प्रेरणाको विन्दु÷साँघुरो गिलास होइन, विशाल ताल बनौँ

तुफानबाबु श्रेष्ठ

जीवनमा दुःख, पीडा र चुनौती कसैलाई पनि सोधेर आउँदैनन् । धनी, गरिब, सफल, असफल, शक्तिशाली(कमजोर सबैको जीवनमा कुनै न कुनै रूपमा दुःख आइपर्छ । कतिपय मानिस सामान्य समस्याले पनि विचलित हुन्छन् भने कतिपयले गम्भीर सङ्कटलाई समेत सहजतापूर्वक सामना गर्छन् । आखिर एउटै प्रकृतिका समस्याले मानिसहरूलाई फरक–फरक प्रभाव किन पार्छन् ? यसको उत्तर समस्या कति ठूलो छ भन्नेमा मात्र होइन, त्यसलाई सामना गर्ने हाम्रो मानसिक क्षमता र दृष्टिकोणमा पनि निर्भर हुन्छ ।

एकपटक एक जना नवयुवक आफ्नो जीवनका अनेकौँ समस्याबाट आजित भएर एकजना जेन गुरुको आश्रममा पुग्यो । उसले निराश हुँदै भन्यो, ‘गुरुजी, म आफ्नो जीवनदेखि अत्यन्तै दुःखी र निराश छु । सानातिना समस्याले पनि मलाई विचलित बनाउँछन् । कृपया मलाई यो पीडा र निराशाबाट बाहिर निस्कने उपाय बताइदिनुहोस् ।’ गुरुले उसको कुरा ध्यानपूर्वक सुने । त्यसपछि एउटा गिलासमा पानी भरेर त्यसमा एक मुठी नुन हाल्न लगाए । युवकले गुरुले भनेअनुसार नै ग¥यो ।

केही बेरपछि गुरुले सोधे, ‘अब यो पानी पिएर भन त, यसको स्वाद कस्तो छ ?’ युवकले पानी पिउनेबित्तिकै मुख खुम्च्याउँदै भन्यो, ‘अत्यन्तै नुनिलो ! पिउनै नसकिने गरी तीतो र नराम्रो छ ।’ युवकको प्रतिक्रिया सुनेर गुरु मुस्कुराए । उनले फेरि युवकलाई एक मुठी नुन हातमा लिन लगाए र आफूलाई पछ्याउँदै आउन भने । दुवैजना बिस्तारै हिँड्दै केही पर पुगे । त्यहाँ स्वच्छ र निर्मल पानीले भरिएको एउटा विशाल ताल थियो । तालको किनारमा पुगेर गुरुले युवकलाई भने, ‘अब तिम्रो हातमा भएको नुन यो तालमा हालिदेऊ ।’ युवकले त्यसै ग¥यो । केही समयपछि गुरुले भने, ‘अब तालको पानी पिएर यसको स्वाद बताऊ ।’

युवकले अञ्जुलीमा पानी लिएर पियो । पानीको स्वाद निकै स्वच्छ र मिठो थियो । गुरुले फेरि सोधे, ‘अब भन त, के यो पानी पनि त्यत्तिकै नुनिलो छ ?’ युवकले मुस्कुराउँदै जवाफ दियो, ‘अहँ गुरुजी, यो त निकै मिठो र स्वच्छ छ । यसमा नुनको कुनै स्वाद नै छैन ।’ गुरु युवकको छेउमा बसे । उसको हात समाउँदै शान्त स्वरमा सम्झाए, ‘बाबु, जीवनका दुःख पनि नुनजस्तै हुन् । दुःखको मात्रा जीवनमा घटबढ भइरहन्छ, तर त्यसको उपस्थिति सबैको जीवनमा हुन्छ ।

नुनको मात्रा उति नै थियो, तर सानो गिलासमा हाल्दा पानी पिउनै नसकिने भयो । त्यही नुन विशाल तालमा मिसाउँदा पानीको स्वादमा खासै फरक परेन । यसको अर्थ के हो भने दुःख कति छ भन्ने कुराले मात्र हाम्रो पीडा निर्धारण गर्दैन, हामीले त्यसलाई ग्रहण गर्ने हाम्रो मन कति विशाल छ भन्ने कुराले पनि त्यसको प्रभाव निर्धारण गर्छ ।’ उनले थपे, ‘त्यसैले जीवनमा दुःख आइपर्दा आफूलाई सानो गिलासजस्तो नबनाऊ ।

आफ्नो सोच, धैर्य र सहनशीलताको दायरा फराकिलो बनाऊ । आफूभित्रको क्षमता विस्तार गर । गिलास होइन, विशाल ताल बन ।’ त्यसकारण जीवनमा आउने हरेक समस्या हाम्रो नियन्त्रणमा नहुन सक्छन्, तर ती समस्यालाई हेर्ने र सामना गर्ने दृष्टिकोण भने धेरै हदसम्म हाम्रै हातमा हुन्छ । सानो सोचले सामान्य समस्यालाई पनि पहाड बनाइदिन सक्छ भने विशाल सोच, धैर्य र सकारात्मक दृष्टिकोणले कठिन परिस्थितिलाई समेत सहज रूपमा सामना गर्ने शक्ति दिन्छ ।

त्यसैले दुःखबाट भाग्ने होइन, दुःख सहन र त्यसबाट सिक्न सक्ने आफ्नो क्षमता बढाउने प्रयास गरौँ । मनलाई विशाल बनाऔँ, सोचलाई फराकिलो बनाऔँ र परिस्थितिले जति नै चुनौती दिए पनि आफ्नो आन्तरिक शान्ति गुम्न नदिऔँ । याद राखौँ, जीवनमा दुःखको मात्रा हाम्रो इच्छाअनुसार नघट्न सक्छ, तर त्यसले हाम्रो मनमा पार्ने प्रभाव भने हाम्रो सोच र मानसिक विशालताले बदल्न सक्छ । त्यसैले जीवनका चुनौतीहरूसामु साँघुरो गिलास होइन, विशाल ताल बनौँ ।