नारायणप्रसाद श्रेष्ठ
समय परिवर्तन हुन्छ । हिजो भएको अवस्था आज हुँदैन र आज भएको अवस्था भोलि नहुन सक्छ । यो सर्वमान्य सिद्धान्त हो । यसैमा नै वर्तमान पनि गुजिरहेको हुन्छ । अवसर पटक–पटक आउँछ तर त्यसलाई सदुपयोग गर्न सकिएन भने त्यो आफैमा प्रति उत्युउत्पादक भएर देखा पर्न सक्ने सम्भावना बढी हुन्छ । मानिसले आफूलाई हिजो जसरी बितायो जुन किसिमको सम्मान र मान्यतामा आफूलाई प्रतिष्ठित हुनेगरी जनताको माझ योग्य बनेर उभ्यिए त्यसरी नै वर्तमान र भविष्य पनि त्यसरी नै बितोस् भन्ने उसको चाहना अस्वाभाविक होइन । सुख सुविधा र सम्पन्नता मानिसको चाहना हुनु यो नौलो विषय पनि होइन । यो स्वाभाविक पनि हो ।
मान, प्रतिष्ठा र इज्जतका साथ जिउनु पनि मानिसको उद्देश्य रहेको हुन्छ । यसै अनुसार आफूलाई परिचालन गर्न मानिस हरहमेशा प्रयत्नशील भइरहन्छ पनि तर पनि उसको इच्छा मुताविक त्यस्तो परिस्थिति नहुन सक्छ । कर्म र चाहनाले ल्याउने परिणाम मानिसको इच्छा विपरित हुन गई समयले अर्कै नतिजा पनि दिन सक्छ । मन ताक्छ मुढो, बन्चरो ताग्छ घुडो, भनेझैँ मनले एउटा सोच्छ, परिस्थितिले अर्को नतिजा देखाउँछ । यो मानिसले चाहँदा नचाहँदै पनि यस्तो अवस्था सिर्जना हुन पुग्दछ । यो समयले साथ नदिएको कारणले भएको हो । मानिस सधै आफ्ना विचार साध्य गराउन हरहमेशा प्रयत्नशिल हुन्छ तर पनि ऊ असफल भएको इतिहास प्रशस्तै भेटिन्छ ।
समयमा जुन कर्म र व्यवहार गर्नु पर्ने हो यदि त्यसलाई सदुपयोग गर्न जानिएन भने आफूलाई प्राप्त भएको अवसर गुम्ने अवस्था देखिएको धेरै सुनिन्छ पनि । यस्तो अवस्था आउनु आफ्नै कारणले भएको पनि हुन्छ । पछि गएर यसले पछुताउने काम बाहेक अरु केही नहुने पनी हुनसक्छ । यसको मूल जड मानिसभित्र रहेको अहंकार र स्वार्थ युक्त व्यवहार हो । जहाँ स्वार्थ हुन्छ त्यहाँ त्यस्तो अवस्थ बढी देखिन्छ । स्वार्थीले आफूलाई जतिसुकै इमान्दार देखाउन खोजे पनि यो कहीँ न कही चुहिएकै हुन्छ । हुनत उसले गरेको प्रत्येक कर्ममा मैले इमान्दारपूर्वक गरेको छु भन्न उ कहिल्यै बिर्सँदैन, मैले राम्रो गरेको छु भन्छ र भनिरहन्छ पनि तर उसभित्र रहेको सोच चिन्तनमा गलत धारणा विकसित भइरहेको कुरा उसले पत्तै पाउँदैन ।
साधन र अवसर प्रशस्त हुँदा हुँदै पनि उसले साधनलाई सदुपयोग गर्न नजानी पछुताउने बाहेक अरु केही नभएको पनि धेरै देखिन्छ । गलत कामको फल गलत नै हुन सक्छ, समय अनुकूल आफूलाई प्रस्तुत गर्न नसक्नु, उसभित्र लुकेको स्वार्थ र अहंकारको कारण पछुताउनु पनि पर्छ । जसको फलस्वरुप उसको बुद्धि र विवेक पनि विपरित दिशातिर मोडी उ आफैलाई नष्ट गरने तर्फ उद्धत हुन्छ। विनाशकाले विपरित बुद्धि भनेको यही हो ।
अहिले नेपालको परिवेशलाई हेर्ने हो भने हिजोको परिवेश र अहिलेको नेपालको राजनीतिक आवरणमा यस्तै अवस्था देखिन्छ । कस्ले ग¥यो मङ्गले आफनै ढङ्गले । समय हिजो र आजमा धेरै फरक भएको छ । हिजो र आजमा भएको भिन्नता के हो ? त्यो नबुझ्नु बुद्धि विवेक विपरित दिशातर्फ उन्मुख हुनु हो । तसर्थ समय र परिस्थितिलाई मूल्याङ्कन गरी सबैले आफूलाई प्रस्तुत गर्नुपर्छ । समय जब आफू अनुकूल रहँदैन त्यसबेला यदि मानव विवेकलाई सही र स्पष्ट दिशाबोध गराउन सकिएन भने स्थितिले अरु भयाभय अवस्था सिर्जना गर्न सक्दछ । यस्तो अवस्था आउनु भनेको विनाशकाले विपरित बुद्धि देखिनु हो । त्यसैले यस कुरालाई गम्भीर भएर चिन्तन गर्न जरुरी छ ।
जब नाश हुने अवस्था सुरु हुन्छ, तब मानिसको सोच र चिन्तनमा गलत विचार बढ्दै जान्छ । जसको फलस्वरुप उ नैतिक पतनतर्फ उन्मुख हुन पुग्दछ । एक पटक नैतिक पतन भइसकेको व्यक्तिको स्वभाव कहिले पनि राम्रो कार्यतर्फ आकर्षित हुन सक्दैन । न त जनताको विश्वास पात्र नै हुन्छ । यसको लागि उसले निकै सङ्घर्ष गर्नु पर्ने अवस्था हुन्छ । समय एकनासको हुँदैन । परिस्थिति अनुकुल काम नगरी राम्रो अवस्था आउँछ भनी सोच्नु मूर्खता हो । समय यदि आफू अनुकूल छैन भने मानिसले आफूले आफूलाई आफ्नो कर्म र व्यवहारलाई कसरी सच्याउनुपर्छ भनेर सोच्नु पर्दछ ।
अन्यथा अहंकार र घमण्डको कारण उसका भावना र अभिलाषा गलत कर्मतर्फ आकर्षित भई विचारमा तुसारो पर्न सक्छ । अर्को कुरा समयलाई बुझी यदि मानिसले आफूलाई कर्ममा उतार्न सक्दैन भने उसले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । एक पटक रुखबाट खसेको व्यक्तिले पुनः रुख चढ्न सक्छ तर यदि रुख चढ्न खोजेर सावधानी अपनाउन सकेन भने उ रुखबाट खस्दछ र उसको शरीरमा त अङ्गभङ्ग हुन्छ नै ।
ऊ कहिले पनि उठ्न नसक्ने गरी अपाहिज पनि हुन सक्छ । यो यथार्थ हो । तसर्थ समय र परिस्थितिलाई आफ्नो दास बनाउने जुन चेष्टा मानव स्वभावमा देखिन्छ त्यसले विनाश मात्र निम्याउँछ । यो कुरा सबैले ग्रहण गर्नुपर्दछ । त्यसैले पुर्खाले सिकाएको, समयले दिएको चुनौतीलाई बुझेर प्राप्त अवसर र उपलब्धिलाई विवेकशील भएर बुद्धिमत्तापूर्वक कर्म गर्न सक्नुपर्दछ । विनाशको समयमा बुद्धि विपरित दिशातर्फ आकर्षण हुने हुँदा यस्तो अवस्था सिर्जना हुनु पूर्व मनलाई पवित्र कर्म र विचारतर्फ आकर्षित गर्नुपर्दछ । विनाशकाले विपरित बुद्धि भन्ने उखानलाई चरितार्थ हुन नदिन सधैँ सतर्क र सजग रहेर आफूमा परेको जिम्मेवारी र अवसरलाई इमान्दारपूर्वक निर्वाह गर्ने गर्नुपर्दछ । अन्यथा आफू र आफ्ना समर्थक समेत डुब्ने सम्भावना बलियो भएर देखा पर्न सक्छ ।
मानिस विवेकशील भएर मात्र हुँदैन । उसले समय सापेक्ष आध्यात्मिक र भौतिकवादी चिन्तनभित्र गुज्रिएको समयको चक्रलाई पनि बुझ्न सक्नुपर्दछ । यदि मानवीय आचारणले त्यो कुरा बुझ्न सकेन भने तथा आध्यात्मिक केही होइन भौतिकता नै सबै हो भन्ने मानसिकता राख्ने हो भने उसले राम्रो परिणाम प्राप्त गर्न सक्दैन । यो सबैले बुझ्न जरुरी छ । किनकि हिजोदेखि वर्तमानसम्म सबैले स्वीकारेको पौराणिक शास्त्र वा ग्रन्थलाई मान्यता दिने हो भने सत्ययुग, तेत्रा युग, द्वापर र कलियुग जसरी चार युग भएर समयले आफूलाई परिवर्तन गरिरहेको हामी पाउँछौं, त्यसरी नै समय पनि युग अनुसार परिवर्तन भएको देखिन्छ ।
इतिहास र शास्त्रलाई मान्यता दिने हो भने पनि सत्ययुग सतुप्रधान भएर बितेको देखिन्छ भने तेत्रा युगमा आएर श्रद्धा र विश्वासमा केही लोभानी पापानी भएर स्वार्थ र अहंकारले प्रशय पाएको पाइन्छ । समयले ल्याएको परिवर्तनलाई यदि आफू अनुकूल गराउने धृष्टता गरिन्छ भने यो अपाच्य हुनसक्छ । जसरी त्यत्रा युगमा श्रद्धा र विश्वास कमजोर हुँदै गएको छ स्वार्थ र अहंकारले प्रशय पाएको देखिन्छ । त्यसैगरी द्वापर युगमा आएर तमोप्रधान, माया मोह र लोभ लालचले मानिसको बुद्धि विवेकमा वर्ग स्वार्थतर्फ लाग्न उत्प्रेरित गरेको देखिन्छ ।
यसैगरी वर्तमान कलियुगमा आएर झन् छलकपट प्रपञ्च र स्वार्थ र अहंकारले मानिसको बुद्धि र विवेक ढपक्क ढाकेको पाइन्छ । यसरी चार युगमा चार किसिमले विस्तार हुँदै गएको परिवेश र परिस्थितिलाई मूल्याङ्कन गर्ने हो भने अहिलेको कलियुग वर्तमान निकै उकुसमुकुस भएर स्वार्थ र अहंकारभित्र गुजुल्टिएको पाइन्छ । तसर्थ यस कुरालाई मध्यनजर राखेर सोचमा आउने परिवर्तन र मनमा उठ्ने गलत धारणालाई बुझी समय सापेक्ष आफूलाई परिवर्तन गर्दै जानुपर्दछ ।
लोभ मोह र अहंकार रूपी चरित्रको कारण जब मानिस गलत दिशातर्फ उन्मुख हुन्छ त्यसवेला स्वार्थ र अहंकारले पनि मोहजालमा फसाई उसको बुद्धि र विवेकलाई अन्धकार रुपी मानसिकताभित्र गाज्न थाल्दछ । त्यस बेलामा उसका भावनाहरु गलत कार्यतर्फ उन्मुख हुन्छ । म जे भन्छु, त्यो राम्रो छ, मैले जे भन्छु, त्यो सत्य छ भनेर आफूले आफैलाई म पाईको धारणा विकास गरी अघि बढेको स्थिति हुन्छ । यस्तो अवस्थामा जुन किसिमको कर्म गरिन्छ, त्यसले वास्तवमा मानिसलाई भ्रम बनाई बुद्धि विनोदमा बिर्को लगाउन पुग्दछ ।
विनाशकाले विपरित बुद्धि भनेको यही हो । यो कुरा बुझ्नुपर्दछ । तसर्थ यस्तो परिवेशमा कतै समयले परिवर्तन खोजेको त होइन भन्ने बुझी भौतिकवादीले ल्याउने परिणाम र आध्यात्मिक चिन्तनले ल्याउने परिणाम एउटै डालोमा राखी आध्यात्मिक सत्यको यथार्थलाई बुझी भौतिकवादी चिन्तनतर्फ मन विवेकलाई प्रयोग गर्नुपर्दछ । भनिन्छ इतिहास दोहोरिँदैन तर कतिपय परिस्थितीले यस्तो अवस्थाको सिर्जना गर्छ जुन अकाट्य भएर देखा परेको पाइन्छ । जसरी युगको परिवर्तनसँगै फेरि सत्ययुगको प्रादुर्भाव हुन्छ ।
त्यसबेलामा अनैतिक कार्यको पर्दा उघारी नैतिकताले विचारमा सकारात्मक भाव देखाउन पुग्दछ । त्यसरी नै कर्म र व्यवहारमा देखिने परिणामले पनि त्यस्तै अवस्था सिर्जना भएको महसुस गर्न सक्नुपर्दछ । जुन यथार्थ हुन सक्छ । वर्तमान राजनीतिक क्षितिजलाई हेर्ने हो भने पनि जुन किसिमको कर्म र व्यवहार अहिले देखा परिरहेको छ यो वास्तवमा कति सुहाउने विषय हो ? यो प्रश्न उठनु अस्वाभाविक मान्नु हुदैन । हिजो जुन किसिमले जस्तो परिवेशमा आफूलाई प्रस्तुत गरिएको थियो । यदि समयको परिवर्तनसँगै आफूलाई परिवर्तन गर्न सकिएन भने यसले राम्रो परिणाम दिन सक्दैन र समय अवसर र चुनौतीको कारण आफूले आफैलाई धिक्कार्नु पर्ने अवस्था सिर्जना हुन सक्दछ ।
त्यसैले साधनलाई साध्य बनाउने विवेकलाई समयानुकूल परिचालन गर्नु र समयले दिएको अवसर र परिस्थितिले ल्याउने परिवर्तनलाई आत्मसात गरी जीवनले खोजेको यथार्थ गोरेटोमा सबैले आफूलाई समर्पण गर्न जान्नुपर्दछ । गतिशील समयलाई यदि बुझ्न सकिएन भने व्यक्ति स्वयम् नष्ट हुँदै जाने परिस्थिति जन्मनु वास्तवमा यो आफैप्रति अन्याय हुनु हो । त्यसैले यो सत्यलाई कदापि भुल्न हुँदैन । चेतना भया ।