विद्यालय खुल्ने अन्योलकै बीच नयाँ पाठ्यपुस्तक

‘बिद्यार्थीलाई स्वअध्ययनमा सहयोग पुग्ने विश्वास’

लिलाधर वली
दाङ, ८ जेठ । कोरोना भाइरसका कारण नयाँ शैक्षिक सत्रको पठाई कहिलेबाट हुने भन्ने कुरामा अन्योल रहेको भए तापनि दाङमा नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक आउन शुरु भएको छ । जनक शिक्षा सामग्री कम्पनीको प्रादेशिक डिपो नेपालगञ्जबाट नयाँ शैक्षिक सत्रका लागि आएका पुस्तकहरु दाङका दशवटै स्थानीय तहमा रहेका विद्यालयहरुले लैजान शुरु गरेका छन् ।

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आएपछि विद्यालयका लागि आवश्यक पुस्तकहरु लिनका लागि घोराही आएको बंगलचुली गाउँपालिका–३ सिरुबारीमा रहेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर बुढाले बताए । उनले विद्यालयमा आवश्यक कक्षा २ देखि १० कक्षासम्मका लागि पुस्तक लैजान थालेको जानकारी दिए । विद्यालय खुल्ने निश्चित नभए पनि विद्यालयका लागि आवश्यक पुस्तकहरु खरिद गरेमा विद्यालय सञ्चालनमा आउना साथ पुस्तकका आधारमा पढाई सञ्चालन गर्न सकिने तर्कका साथ उनले पुस्तक खरिद गर्दै थिए । ‘कोरोना भाइरसका बिरामी बढिरहेका छन्, त्यसैमा हाम्रो विद्यालयलाई गाउँपालिकाले क्वारेन्टाइन बनाएकाले खुल्ने निश्चित छैन’, प्रधानाध्यापक बुढाले भने– ‘विद्यालय खुल्ने निश्चित नभए पनि विद्यार्थीका लागि आवश्यक पुस्तक लैजान थालेको छु ।’

उनले विद्यालयले प्रकाशित गरेको नतिजाका आधारमा पाठ्यपुस्तक खरिद गर्न थालेको जानकारी पनि दिए । ‘विगतका बर्षहरुमा प्रायः रिजल्ट प्रकाशित गरेपछि विद्यार्थी भर्ना हुने गरेका थिए, त्यही आधारमा कितावहरु लैजाने गरेको थिएँ’, प्रअ बुढाले भने– ‘तर यो बर्ष विद्यालय बन्द छ, भर्ना अभियान चलेको छैन । त्यसैले रिजल्टका आधारमा पुस्तक लैजान थालेको छु ।’ लकडाउनका कारण गाडी नचल्दा पुस्तक विद्यालयसम्म लैजान समेत समस्या रहेको बताए ।

घोराही क्षेत्रका लागि आएका पाठ्यपुस्तक सामाजिक दूरी कायम राखेर विद्यालयहरुलाई उपलब्ध गराउन थालिएको जनक शिक्षा सामग्री कम्पनीका पुस्तकहरु बिक्री गर्ने घोराही डिपो हिमाल बुक्स एण्ड स्टेशनरीका प्रोप्राइटर कुमबीर डाँगीले बताए । उनले घोराही र बंगलाचुली क्षेत्रका कक्षा २ देखि १० कक्षासम्मका लागि करिब ५० प्रतिशत पुस्तकहरु आइसकेको जानकारी दिए । ‘पहिलो लटमा करिब ५० प्रतिशत पाठ्यपुस्तकहरु आइपुगेका छन्, बाँकी अर्काे लटमा आउँछन्’, उनले भने– ‘अहिले घोराही डिपोमा आएका पुस्तकहरु विद्यालयलाई खबर गरेर वितरणको काम भइरहेको छ ।’ नयाँ शैक्षिक सत्रमा कक्षा १ को पाठ्यक्रम परिवर्तन भएकाले १ कक्षाको भने पुस्तक अझै आइनपुगेको डाँगीले बताएका छन् । घोराहीमा रहेको हिमाल बुक्स एण्ड स्टेशनरीले यस क्षेत्रका एक सय बढी सामुदायिक विद्यालयहरुलाई पुस्तक पु¥याउने काम गर्दै आएको छ । घोराहीसँगै लमही र तुलसीपुर क्षेत्रमा पनि नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आइरहेको उनले बताए ।

दाङमा ६० प्रतिशत पुस्तक : जनक शिक्षा सामग्री
जनक शिक्षा सामग्री कम्पनीले दाङमा नयाँ शैक्षिक सत्रका लागि ६० प्रतिशत पुस्तकहरु पठाएको जनाएको छ । गतबर्षको तथ्यांकअनुसार दाङमा नयाँ शैक्षिक सत्रका लागि ५ हजार सेट पुस्तक आवश्यक पर्ने भए पनि यो बर्ष अहिलेसम्म ३ हजार सेट पुस्तकहरु पठाइसकेको जनक शिक्षा सामग्रीका प्रदेश नं. ५ प्रमुख रविन्द्रकुमार शर्माले बताएका छन् । दाङसहित प्रदेश नं. ५ का लागि आवश्यक पुस्तकहरु तयारी अवस्थामा रहे पनि कोरोना भाइरसको संक्रमणको डरका कारण ट्रक चालक र मजदुरको अभावमा पर्याप्त पुस्तकहरु पठाउन नसकिएको जनक शिक्षा सामग्रीका प्रदेश प्रमुख शर्माले बताए ।

उनले विगतको बर्षमा जस्तो पुस्तक समस्या नहुने समेत बताए । ‘नयाँ शैक्षिक सत्रका लागि आवश्यक पुस्तक तयारी अवस्थामा छ, यो क्षेत्रमा पुस्तकको अभाव हुँदैन’, प्रमुख शर्माले भने– ‘ट्रक चालक जान माने र मजदुरले काम गर्न इच्छुक भए सबै जिल्लामा पुस्तक पठाउँछौ ।’ कोरोना संक्रमणका कारण मजदुरहरु काम गर्न नमान्दा पुस्तक पठाउन केही समस्या भएको उनले बताए । ‘कोरोना भाइरसको त्रासका कारण काम गर्ने मजदुर र चालक ट्रक चलाउन मानिरहेका छैनन्’, प्रदेश प्रमुख शर्माले भने– ‘जसले गर्दा सबै जिल्लामा पर्याप्त मात्रामा पुस्तक पुग्न सकेको छैन ।’ दाङमा पहिलो लटमा तुलसीपुर, घोराही र लमहीमा पुस्तकहरु पुगेको भन्दै अब नारायणपुरमा पठाउने तयारी भएको समेत बताए । उनले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण विद्यालय बन्द रहेका बेला बालबालिकाहरुलाई घरमै पुस्तक लिएर स्वअध्ययनमा सहयोग पुगोस् भनेर पनि अहिले पुस्तकहरु पठाउन थालिएको बताएका छन् ।