अपेक्षा रहेको छ । ‘समयमा यसको उपचार गर्न नसकेमा मकै बाली नै नष्ट हुनसक्ने चिन्ताले सताउन थालेको छ’, वलीले भने । उक्त क्षेत्रमा मात्र नभई जिल्लाका विभिन्न स्थानहरुमा मकैमा किरा लाग्न थालेको सूचनाहरु जिल्ला कृषि ज्ञान केन्द्रमा पनि आउन थालेको छ । घोराही उपमहानगरपालिकाको १८ नं. वडामा पर्ने गिठेपानी, फुर्सेखाली क्षेत्रमा मात्रै करिब ४५ हेक्टर जमिनमा मकै खेती हुने गरेको छ ।
यता घोराही उपमहानगरपालिकाअन्तर्गतको कृषि शाखाले नगरका विभिन्न स्थानमा मकैमा किरा लागेको सूचना आएको जनाएको छ । कृषकहरुबाट जानकारी आएको स्थानमा पुगेर कृषकहरुलाई प्राविधिक सहयोग दिइने नगरका कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । ‘हामीबाट प्राविधिक सहयोग हुने छ’, प्रमुख खनालले भने । मकैमा लागेको किरा हेरर मात्र कुन किरा लागेको हो भनेर भन्न सकिने उनले बताए । ‘अहिले घोराही उपमहानगरपालिकाको १६ र १८ नम्वरबाट मकैमा किरा लागेको जानकारी आएको छ’, उनले भने– ‘कृषकहरुबाट आएको जानकारीलाई प्रमुख प्रशासकीय अधिकृत तथा नगर प्रमुखलाई जानकारी गराएर थप के गर्न सकिन्छ, त्यसैअनुसार अगाडि बढ्छौ ।’ जिल्लामा मकैलाई धान, गहुँपछिको खाद्य बालीको रुपमा खेती तथा प्रयोग गर्ने गरिएको छ ।