खेलकुदमार्फत् पर्यटन प्रवर्धन गर्न जेसीज हाफ म्याराथन : अध्यक्ष भाट [अन्तर्वार्ता]

त्रिभुवननगर जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको संस्था हो । त्रिुभवननगर जेसीजले युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै जिल्लामा विभिन्न सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । यही सन्दर्भमा त्रिभुवननगर जेसीजले खेलकुदमार्फत् दाङको खेल र पर्यटन प्रवर्धन गर्ने र युवाहरुलाई खेलकुदमा जोड्ने उद्देश्यले यही मङ्सिर १९ गते घोराहीमा ‘त्रिभुवननगर जेसीज हाफ म्याराथन–२०२६’ गर्दैछ । खुल्ला सहभागिता रहने यो प्रतियोगिताको तयारी, जेसीजले युवाको नेतृत्व, व्यक्तित्व विकासका लागि गरेका काम र आफ्नो कार्यकालको अनुभवबारे त्रिभुवननगर जेसीजका अध्यक्ष
मिनराज भाटसँग गोरक्षकर्मी लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।

 त्रिभुवननगर जेसीज हाफ म्याराथनको मिति नजिकिँदै छ, तयारी कसरी गरिरहनुभएको छ ?

 त्रिभुवननगर जेसीज हाफ म्याराथनका लागि अहिलेसम्मको तयारी राम्रो भइरहेको छ । जेसीज हाफ म्याराथनलाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रचारप्रसारदेखि प्रतियोगिताका लागि स्पोन्सरको खोजी गर्ने काममा लागिरहेका छाँै । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समवन्व गरेर प्रतियोगिताका लागि रुट निर्धारण गर्ने काम भइरहेको छ ।

 त्रिभुवननगर जेसीज हाफ म्याराथन गर्नुभएको उद्देश्य ?

 जेसीज हाफ म्याराथन हाम्रो महत्वपूर्ण कार्यक्रम हो । यो सन् २०१६ मा सुरु भएको थियो । बिचमा कोभिडलगायत विभिन्न समस्याले गर्दा सञ्चालन हुन सकेन । गतवर्षदेखि फेरि जेसीज मिनी म्याराथनका रूपमा सुरु गरेका थियौँ । यस वर्ष जेसीज हाफ म्याराथनका रूपमा गर्दैछौँ । गत वर्षको तुलनामा यो बर्ष दौडको दूरी र पुरस्कार राशी दुवै बढाएर हाफ म्याराथनका रूपमा गर्ने गरी तयारी भइरहेको छ ।

जेसीज हाफ म्याराथन गर्नुभएको मुख्य उद्देश्य भनेको खेलकुदमार्फत् स्वास्थ्य सचेतना फैलाउने, दाङको पर्यटन प्रवर्धन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने नै हो । प्रतियोगितालाई दाङकै प्रमुख धार्मिक पर्यटकीय स्थल पाण्डवेश्वर धाम धारापानीसँग जोडेर गर्दैछौँँ । घोराहीमा दौड्ने खेलाडी धारापानीसम्म पुगेर फर्किने छन् । जिल्लामा आएका खेलाडीलाई धारापानी पुग्न प्रोत्साहन गर्ने हाम्रो विश्वास छ । साथै प्रतियोगिताले जिल्लाको पर्यटन र आर्थिक गतिविधिमा टेवा पु¥याउनुका साथै युवालाई स्वास्थ्यका लागि खेलकुदमा प्रोत्साहन गर्नेछ ।

 जेसीज हाफ म्याराथनमा यो वर्ष कति जना धावकको सहभागिता हुने अपेक्षा गर्नुभएको छ ? हाफ म्याराथनको दुरी कसरी निर्धारण गर्दै हुनुहुन्छ ?

 त्रिभुनवनगर जेसीजले आयोजनामा हुन थालेको ‘त्रिभुनवनगर जेसीज हाफ म्याराथन’ खुल्ला हो । दाङसँगै जिल्ला बाहिरका खेलाडी पनि सहभागी हुन पाउने छन् । गत वर्ष पनि प्रतियोगिता गरेको र यो बर्ष पनि निरन्तर हुँदै गर्दा पुरुष, महिला र बालबालिका गरी प्रतियोगितामा सबै तहका पाँच सय खेलाडीको सहभागीता हुने अपेक्षा गरेका छौँँ ।

खुल्ला पुरुष, महिला र बालबालिकाका लागि छुट्टा छुट्टै गरी तीनवटा क्याटोगरी छुटएर प्रतियोगिता गर्न थालेका छौँ । खुल्लाका लागि २१ किलोमिटर, महिलाका लागि दश किलोमिटर र बालबालिकाका लागि पाँच किलोमिटर दुरी निर्धारण गरेका छौँ । बालबालिकाको रेसमा १४ वर्षभन्दा मुनिका बालबालिकाको सहभागीता हुनेछ भने महिलाका लागि दश किलोमिटरको मिनी म्याराथन र पुरुषका लागि खुल्ला हाफ म्याराथन गरेर २१ किलोमिटरको दुरी तय गरेका छौँ ।

 जेसीज हाफ म्याराथनमा इच्छुक सहभागी खेलाडीले कसरी सहभागिता जनाउन सक्छन् ?

 जेसीज हाफ म्याराथनमा सहभागीतका लागि आजदेखि दर्ता खुल्ला गर्दैछौँ । इच्छुक खेलाडी घोराही उपमहानगरपालिका–१५ मा रहेको जेसीज सचिवालयमा आएर दर्ता गराउन सक्नु हुनेछ भने बाहिर रहेका खेलाडीले अनलाइनबाट दर्ता गर्ने व्यवस्था पनि मिलाएका छौँ ।

 जेसीज हाफ म्याराथन दाङका लागि स्थानीय सरकार र संघसंस्थाबाट कस्तो सहयोग पाउनुभएको छ ?

 पक्कै पनि जेसीज हाफ म्याराथनलाई जिल्लाकै गौरवको खेलकुद प्रतियोगिताका रूपमा अघि बढाउने तयारीमा छौँ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई समेत घोराहीमा ल्याउन सहयोग गर्नेछ । त्यसैले गतवर्ष २५ हजार रूपैयाँ रहेको पुरस्कार राशि पुरुषतर्फ यस वर्ष बढाएर ४१ हजार रूपैयाँ बनाएका छौँ । यसले थप खेलाडीलाई आकर्षित गर्ने अपेक्षा छ ।

महिलातर्फको मिनी म्याराथनको विजेताले २१ हजार रूपैयाँ प्राप्त गर्नेछन् । साथमा मेडल, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरेका छौँ । यसका लागि विभिन्न क्षेत्रबाट हामीलाई सहयोग प्राप्त भइरहेको छ । जेसीजको काम नै विभिन्न व्यक्ति र संस्थासँग सहकार्य गरेर स्रोत जुटाउने र कार्यक्रम सफल बनाउने हो । यो हाम्रो ठूलो प्रतियोगिता भएकाले सबैको साथ र सहयोग पाइरहेका छौँ । सहयोगी हात अघि सरिरहनुभएको छ । अझै धेरै उद्योगी–व्यवसायीले सहकार्य गर्नुहुन्छ भन्ने अपेक्षासहित म यहीँबाट अनुरोध गर्न चाहन्छु ।

 तपाईं अध्यक्षमा निर्वाचित भएको वर्ष पुग्न लागेको छ । यो अवधिका प्रमुख उपलब्धि के–के हुन् ?

 जेसीजको कार्यकाल एक वर्षको हुन्छ र हाम्रो कार्यकाल सकिन लागेको छ । यो बिचमा संस्थाले धेरै महत्वपूर्ण काम गरेको छ । विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहकार्य गरेर घोराहीको ट्राफिक चोकमा सर्वसाधारणका लागि खानेपानीको फिल्टर प्लान्ट जडान गरेका छौँ । त्यसैगरी अम्बिकेश्वरी मन्दिरमा पनि ठूलो प्लान्ट जडान गरेका छौँ, जसले मन्दिर पुग्ने भक्तजनलाई सहयोग पुग्छ । उक्त फिल्टर प्लान्ट हस्तान्तरण गर्न बाँकी छ ।

यसबाहेक सरकारी विद्यालय र कलेजहरूमा जहाँ समस्या छ, त्यहाँ शैक्षिक सामग्रीदेखि पानीका फिल्टर प्लान्टसम्मका सहयोग गरिरहेका छौँ । त्यसँगै जेसीजले विभिन्न विपद्का घट्ना, सामाजिक कार्यहरूमा समेत जोडिएर सहयोग गर्ने काम गरिरहेको छ । त्यहीको उदाहरणका रूपमा रसुवामा गएको बाढीबाट पीडित बनेका नागरिकका लागि कपडा सहयोग गरेका थियो । त्यससँगै ट्राफिकसँग सहकार्य गरेर ट्राफिक सचेतना, विभिन्न बस्तीमा स्वास्थ्य शिविर, व्यवसायिक सचेतनामुलक कार्यक्रम समेत जेसीजले गर्ने गर्दै आएको छ । त्यससँगै मुख्य काम भनेको युवाहरूको नेतृत्व र व्यत्तित्व विकासका लागि काम गरेका छौँ ।

 अध्यक्षको जिम्मेवारी सम्हालिरहँदा भोग्नु परेका चुनौती के–कस्ता छन् ?

 जेसीजमा छोटो अवधिमा धेरै काम गर्नु पर्ने भएका कारण काम गर्दै जाँदा चुनौती नआउने कुरै भएन । एक वर्षको छोटो अवधिमा धेरै चुनौती पनि आउने गर्दछन् । आफ्नो व्यवसाय, परिवार र सामाजिक काम सँगसँगै संस्था सम्हाल्नु निकै चुनौतीपूर्ण हुन्छ तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जेसीजले नै सिकाएकाले त्यहीबाट समय निकालेर काम गर्ने हो । कतिपय अवस्थामा सहयोगी खोज्ने, कार्यक्रम छनोट गर्ने र त्यसका लागि जनसहभागीता जुटाउने लगायतका काम गर्नुपर्छ । युवाका लागि काम गर्नुपर्ने हुन्छ । त्यसक्रममा अवरोधलाई कसरी समाधान गर्ने भन्ने सिकाइ लागू गर्ने समय पनि यही हो । त्यसैले हामी चुनौतीलाई अवसरका रूपमा लिँदै काम गर्ने गर्दछौँ ।

 यो अवधिमा जेसीजमा आवद्ध युवाको नेतृत्व, क्षमता र व्यक्तित्व विकासका लागि के–के गर्नुभयो ?

 यस वर्षदेखि हामीले समाजका लागि मात्र नभई युवालाई केन्द्रमा राखेर कार्यक्रम गर्दै आएका छौँ । जेसीज के हो भन्ने कुरा चिनाउनु पनि हाम्रो एउटा उद्देश्य थियो । हामी विभिन्न विद्यालय र कलेज गएर विद्यार्थीलाई अहिलेका ज्वलन्त समस्याबारे सचेत गराउँछौँं । साइबर अपराध, लागूऔषध र आर्थिक अर्थतन्त्रजस्ता विषयमा सचेतना कार्यक्रम गरेका छौँ । साथै अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त पाँच–छ जना प्रशिक्षकलाई ल्याएर दाङमै पहिलो पटक ‘बिजनेस एकेडेमी’ सञ्चालन ग¥यौँ ।

यो व्यापारीका लागि मात्र होइन, शिक्षक, स्वास्थ्यकर्मी, निजी व्यवसायी वा निजामती कर्मचारी, जुन पेसामा रहेका भए पनि आफ्नो काम कसरी थप व्यावसायिक ढङ्गले गर्न सकिन्छ र उद्यमशीलतासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । चार दिनको आवासीय अन्तर्राष्ट्रियस्तरको यो तालिम सम्पन्न गरेका थियो । त्यसका साथै अन्य विभिन्न सहयोग तथा सचेतनामूलक काम गरेका छौँ यो बिचमा ।

 अहिलेको मुख्य लक्ष्य हाफ म्याराथन नै हो । सहभागी हुन चाहनेलाई के भन्न चाहनुहुन्छ ?

 यो कार्यकालका अन्तिम ठूला कार्यक्रममध्येको एउटा हो र अब बाँकी रहेको छ । हामी प्रत्येक वर्ष यो प्रतियोगिता गर्दै आएका छौँ । यस वर्ष एक तह माथि उठेर मिनी म्याराथनबाट हाफ म्याराथनमा पुगेका छौँ । यसका लागि धेरै सहयोगी पनि जोडिनुभएको छ ।

गतवर्ष २५ हजार रूपैयाँ रहेको पुरस्कार राशि यस वर्ष पुरुषतर्फ प्रथम पुरस्कार ४१ हजार रूपैयाँ बनाएका छौँ । यो रकमभन्दा पनि खेलाडीलाई प्रोत्साहन गर्ने र एथलेटिक्सका खेलाडीलाई अझ अघि बढाउने उद्देश्यले राखिएको हो । महिलातर्फ २१ हजार रूपैयाँ बनाएका छौँ । बालबालिकालाई पनि प्रोत्साहन गर्ने गरी पुरसकार व्यवस्था गरेका छौँ । त्यही अनुसार रुट छुट्याएर तयारीमा जुटेका छौँ । बालबालिकादेखि ठूलासम्म, महिला र पुरुष सबैका लागि क्याटेगोरी छन् । ४० वर्षभन्दा माथिकाका लागि पनि खुल्ला प्रतिस्पर्धा छ । हाम्रो मूल उद्देश्य स्वस्थ रहनु हो । त्यसैले सम्पूर्ण दाङबासी र विशेषगरी लुम्बिनी प्रदेशका खेलाडी साथीहरूलाई यो म्याराथनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।

 अन्त्यमा के भन्न चाहानुहुन्छ ?

 धेरै कुरा भनिसकेको छु । फेरि पनि जेसीजले आयोजना गर्न थालेको ‘त्रिभुवनगनर जेसीज हाफ म्याराथन–२०२६’ लाई सफल बनाउने अभियानमा हामी जुटेका छौँ । त्यो अभियानमा सञ्चार माध्यम, उद्योगी व्यवसायीसँगै सबै नागरिककोे सहयोग आवश्यक छ । गोरक्ष दैनिकमार्फत् अभियानमा जुट्न सबैलाई आग्रह गर्दछु ।