घोराही–तुलसीपुर चारलेन सडक विस्तार,१५ महिनामा १७ प्रतिशत भौतिक प्रगति

लीलाधर वली

दाङ, ३ मङ्सिर । घोराही–तुलसीपुर चारलेन सडक विस्तारको काम सुरु भएको करिब १५ महिनाको अवधिमा १७ प्रतिशत भौतिक प्रगति भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६ को हात्तीखौवासम्मको २१ दशमलव ५८ किलोमिटर सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले १५ महिनाको अवधिमा १७ प्रतिशत भौतिक प्रगति गरेको हो ।

यो अवधिमा सडक निर्माणमा करिब १५ प्रतिशत अर्थात् ३७ करोड बढी रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार निर्माण कम्पनीले एक वर्षको समयमा घोराही–तुलसीपुर चारलेन सडक विस्तार अन्तर्गत घोराहीको रतनपुरचोकदेखि तुलसीपुरको बेलझुण्डीसम्मको १४ किलोमिटर सडक खण्डमा माटो कटानसँगै ३८ वटा बक्स कल्भर्ट निर्माण गरेको छ । थप तीन वटा स्ल्याव कल्भर्ट निर्माणाधीन अवस्थामा रहेका छन् । यसैगरी नारायणपुर, खैरा, दुधरास र सौँडीकुला क्षेत्रमा छ किलोमिटर पक्की नाला निर्माण गर्ने काम सकिएको छ । माटो कटान, नाला र कल्भर्ट निर्माणको काम भएका क्षेत्रमा ग्राभेल गर्ने तयारी भइरहेको कार्यालय प्रमुख विष्टले बताए । उनका अनुसार घोराही उपमहानगरपालिका–१० स्थित गुर्जे खोलादेखि तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीसम्म सडक क्षेत्रभित्र पर्ने विद्युतका पोल स्थानान्तरण गर्ने कामसमेत सकिएको छ भने घोराहीदेखि गुर्जे खोलासम्म विद्युत पोल स्थानान्तरणको काम भइरहेको छ । उक्त क्षेत्रमा कल्भर्ट तथा वाल निर्माणको काम भइरहेको छ ।

वर्षाको समय र लगत्तै दसैँ–तिहार पर्व परेका कारण निर्माणको कामले नागरिकले अपेक्षा गरे अनुसार गति लिन नसकेको भन्दै कार्यालय प्रमुख विष्टले अब चाडपर्व सकिएकाले निर्माणको कामले गति लिने बताए । माटो कटान, नाला र कल्भर्ट निर्माण सम्पन्न भएका क्षेत्रमा ग्राभेल गर्ने काम अघि बढाउने तयारी रहेको छ । सडक निर्माणको जिम्मा पाएको दिवा÷बन्दन भगवती जेभीका कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर सुनिल ढुङ्गानाका अनुसार निर्माणको काम लक्ष्य अनुसारै भएको बताउँछन् । वर्षा र लगत्तै चाडपर्व परेका कारण कामले गति लिन नसकेको भए पनि सडकको दायाँबायाँ माटो कटान, खाल्डा पुर्ने तथा नाला, वाल र कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । सडक निर्माणको काम भइरहेको भन्दै प्रतिनिधि ढुङ्गानाले भने, ‘वर्षा समयसँगै चाडपर्व परेकाले कामले गति लिन नसकेको हो । मौसम सफा भएसँगै कामदार आउने क्रम भएकाले अब कामले गति लिन्छ ।’

घोराही–तुलसीपुर चारलेन सडक विस्तारका लागि दुई अर्ब ५३ करोड रुपैयाँमा काठमाडौंको दिवा÷बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माण कम्पनीले गत वर्षको मङ्सिर १ गतेदेखि सडक विस्तारको काम सुरु गरेको थियो । सम्झौता अनुसार २०८५ असार २४ गतेभित्र घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम सम्पन्न गर्नु पर्ने छ । सडक विस्तार अन्तर्गत सहरी क्षेत्रमा फुटपाथसहित ३० मिटर चौडाइ कायम गरिने छ । त्यसमध्ये २० मिटर सडक कालोपत्रे हुने छ भने ग्रामीण क्षेत्रमा १५ मिटर चौडाइमा कालोपत्रे गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । निर्माण कम्पनीले सडक निर्माणका लागि चार वटा एक्स्काभेटर, एउटा ग्रेडर, दुई वटा रोलर, चार वटा ब्याक लोडर, १६ वटा टिप्पर, दुई वटा ट्रेलर, एउटा सानो क्रेन, पाँच वटा ट्याक्टर, दुई वटा पानी ट्याङ्की, एउटा डोजर र ह्वील लोडरसहित ४० सवारी÷उपकरण प्रयोग गरेको छ । निर्माणका लागि आवश्यक पर्ने सामग्रीका लागि क्याम्पमा क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वासर, अस्फाल्ट प्लान्ट र कङ्क्रिट ब्याचिङ प्लान्ट कम्पनीले स्थापना गरेको इन्जिनियर ढुङ्गानाले बताए ।

यस अघि भारतको एक्जिम बैङ्कको ऋण लगानीमा २०७६ सालदेखि घोराही–तुलसीपुर चारेलन सडक निर्माणको काम सुरु भएको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण लामो समयसम्म सडक अलपत्र परेपछि सरकारले २०८० जेठमा भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँगको ठेक्का सम्झौता रद्द गरेर नयाँ ठेक्का आह्वान गरेको थियो । ठेक्कापछि दिवा÷बन्दन भगवती जेभीसँग सम्झौता भएपछि घोराही–तुलसीपुर चारलेन सडक विस्तारको काम अघि बढेको हो ।