– किरण प्रसाद अधिकारी
गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ हुँदै बग्ने त्रिशूली नदीको प्राकृतिक बहावमा गम्भीर परिवर्तन ल्याएको छ। बाढीले थुपारेको गेग्रानका कारण नदी आफ्नो पुरानो सतहभन्दा करिब १०० देखि २०० मिटर माथिल्लो भागबाट बग्न थालेपछि तीनवटै जिल्लाका तटीय बस्ती, खेतीयोग्य जमिन, सडक, जलविद्युत् आयोजना, पुल र ऐतिहासिक धरोहरहरू उच्च जोखिममा परेका छन्।
यो विपत्ति केवल नदीको धार परिवर्तन भएको प्राविधिक घटना मात्र होइन; यससँग रसुवाको तल्लो भेगदेखि नुवाकोट र धादिङका तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिकको जीवन, पुस्तौँदेखिको थातथलो, पसिनाले आर्जेको सम्पत्ति र भविष्य जोडिएको छ। स्थानीय बासिन्दाका लागि घर भनेको इँटा र ढुङ्गाको संरचना मात्र नभई पुर्खाको इतिहास, बाल्यकालको सम्झना र जीवनभरको कमाइ हो। पुस्तौँदेखि बस्दै आएको गाउँ र खेतबारी गुमाउनुपर्ने बाध्यताले तीनवटै जिल्लाका नागरिकको सपना र सुरक्षित भविष्यमाथि नै प्रहार गरेको छ।
अतः सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रलाई समेटेर त्रिशूली नदीलाई पुरानै प्राकृतिक बहावमा फर्काउने एकीकृत योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्छ। यसका लागि तत्काल प्राविधिक र भूगर्भविद्हरूको टोली खटाई तीनवटै जिल्लाको तटीय क्षेत्रमा स्थलगत अध्ययन गर्न आवश्यक छ। अध्ययनले सम्भव देखाएमा नदीको विभिन्न खण्ड विभाजन गरी करिब १२ देखि १५ वटा निर्माण कम्पनीलाई एक–एक किलोमिटरको जिम्मेवारी दिएर उत्खनन तथा व्यवस्थापनको काम अघि बढाउन सकिन्छ। साथै, उत्खननबाट निस्कने ढुङ्गा, गिट्टी र बालुवाको सुरक्षित निकास तथा व्यवस्थापनका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छ।
यदि नदीको बहाव गहिर्याएर पुरानै सतहमा फर्काउन सकियो भने बाढीले प्रभावित बनेका कैयौँ ऐतिहासिक, धार्मिक तथा व्यापारिक बस्तीहरूलाई जोगाउन सकिन्छ। विशेषगरी रसुवाको टिमुरे, स्याफ्रुबेशी, शान्तिबजार, मैलुङ र पहिरेबेशी; रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया धाम तथा बेत्रावती; नुवाकोटको सोले, त्रिशूली बजार, भैँसे, कोल्पुटार, कैदेलीटार, ढुङ्गे, बट्टार, देवीघाट, केन्द्रीय कारागार क्षेत्र, महादेवफाँट र रातामाटे खण्ड; साथै धादिङको गल्छी, बैरेनी, आदमघाट, मलेखु, बेनीघाट, चरौँदी, फिस्लिङ र जोगीमारा लगायतका तटीय क्षेत्रका बासिन्दाहरू आफ्नै पुरानो थातथलोमा सुरक्षित रूपमा फर्किएर बस्न सक्ने वातावरण बन्नेछ।
नागरिकलाई अन्यत्र विस्थापित गर्नुभन्दा आफ्नै पुरानो थातथलोमा फर्काउन सक्नुका बहुआयामिक फाइदा छन्। पुस्तौँदेखि एकै समाजमा मिलेर बसेका समुदायलाई आफ्नै भूमिमा पुनर्स्थापना गर्दा सामाजिक सद्भाव, सांस्कृतिक एकता र धार्मिक सन्तुलन कायमै रहन्छ। अलग–अलग ठाउँमा छरिँदा टुट्न सक्ने सामाजिक सम्बन्ध, रीतिरिवाज र सामूहिक भावना जोगिन्छ। बाढीले क्षति पुर्याएका तथा संरक्षणको पर्खाइमा रहेका मुख्य धार्मिक–ऐतिहासिक क्षेत्रहरू यसप्रकार छन्:
- देवीघाट क्षेत्र (विदुर नगरपालिका–५): तादी र त्रिशूली नदीको सङ्गमस्थल देवीघाट धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ। यहाँको प्रमुख शक्तिपीठ श्री जालपादेवी मन्दिर भदौ १० को बाढीले पूर्ण रूपमा बगाएपछि हाल भक्तजनहरूले बगेकै स्थानमा शिला स्थापना गरी पूजाआजा सुरु गरेका छन्। यसै परिसरमा ६४ दिव्य शिवलिङ्गमध्येको भैरवेश्वर महादेव मन्दिर, वि.सं. १८३१ माघ १ गते देहावसान भएका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको समाधिस्थल, सालिक र ऐतिहासिक ढुङ्गा सुरक्षित छन्। साथै, चतुर्मुखी शिवलिङ्ग, फिर्याप डाँडाका प्राचीन शिवालय र ऐतिहासिक मस्जिदसमेत यही क्षेत्रमा रहेकाले नदी व्यवस्थापनले यहाँको धार्मिक सहिष्णुता र सम्पदा जोगाउन मद्दत गर्छ।
- वेत्रावती क्षेत्र (उत्तरगया धाम): रसुवा र नुवाकोटको सिमानामा पर्ने त्रिशूली र फलाखु (वेत्रगङ्गा) खोलाको सङ्गमस्थल चार गयामध्येको एक पवित्र तीर्थस्थल उत्तरगया धाम हो, जहाँ पौषे औँसीमा पितृ तर्पण गर्ने ठूलो मेला लाग्छ। वि.सं. १८४९ मा नेपाल र तिब्बत (चीन) बीच ऐतिहासिक ‘वेत्रावती सन्धि‘ भएको यही स्थलका पौराणिक पाटीपौवा र घाटहरूमा बाढीले ठूलो क्षति पुर्याएको छ।
- त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्र (विदुर नगरपालिका–१): नदी किनारमा अवस्थित यो पुरानो व्यापारिक तथा धार्मिक मार्ग बाढीबाट नराम्ररी प्रभावित भएको छ। परापूर्वकालदेखि गोसाइँकुण्ड र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूको मुख्य विश्रामस्थल रहेको यस क्षेत्रमा पुरानो धार्मिक धरोहर राम मन्दिर समेत अवस्थित छ।
नदीको बहावलाई पुरानै स्थानमा पुर्याउन सकिएमा बाढीको गेग्रानले पुरिएका तथा बगाएका यस्ता अमूल्य ऐतिहासिक, धार्मिक र पुरातात्त्विक सम्पदाहरूको खोजी र उत्खनन गर्न निकै सहजता मिल्नेछ। नदी आफ्नो पुरानो धारमा फर्किएपछि मात्र जालपादेवी मन्दिरका भग्नावशेष, पौराणिक घाट, शिलालेख र अन्य ऐतिहासिक अवशेषहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर तिनको वास्तविक स्वरूपमै पुनर्निर्माण तथा संरक्षण गर्न सम्भव हुनेछ।
नदीको बहाव नियन्त्रणसँगै यी सबै प्रभावित बस्ती र ऐतिहासिक सम्पदाको पुनर्निर्माणलाई सँगसँगै लैजानुपर्छ। सुरक्षित गर्न सकिने स्थानमा बलियो तटबन्ध र पूर्वाधार निर्माण गरी बस्ती तथा धार्मिक स्थल जोगाउनुपर्छ भने उच्च जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति, सुरक्षित पुनर्वास र जीविकोपार्जनको ग्यारेन्टी गर्नुपर्छ।
कुनै पनि पुनर्निर्माण योजना सफल हुन तीनवटै जिल्लाका स्थानीय जनताको आवाज, वास्तविक क्षति र भावनालाई समेट्न जरुरी छ। प्रभावित नागरिकहरू अहिले केवल अस्थायी राहतको प्रतीक्षामा छैनन्; उनीहरू आफ्नै माटोमा सुरक्षित फर्कन, आफ्नो धर्म–संस्कृति जोगाउन, खेतीपाती गर्न र आफ्ना सन्तानको भविष्य त्यहीँ निर्माण गर्न चाहन्छन्। यो विषय नदी व्यवस्थापनसँग मात्र होइन, नागरिकको सम्पत्ति, पहिचान, धार्मिक आस्था र पुस्तौँदेखिको सभ्यता संरक्षणसँग जोडिएको गम्भीर प्रश्न हो।
सरकारले अब थप ढिलाइ नगरी त्रिशूलीको बहाव पुनःस्थापनाको अध्ययन र रसुवा, नुवाकोट तथा धादिङका बस्ती तथा धार्मिक सम्पदा पुनर्निर्माणका लागि ठोस कदम चाल्नुपर्छ। नदीको बाटो व्यवस्थित गर्नु जति जरुरी छ, आफ्नै थातथलोमा सामाजिक सद्भाव र धार्मिक आस्थाका साथ सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकार जोगाउनु पनि उत्तिकै आवश्यक छ।
त्रिशूली बचाऔँ, रसुवा, नुवाकोट र धादिङको सभ्यता र थातथलो जोगाऔँ, प्रभावित जनताको भविष्य पुनर्निर्माण गरौँ।
लेखक अधिकारी, सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटका प्रकाशक तथा कार्यकारी सम्पादक एवं भोटेकोसी–त्रिशूली बाढीपीडित सरोकार समितिका सहसचिव हुन्। (लेखक स्वयम् भोटेकोसी–त्रिशूली बाढीबाट पूर्ण रूपमा प्रभावित पीडित हुन्।)