घोराही, ६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० घोराही नगर कमिटीको ८ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । उक्त अवसरमा एउटै विद्यालयमा निरन्तर १० बर्षदेखि प्रिन्सिपलको जिम्मेवारीमा रहेका प्रिन्सिपलहरुलाई सम्मान गरिएको छ ।
बिस २०७३ देखि निरन्तर प्रिन्सिपलको जिम्मेवारीमा रहनुभएका सगरमाथा बोर्डिङ स्कुल घोराही ४ गोग्लीका प्रिन्सिपल पोषण न्यौपाने र मदन भण्डारी मेमोरियल स्कुल घोराही १७ गुलरियाका प्रिन्सिपल विमल भण्डारीलाई ुशिक्षा समर्पण सम्मान २०८३ुले सम्मान गरिएको छ । लामो समय निरन्तर जिम्मेवारीमा रहेर महत्त्वपूर्ण शैक्षिक योगदान पुर्याएबापत उहाँहरुलाई उक्त उपाधीसँगै सम्मानपत्र, दोसल्ला र ट्रफी पदक प्रदान गरिएको थियो ।
यसैगरी, कार्यक्रममा प्याब्सन घोराहीले २०८२ मंसिर ५ गतेदेखि २०८३ मंसिर ५ गतेसम्म गरेका संगठनात्मक, शैक्षिक तथा आर्थिक गतिविधिहरु समाविष्ट प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्याब्सन घोराहीका सचिव विमल भण्डारीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चित्र बहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद अधिकारीले विद्यालयमा काउन्सिलरको व्यवस्था हुन जरुरी रहेको बताउनुभयो । प्रविधिको दुरुपयोगका कारण विद्यार्थीहरुमा देखिएका समस्याप्रति इङ्गित गर्दै अधिकारीले अहिलेका बालबालिकाहरुलाई मनोवैज्ञानिक परामर्श आवश्यक रहेको उल्लेख गर्नुभयो । शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई काउन्सिलिङ गर्दै शैक्षिक सुधार गर्नुपर्ने भएकाले विद्यालयमा विभिन्न क्षेत्रका काउन्सिलरहरुको व्यवस्थापन जरुरी रहेको प्रमुख अतिथि अधिकारीले जोड दिनुभयो ।
पछिल्लो समय निजी विद्यालयमाथि देखिएका समस्यालाई उल्लेख गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले निजी विद्यालयहरुले विधीसम्वत् तरिकाले आफ्ना प्रशासनिक तथा शैक्षिक गतिविधिहरु सञ्चालन गर्नसके समस्याहरु निराकरण हुने बताउनुभयो । उहाँले निजी विद्यालयहरु थप परिमार्जित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षण सिकाइलाई प्रभावकारी बनाउदै सिपयुक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
यसैगरी प्याब्सनका केन्द्रीय सदस्य रेशम बहादुर बुढाले निजी विद्यालयहरुका हरेक गतिविधिहरु चुस्तदुरुस्त हुनुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य महेन्द्र अधिकारीले प्याब्सन घोराहीका गतिविधिहरु हेर्दा मुक्तकण्ठले प्रशंसा गर्न लायक रहेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार केशव थापा, दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपाने, प्रमुख सल्लाहकार मधुसूदन केसी, सल्लाहकार जीवन कुमार आचार्य, पालिका समन्वय समितिका संयोजक गिरीराज डाँगी, तुलसीपुर अध्यक्ष डम्बर डाँगी, राप्तीका अध्यक्ष रामप्रसाद शर्मा र घोराहीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्याब्सन घोराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमल भण्डारीले गर्नुभएको थियो ।