दाङमा खाद्यद्वारा धान खरिद सुरु : ‘कोटा निर्धारणले धान खरिदमा समस्या’

लीलाधर वली

दाङ, ७ मङ्सिर । सरकारले किसानले उत्पादन गरेको धान खरिद गर्ने नीति लिएपनि सीमित कोटा निर्धारण गर्दा धान बिक्रीमा समस्या भएको किसानले बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारी समर्थन मूल्यमा धान खरिद सुरु गरेपनि निश्चित कोटो निर्धारण गर्दा उत्पादन गरेको धान बिक्री नहुने अवस्था रहेको गुनासो गरेका छन् ।

देउखुरीको गढवा गाउँपालिका–४ पर्सेनी निवासी किसान भरत चौधरीले यसवर्ष ४० क्विन्टल धान उत्पादन गरेका छन् । गतवर्ष पनि खाद्यले धान खरिद गरेकाले यस वर्र्ष पनि धान काटेर सरकारी मूल्यमा बिक्री गर्ने आशामा चौधरीले धान सुरक्षित राखेका थिए । तर, धान बिक्रीका लागि सङ्कलन केन्द्रमा पु¥याउँदा २५ क्विन्टल मात्रै खरिद गर्ने जानकारी पाएपछि बाँकी १५ क्विन्टल धान घर फर्काउनु पर्ने अवस्था भएको बताउँछन् ।

पालिकामै आएर खाद्यले धान खरिद गर्दा किसानलाई सहज भए पनि खरिदको कोटा सीमित हुँदा समस्या भएको चौधरी बताउँछन् । ‘खाद्यले किसानले उत्पादन गरेको सबै धान किनिदिए उत्पादन गर्ने किसानलाई सजिलो हुने थियो’, उनले भने, ‘सीमित कोटा हुँदा उत्पादन गरेको सबै धान बिक्री गर्न पाउने अवस्था छैन ।’ चौधरीको जस्तै समस्या गढवा गाउँपालिका–४ गंगापरस्पुर निवासी किसान बुद्धिप्रसाद यादवको पनि छ । खाद्यले राम्रो मूल्यमा धान खरिद गर्ने भएकाले व्यापारीलाई बिक्री नगरी धान राखेका यादव अहिले सीमित कोटामा मात्रै खाद्यले धान खरिद गर्न थालेपछि आफ्नो धान बिक्रीका लागि आफ्नो पालो आउँछ कि आउँदैन भन्ने अवस्थामा पुगेको बताए ।

‘किसानले धेरै धान उत्पादन गरेका छन् । आफूले उत्पादन गरेको धान बिक्री गर्न खोज्दा पनि खाद्यले सबै धान खरिद गर्न सक्दैन’, उनले भने, ‘सरकारले धान खरिद नगरिदिँदा घाटा खाएर व्यापारीलाई बिक्री गर्नु पर्ने बाध्यता छ ।’ गत वर्ष ३० क्विन्टल धान खाद्यलाई बिक्री गरेकी गढवा गाउँपालिका–४ तकियापुर निवासी हनुमानी चौधरीले पनि यस वर्ष सरकारी मूल्यमा बिक्री गर्ने आशाले धान व्यापारीलाई दिएकी छैनन् । तर, खरिदका लागि निश्चित कोटा तोकिएपछि आफ्नो धान बिक्री हुने हो वा होइन भन्ने चिन्ता थपिएको बताउँछिन् ।

‘किसानले उत्पादन गरेको धान बिक्रीका लागि ट्याक्टरमा ल्याएर लाइनमा राखेका छन् । त्यही लाइनमा मेरो धान पनि छ’, उनले भनिन्, ‘कति बेला तोकिएको कोटा पूरा भएर धान फिर्ता लैजानु पर्ने हो भन्ने चिन्ता छ ।’ कोटा निर्धारण गरेर खरिद गर्नुभन्दा किसानले उत्पादन गरेको धानको गुणस्तर हेरेर खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने उनको सुझाव छ तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख शक्तिराम डाँगी भने धान खरिदका लागि सीमित कोटा हुँदा समस्या भएको बताउँछन् । उनका अनुसार यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा पाँच हजार क्विन्टल धान खरिद गर्नेगरी कोटा निर्धारण गरेको छ ।

जिल्लामा धान उत्पादनको परिमाण धेरै भएपनि सीमित कोटाका कारण सबै किसानको धान खरिद गर्न नसकिएको निमित्त कार्यालय प्रमुख डाँगी बताउँछन् । सरकारले निर्धारण गरेको कोटाअनुसार देउखुरीको गढवा गाउँपालिकाबाट धान खरिद सुरु गरिएको र त्यसपछि लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट धान खरिद गरिने बताए । ‘किसानले आफूले उत्पादन गरेको सबै धान बिक्री गर्न खोज्नुहुन्छ’, निमत्ति कार्यालय प्रमुख डाँगीले भने, ‘तर, निश्चित कोटाका कारण धेरैभन्दा धेरै किसानलाई समेट्न थोरै–थोरै भए पनि धान खरिद गर्ने व्यवस्था मिलाएका छौँ ।’

दाङमा धान उत्पादन र किसानको आवश्यकताका आधारमा उक्त कोटा अपर्याप्त रहेको भन्दै बढाउन माग गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लास्तरीय प्राथमिक खरिद समितिले दाङका लागि निर्धारण गरिएको पाँच हजार क्विन्टलको कोटा बढाएर १० हजार क्विन्टल पु¥याउन केन्द्रसँग माग गर्ने निर्णयअनुसार केन्द्रमा पत्र पठाइएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०८३÷०८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । सरकारी मूल्यमा धान बिक्री गर्ने आशाले महिनौँसम्म उत्पादन सुरक्षित राखेका किसान अहिले सीमित खरिद कोटाका कारण निजी व्यापारीलाई कम मूल्यमा धान बेच्नु पर्ने अवस्थामा छन् । किसानले उत्पादन गरेको धानको परिमाण र खरिद आवश्यकतालाई आधार बनाएर कोटा बढाउनु पर्ने माग उनीहरूको छ ।

तीन दिनमा ११ सय क्विन्टल धान खरिद

यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले तीन दिनको अवधिमा गढवा उपखरिद केन्द्रबाट तीन दिनको अवधिमा ११ सय क्विन्टल धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख शक्तिराम डाँगीकाअनुसार गढवा उपखरिद केन्द्रबाट मङ्सिर ४ गते शुक्रवारदेखि ६ गते आइतवारसम्म तीन दिनको अवधिमा एक हजार १०७ दशमलव ६० क्विन्टल मोटा धान खरिद गरेको हो ।

केन्द्रकाअनुसार मङ्सिर ४ गते एक सय ७८ क्विन्टल, मङसिर ५ गते तीन सय ५६ दशमलव ४० क्विन्टल र मङसिर ६ गते पाँच सय ७३ दशमलव २० क्विन्टल मोटा धान खरिद गरिएको कार्यालय निमित्त प्रमुख डाँगीले जानकारी दिएका छन् । उनका अनुसार देउखुरीमा रहेका गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट करिव १७÷१७ सय क्वीन्टलका दरले धान खरिद गर्ने तयारी छ ।