एकराज शर्मा अधिकारी
सर्वप्रथम शास्त्रले म को हुँ भन्ने चिनाइदिन्छ । सबैभन्दा पहिले आफूलाई चिन्नुपर्छ । पञ्चतत्वले हाम्रो शरीर निर्माण भएको छ । अन्त्यमा पञ्चतत्वमा गएर मिल्दछ । सारा संसार पञ्चतत्वले बनेको छ । पञ्चतत्व नष्ट भए हाम्रो जीवन पनि नष्ट हुन्छ । सृष्टिको सुन्दरता बाहिर हेर्दा हनेक छ तर भित्र हेर्दा एक छ । यही रहस्यलाई बुझ्नु ज्ञान हो । आजकलका ज्ञानी मानिसले यो कुरा बुझ्न सकेका छैनन् । ज्ञानी पनि शास्त्र र शास्त्रार्थमा अल्झिएका छन् । आध्यात्मिक दृष्टिले हेर्दा ईश्वर एउटै छन् । व्यवहारिक दृष्टिले हेर्दा ईश्वर अनेक छन् । हामीले ईश्वरलाई देखेर चिन्ह सक्दैनौँ । भौतिक दृष्टिले ईश्वरलाई चिन्ह सकिँदैन । आध्यात्मिक दृष्टि चाहिन्छ, ज्ञानको आँखा चाहिन्छ । भौतिक दृष्टि भनेको अज्ञानको दृष्टि हो । आध्यात्मिक दृष्टि भनेको ज्ञानको दृष्टि हो, दिव्य दृष्टि हो ।
महाभारतको युद्धमा अजुर्नले दिव्य दृष्टिद्वारा श्रीकृष्णको विश्वरुपको दर्शन पाएका थिए । कौरव पक्षका भिष्म पितामह द्रोणाचार्य दुर्योधन आदिले कृष्णको दर्शन पाए पनि चिन्न सकेनन् र आफ्नो जीवनलाई परिवर्तन गर्न सकेनन् । जीवन परिवर्तन नगर्दासम्म ईश्वरलाई चिन्न सकिँदैन । ज्ञानीको र शास्त्रको कुरा सुनेर आफूलाई सुधार्नुपर्छ । पूर्वजहरुको जीवनी पढेर पनि आफूलाई सुधार्न सकिन्छ । खराब बानी छोडे जीवन सुध्रिन्छ । आफू भनेको आत्मा हो । सारा जगत सबैमा आत्मा छ, आत्मा शरीरभित्र लुकेर बसेको छ । अज्ञान पनि शरीरभित्र लुकेर बसेको छ । ज्ञान भए आत्माको अनुभव हुन्छ । आत्मा आँखाले देखिने बस्तु होइन । आत्मा कहिले नाश हुँदैन । देखिने बस्तु सबै नाशवान हुन् ।
यत दृष्टम् तत्नष्टम, हामी नाश हुने बस्तुको पछि दौडिरहेका छौँ । कसरी सुखी हुने ? नाश नहुने बस्तु ज्ञान हो, आत्मा हो । आत्माको ज्ञान नहुँदासम्म सुखको कल्पना गर्न सकिँदैन । आत्मा कस्तो छ ? शास्त्रले भन्छ– अव्यक्त स्वरुप छ, निराकार स्वरुप छ, सत्य स्वरुप छ, नित्य छ, अविनाशी छ । (सत्य ज्ञानं अनन्तं ब्रहम) जीवन के हो ? प्रकृति र पुरुषको सम्बन्ध हो । सुख र दुःखको सम्बन्ध हो । जीवन उज्यालो र अध्यारोको सम्बन्ध हो– जीवन । आजका भौतिकवादले मानवलाई स्वार्थी बनाएको छ । भौतिक पदार्थमा आशक्ति बढ्दै छ । मानिस–मानिस देखि डराउँछ, उहिले मानिस जनावर देखि डराउँथे । प्रकृति र पुरुषको मिलन नै संसार हो । हामी संसारदेखि टाढा रहेर बाच्न सक्दैनौँ । संसारमा नै बसेर जीवनलाई बुझ्नुपर्छ ।
हुनत हामी संसारमा बसेर कर्म गर्छौ तर नबुझिकन धर्म, कर्म गर्दछौँ । शरीरलाई दुःख दिएर मात्र धर्म हुँदैन । यात्री कवितामा महाकवि लक्ष्मीप्रसादले भन्नुभएको छ–
भित्र छ ईश्वर बाहिर आँखा खोजी हिड्छौँ कुनपुर,
ईश्वर बन्दछ गहिराईमा सतह बहन्छौँ कतिदुर,
बुझेर मात्र धर्म कर्म गर्नुपर्दछ, जसबाट सबैको कल्याण होस् । ईश्वरले पनि सबैको कल्याणको लागि कर्म गर्नुहुन्छ । ज्ञान बिनाको कर्म प्राण बिनाको शरीर जस्तो हो । ज्ञानभन्दा ठूलो संसारमा केही छैन । ज्ञान नभए आफूलाई चिन्न सकिँदैन । कर्मकाण्डीले ब्रत गरेर ईश्वरलाई चिन्न सकेका छैनन् । कर्मकाण्ड त साधना हुन् । भौतिकवादीले ईश्वरलाई चिनेका हुँदैनन् । उनीहरु ईश्वर छैन भन्दछन् । व्यवहारिक ज्ञानले ईश्वरलाई चिन्न सकिँदैन । हाम्रो शरीरमा दुई कान र एक मुख छ । यो किन बनेको होला ? यो हामीले धेरै सुनौँ, थोरै बोलौँ भनेर बनेको हो, यो कुरा बुझ्नुपर्छ । हामी धेरै बोल्छौँ थोरै सुन्छौँ । नीतिमा भनेको छ ।
सकृत् जल्पन्ति राजान सकृत् जल्पत्तिन्त पण्डिता ।
सकृत् कन्या प्रदियन्ते तृणेत्राणी सकृत् सकृत् ।।
ठूला मानिस एक पटक मात्र बोल्दछन् । ज्ञानी मानिस पनि एक पटक मात्र बोल्छन् । कन्या दान एक पटक मात्र गरिन्छ । अज्ञानी मानिसले पटक–पटक कुरा फेर्छन् र धेरै बोल्दछन् । बोल्दा सत्य कुरा बोल्नुपर्छ मिठो बोल्नुपर्छ । सत्य बोल्ने मानिस श्रेष्ठ हुन्छ । सत्य बोल्नेलाई र मिठो बोल्नेलाई सबैले प्यारो गर्छन् । सत्य र मिठो बोल्दा केही पैसा लाग्दैन । तैपनि हामी त्यो व्यवहार गर्न कन्जुस गर्छौँ । सत्य बोल्न नसक्ने मानिस लाटो हो । ज्ञानी मानिसले मौन भएर पनि सत्य कुरा बताइदिन सक्छन् ।
मानिस आत्मबोध गर्नलाई सिपालु हुनुपर्छ । परमानन्द प्राप्त गर्नुपर्छ । हामी सबैले खोजेको बस्तु हो– परमानन्द । विषयानन्द त हामी सबैले पाइरहेका छौँ । विषयानन्दबाट सुख र शान्ति हुँदैन । विषयानन्द त पशुले पनि पाएका छन् । हामी त मानिस हौँ । हामीले आफू बस्ने संसारलाई स्वर्ग जस्तो बनाउनुपर्छ । जन्म मृत्यु बाहेक संसारमा मानिसले जे पनि गर्न सक्छ । मुक्तिको ढोका खुल्ला छ, मुक्ति भनेको परमानन्द हो । हामीले परमानन्द प्राप्त गर्न सक्छौँ । कर्म गरेपछि सिद्धि प्राप्त हुन्छ ।
रिद्धि र सिद्धि पनि मुक्ति मार्गका बाधक हुन् । आजकल मानिसले कर्म गरेर सुख हुन्छ भनी एकछिन विश्राम नगरी कर्म गरिरहेका छन् । धन कमाइरहेका छन् तर मानिस सुखी छैनन् । झन् दुःखी बन्दै छन् । जति आशा गयो त्यति मानिस दुःखी हुन्छ । ज्ञान नभइकन मानिस सुखी हुन सक्दैन । मानिसले समयको दुरुपयोग गरिरहेका छन् । पूजापाठ, तीर्थ, व्रतमा समय खर्च गरिरहेका छन् । आत्म ज्ञान नभइकन गरेको पूजापाठले केही फल दिँदैन । आत्मज्ञान गर्न सबैभन्दा पहिले चित्त शुद्ध हुनुपर्छ ।
हामी कसैको पनि चित्त शुद्ध छैन । हुनत आजकल विज्ञानले उन्नति गरेको छ तर वैज्ञानिक पनि सन्तुष्ट छैनन् । किनकि विज्ञान नाशवान् छ । समय बलवान छ । यो शरीर सात धातुको पिजडा हो । हाड, मासु, रगत आदि सात धातुले बनेको छ । यो पिजडा भित्र जीव बसेको छ । यो जीव मुक्त हुन नपाएर छटपटाइरहेको छ । जीवले स्वतन्त्र हुन खोज्छ । आत्मज्ञानको लागि शरीर बाधक हो । शरीर मन, बुद्धि, चित्त र अहंकार नहटाएसम्म जीव स्वतन्त्र हुन पाउँदैन । जीव पनि आत्मा नै हो ।
जीव कहिले मर्दैन । शरीरको मृत्यु भएपछि जीवले अर्को शरीर धारणा गर्छ । जस्तो हामीले पुरानो कपडा फाटेपछि नयाँ कपडा फेर्छौ, त्यस्तै जीवले पनि पुरानो शरीरलाई छाडेर नयाँ शरीरमा प्रवेश गर्छ । ईश्वरले जीवलाई मायाद्वारा कर्मको बन्धनमा घुमाइरहेका छ । ईश्वरको अन्तस्करणमा परेको प्रतिविम्ब जीव हो । जीव भाव रहँदासम्म आत्माको ज्ञान हुँदैन । आत्माको ज्ञान नहुँदै मोक्ष हुँदैन । ज्ञान भए आत्मा आफैभित्र देखिन्छ । जस्तो दुधमा घिउ छ देखिँदैन, तिलमा तेल छ देखिँदैन, आत्मा प्रकृतिभित्र नै लुकेर बसेको छ । साधना गरेर निकाल्नुपर्छ ।
शास्त्रले भन्छ– उठ जाग, शास्त्रमा विश्वास गर । सज्जनको संगत गरी आत्माको बोध गर । आत्माको ज्ञान नहुँदासम्म निद्रा लाग्दैन, जीवन अनन्त छ । यात्रा अनन्त छ । सृष्टि अनन्त छ, ब्रहमाण्ड अनन्त छ । यही अनन्तभित्र अद्धैत आत्मा छ । व्यष्टिमा नै समाप्ती छ । गहिरिएर हेर्ने हो भने आत्मज्ञान गर्न सजिलो छ । आत्मा भनेको आकाश जस्तो हो । आकाश सर्वत्र छ । आकाशबाट वायु बन्छ, वायुबाट तेज बन्छ, तेजबाट जल बन्छ, जलबाट पृथ्वी बन्छ । जस्तो आत्मा सर्वत्र छ, पृथ्वी पनि सर्वत्र छ । आत्मालाई विधि मुखले र निषेध मुखले हेर्नुपर्छ । जस्तो निषेध मुखले हेर्दा पृथ्वी जलमा गएर मिल्छ । जल तेजमा मिल्छ, तेज वायुमा गएर मिल्छ । बायु आकाशमा गएर मिल्छ । आकाश भनेको शून्य हो । यो संसार शून्य हो । शून्य देखिँदैन, नदेखिने नै ईश्वर हो । ईश्वरलाई देख्न सकिँदैन, ईश्वर नै आत्मा हो तर सर्वत्र छ । यो संसारमा करौडौँ प्राणीहरु छन् तर कुरो बुझ्ने प्राणी मानिस मात्र हो । मानिससँग विवेक छ विचार छ । आत्माको ज्ञान गरे अरु संसारमा के बुझ्नु छ र ? सबै आत्मामा छ ।