लमहीमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते

दाङ,१० मंसिर । दाङको लमही नगरपालिका–६ अर्जुनखोलामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार बाटो क्रस गर्ने क्रममा पछाडिबाट आएको मोटरसाइकलले शुक्रबार बेलुका करिब साढे ४ बजे स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक ४० वर्षीया सीमा चौधरी घाइते भएकी छन् ।

लमही नगरपालिका–७ बन्गै घर भएकी चौधरी अर्जुन माध्यमिक विद्यालय हसनापुरकी शिक्षिका हुन् । विद्यालयमा पढाएर देउपुरतर्फ जाने क्रममा दुर्घटनामा परेकी चौधरीको दाहिने हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

चौधरीले चलाएको लुम्बिनी प्रदेश ०२–००२ प ६०७३ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०२(०४९ प ८७५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २० वर्षीय सुदीप रोका र मोटरसाइकलमा सवार २१ वर्षीय सुमन रोकाय पनि घाइते भएका छन् । कञ्चनपुर घर भएका रोका काठमाडौं जाँदै गरेको बताइएको छ ।

रोकायको खुट्टामा चोट लागेको छ । घाईते तिनैजनाको लमहीमा अस्पतालमा उपचार भईरहेको छ ।