जखेरा गाउँमा फेरिएको खानेपानीको अवस्था, स्थानीय खुसी

 प्रिया स्मृति गजमेर
देउखुरी, ३ मङ्सिर । दाङको प्रसिद्ध पर्यटकीयस्थल जखेराताल पानीले भरिभराउ हुन्छ । चारैतिर प्राकृतिक सौन्दर्यले घेरिएको तालमा पानीको पर्याप्त स्रोत भए पनि त्यही तालको काखमा रहेको जखेरा गाउँका बासिन्दाले केही वर्ष अघिसम्म खानेपानीको चरम अभाव झेल्नु परेको थियो । आँखै अगाडि पानीको ठुलो स्रोत भए पनि गाउँलेलाई पिउने पानीको जोहो गर्न सहज थिएन ।

लमही नगरपालिका–३ मा पर्ने जखेरा गाउँमा थारू, क्षेत्री, ब्राह्मण, दलित तथा विभिन्न जनजाति समुदायका मानिसको बसोबास छ । गाउँको साझा समस्या खानेपानी थियो । पानीकै लागि स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । कतिपय अवस्थामा वर्षायाममा धमिलो पानी पिएरसमेत तिर्खा मेटाउनु पर्ने बाध्यता भए पनि अहिले भने गाउँको खानेपानीको अवस्थामा परिवर्तन आएको छ । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले खानेपानीलाई प्राथमिकतामा राखेर योजना अघि बढाएसँगै गाउँका घरघरमा खानेपानीका धारा जडान भएका छन् । घरमै धारा पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ भने वर्षौँदेखिको पानीको समस्या हट्दै गएको छ ।

लमही नगरपालिका–३ को कोहल्वा टोलकी आगन्ती चौधरी घरमै खानेपानीको धारा पुगेपछि खुसी छिन् । विगतमा खानेपानीका लागि गर्नु परेको सङ्घर्ष सम्झँदै उनले वर्षायाममा धमिलो पानी पिएरसमेत तिर्खा मेटाउनु परेको अवस्था रहेको बताइन् । लामो समयसम्म पानीको समस्याले दिएको दुःख स्मरण गर्दै उनले अहिले घरमै धारा पुगेपछि राहत मिलेको बताइन् । जखेरा गाउँकी तीर्था चौधरी पनि घरघरमा खानेपानीको पाइप विस्तार भएपछि खुसी भएको बताइन् ।

उनका अनुसार तीन वर्ष अघि नै गाउँका बासिन्दाले घरमै खानेपानीको धारा व्यवस्थापन हुने अवस्था बनेको हो । ‘पहिले धेरै समस्या थियो । तीन वर्ष अघिदेखि नै गाउँका स्थानीयले खानेपानी पिउन पाएका छौँ । यसका लागि वडा कार्यालयलाई धन्यवाद छ । अब यसैगरी बाटो ग्राभेल र नाला निर्माण गरिदिए हामी आभारी हुने थियौँ’, उनले भनिन् । स्थानीय राजकुमारी चौधरीका अनुसार विगतमा जखेरातालभित्र रहेको एउटा नल्काबाट पानी ल्याएर गाउँलेले दैनिकी चलाउने गरेका थिए । पानीको अभावले दैनिक जीवन नै प्रभावित हुने गरेको स्मरण गर्दै उनले अहिले घरघरमा चौबिसै घण्टा पानी आउन थालेपछि सहज भएको बताइन् ।

यसैगरी मनकुमारी चौधरीले पनि वडा कार्यालयले बजेट विनियोजन गरेर गाउँमा खानेपानीको व्यवस्था गरिदिएपछि राहत मिलेको बताइन् । गाउँमा अझै केही विकास निर्माणका काम बाँकी रहेकाले ती काम पनि क्रमशः पूरा हुने अपेक्षा उनको छ । ‘वडा कार्यालयले बजेट विनियोजन गरेर हाम्रो गाउँमा खानेपानीको पाइप विस्तार गर्दा हामी हर्षित छौँ । अझै केही विकासका काम गर्न बाँकी छन् । ती काम पनि पूरा हुँदै जाने छन् भन्ने आशा छ’, उनले भनिन् ।

केही वर्ष अघिसम्म खानेपानीको चरम अभाव झेल्दै आएको जखेरा गाउँमा २०७९ सालको स्थानीय तह निर्वाचनपछि विकास निर्माणका योजनाले प्राथमिकता पाउन थालेका हुन् । निर्वाचनका बेला जनप्रतिनिधिले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार निर्वाचित भएको पहिलो वर्षदेखि नै वडा कार्यालयले खानेपानी विस्तारका लागि बजेट विनियोजन गरी काम अघि बढाएको थियो ।

लमही नगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले जखेरा गाउँमा खानेपानी पु¥याउनु आफ्नो चुनावी एजेन्डामध्ये एक रहेको बताए । स्थानीयले वर्षौँदेखि भोग्दै आएको समस्यालाई प्राथमिकतामा राखेर प्रतिबद्धता अनुसार खानेपानी विस्तारको काम गरिएको उनको भनाइ छ । उनले खानेपानीसँगै शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा पनि काम गर्न बाँकी रहेको बताए । गाउँको आवश्यकता र उपलब्ध स्रोतसाधनका आधारमा बाँकी योजना क्रमशः पूरा गर्ने प्रयास भइरहेको उनले बताए । वडा सदस्य दौकली नेपालीले पनि स्थानीयको चाहना र आवश्यकताका आधारमा वडा कार्यालयले बजेट विनियोजन गर्दै आएको बताइन् । स्थानीयको माग अनुसार विकास निर्माणका योजना प्राथमिकताका साथ अघि बढाइएको र ती योजना क्रमशः कार्यान्वयन हुँदै गएको उनको भनाइ छ ।

खानेपानीको समस्या समाधानसँगै गाउँमा नाला निर्माण र सडक ग्राभेलका काम पनि अघि बढेका छन् । यद्यपि गाउँको उत्तरतर्फ वन क्षेत्र पर्ने भएकाले दुवैतर्फ नाला निर्माणमा समस्या देखिएको छ । स्थानीयले सडक, नाला, शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा थप सुधारको अपेक्षा गरेका छन् । जखेरातालमा पानी भरिएको दृश्य हेर्न आउने पर्यटकका लागि यो क्षेत्र प्राकृतिक सौन्दर्यको आकर्षण बनेको छ । त्यही तालकै छेउमा बसेर खानेपानीका लागि सङ्घर्ष गर्नु परेका जखेरा गाउँबासीका लागि खानेपानीको सुविधा मात्र नभई वर्षौँदेखिको दुःखबाट प्राप्त राहत बनेको छ ।

विकास भनेको ठुला संरचना निर्माण गर्नु मात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु पनि हो । जखेरा गाउँमा खानेपानी विस्तारसँगै आएको परिवर्तनले यही तथ्यलाई उजागर गरेको छ । स्थानीयले अपेक्षा गरेका सडक, नाला, शिक्षा, स्वास्थ्य तथा कृषिसम्बन्धी आवश्यकता पनि क्रमशः सम्बोधन हुन सके गाउँको समग्र विकासमा थप सहयोग पुग्ने छ ।