गोरक्ष समाचारदाता
तुलसीपुर, ७ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका–१८ को आयोजनामा हेमन्तपुरस्थित वडा कार्यालय नजिकैको बगैँचामा श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । नौ दिनसम्म चल्ने सो महायज्ञको उद्घाटन तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले गरेका छन् । विपन्न वर्गका वडाबासीलाई निःशुल्क रूपमा स्वास्थ्य उपचार गर्न नागरिक स्वास्थ्य उपचार अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
वडाध्यक्ष माधव वलीको अध्यक्षतामा भएको महायज्ञ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख खड्काले नौ दिनसम्म चल्ने महायज्ञमा सदासयिता र सहभागिता जनाउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् । ज्ञान बाँडेर हुनेहरूबाट सहयोग जुटाउने र नहुने नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्न रकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ लगाइएको भन्दै यसलाई नमुना अभियानका रूपमा लिन नगरप्रमुख खड्काले आह्वान गरेका छन् ।
नगरपालिकाले हरेक वर्ष छुट्याउने अढाइ करोड रूपैयाँले निदिष्ट ८ प्रकारका रोगका विरामीलाई मात्रै सहयोग पुग्ने भन्दै अन्य रोगको उपचारमा विपन्न नगरबासीलाई थप रकम आवश्यक पर्ने उनको भनाइ थियो । ‘अहिले बजेटको अभाव देखाउँदै सरकारले स्वास्थ्य विमा कार्यक्रमबाट समेत हात झिकेको अवस्था छ, यो अवस्थामा विपन्न नागरिकको उपचारको जोहो गर्न वडाले थालेको यो महान कार्यमा सबै नगरबासी जोडिनुस्’, प्रमुख अतिथि खड्काले भने ।
कार्यक्रमको विषय प्रवेश गराउँदै वडाध्यक्ष तथा महायज्ञ उद्घाटन कार्यक्रमका सभाध्यक्षवलीले भौतिक विकासले मात्र समृद्ध नगरको परीकल्पना गर्न नसकिने भएकाले मानव स्वास्थ्यलाई प्राथमिकतामा राखेर महान कार्यको शुभारम्भ गरिएको बताए । ‘यो त सबै वडामा खड्किएको सामाजिक समस्या हो, त्यसैले हामीबाट यो कामको थालनी हामीबाट गरेका छौँ, अध्यक्ष वलीले भने, यसलाई सिङ्गै उपमहानगरपालिकाले स्वामित्व लिनेछ ।’ श्रीमद् भागवत महायज्ञबाट कम्तिमा एक करोड रूपैयाँ आर्थिक सङ्कलन हुने आयोजकले अपेक्षा गरेको छ ।
कार्यक्रममा महायज्ञका प्रमुख वाचक अमृत शरण देवाचार्यले महायज्ञको अवधिभर हुने धार्मिक, तथा सांस्कृतिक कार्यक्रमका विषयमा जानकारी गराए । उनले दिएको जानकारीअनुसार महायज्ञ स्थलमा बिहानी सत्रमा ग्रह शान्ति, रुद्राभिषेक, लक्षवर्तिका, चौरासी पूजा, तुलादान तथा नित्य पूजा हुनेछ । त्यसैगरी दिवा सत्रमा श्रीमद् भागवत पाठ तथा कथासँगै विभिन्न कलाकारद्धारा कथा अनुसारको प्रस्तुती देखाइने छ । साथै प्रमुख वाचक देवाचार्यले मध्यान्न बाह्र बजेदेखि ४ बजेसम्म कथा श्रवण गराउने बताइएको छ । त्यसैगरी सायमकालमा श्रृङ्गारिक महाआरती तथा भजन किर्तन हुने छन् । नागरिकबाट दान जुटाएर नागरिकलाई नै स्वास्थ्य उपचारको माध्यमबाट खर्च गरिने उद्देश्यका साथ आयोजना गरिएको सो महायज्ञलाई सबै वडाबासीले अपनत्व लिन पनि मुख्य बाचक देवाचार्यले अपिल गरेका छन् ।
उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र शिवाकोटी, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्तेत तथा सम्पूर्ण संघसंस्थाका तर्फबाट जुरपनिया मैना तारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शेषमणी कवरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण हिमा वेलवासेले गरेकी थिइन् । उद्घाटन कार्यक्रम सुरु हुनु अघि विभिन्न संघसंस्थाका व्यानरसहित शोभायात्राको आयोजना गरिएको थियो ।