दसैं–तिहार बिदामा प्रधानाध्यापकद्वारा विद्यालयमा चित्र

गोरक्ष समाचारदाता
दाङ,२ मंसिर । दसैं–तिहारको विदासँगै अधिकांस विद्यालय बन्द भए । विद्यालय बन्दको समयमा अधिकांस शिक्षकले घरको कामसँगै पारिवारिक भेटघाट, घुमघाम र रमाइला गरि मनाएको भएपनि तुलसीपुर उपमहानगरपालिका–१ छोटेस्थित सृजनशील आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोष परियारले विद्यालयका विभिन्न चित्र बनाएका छन् ।

विद्यालय विदा भएको समयमा बालबालिकालाई सिकाइ हुने विभिन्न चित्रहरू बनाएका हुन । बिदाको समय घर बस्नुको साटो समय मिलाएर विद्यालयका भित्तामा चित्र बनाउने काम गरेका हुन । फूल, जनावर, प्रकृति, शैक्षिक गतिविधिसँग सम्बन्धित चित्रका साथै बालबालिकालाई आकर्षित गर्ने कलात्मक चित्रहरू स्कुलका भित्तामा बनाउने काम गरेको प्रधानाध्यापक परियार बताउँछन् । विद्यार्थीलाई कक्षा कोठामा आकर्षित गर्न र शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन चित्रले बालबालिकालाई सहयोग गर्ने भएकाले विद्यालय विदाको समयमा चित्र बनाउने काम गरेको बताउँछन् । अन्य समयमा समेत चित्र बनाउँदै विद्यार्थीलाई पढाउने काम गर्ने परियारलाई विद्यालयमा चित्र बनाउनका लागि रंग सहयोग निलकृष्ण जसोदा सिटौला फाउन्डेसनले गरेको थियो ।

त्यही रंगबाट प्रधनाध्यापक परियारले निशुल्क रुपमा चित्र बनाउने काम गरेको बताउँछन् । गीत, संगीत र चित्रको माध्यमबाट शिक्षण गर्ने परियार विद्यार्थीलाई संस्थागत स्कुलबाट कसरी सामुदायिकमा फर्काउने भन्ने चिन्तनमा छन् । ‘कक्षा कोठा र स्कुलका भित्तालाई सिकाइको माध्यम बनाउने गरेको छु’,उनी भन्छन,‘विद्यालयको वातावरण रमणीय बनाउन र सिकाइ क्रियाकलाप बालमैत्री बनाउन चित्रको प्रयोग गरिरहेको छु ।’


परियार कलात्मक र सिर्जनशील तरिकाले शिक्षण गरेका भिडियो सामाजिक सञ्जालमा पनि पोस्ट गर्छन् ।जसले गर्दा परियारलाई सामाजिक सञ्जालमा धेरैले ‘भाइरल सर’ भनेर चिन्ने गरेका छन् । सानैमा बुबाआमा गुमाएका परियारले निकै संघर्ष गर्दै आफूलाई एक शिक्षक हुँदै प्रधानाध्यापकसम्म पु¥याउन सफल भएको बताउँछन् । ६ कक्षा पढ्दापढ्दै बुबा र ८ कक्षा पढ्दा आमाको निधन भएपछि १४ वर्षको उमेरमा परियारले घरको आर्थिक भार बोक्नु परेको थियो । एक दिदी, एक बहिनी र एक भाइलाई संरक्षण गर्दै उनले अध्ययन यात्रा अघि बढाएका थिए ।

१२ कक्षासम्म विभिन्न सहयोग पाएर पढेपछि परियारले १२ कक्षा उत्तीर्ण गर्नेबित्तिकै शिक्षक सेवा आयोगमा आवेदन दिए । पहिलोपटकमै उनको निमावि तहको अंग्रेजी शिक्षकमा नाम निकाले । त्यसपछि काम गर्दै पढ्दै गरेर स्नातक पूरा गरेको बताउँछन् । २०७१ सालदेखि बबई गाउँपालिका–१ गंगटेस्थित सरस्वती जनता माविबाट शिक्षकको स्थायी जागिर सुरु गरेका थिए । १० कक्षा उत्तीर्ण भएदेखि नै पढाउन सुरु गरेका परियार शिक्षणमा जहिले पनि सिर्जनशील र रचनात्मक विधिहरू अवलम्बन गर्थे । गीत, संगीत, चित्र, अभिनय र व्यावहारिक अभ्यासका अनेक उपाय गरेर उनले शिक्षण गर्ने भएकाले शिक्षक र विद्यार्थीकामाँझ फरक पहिचान बनाए ।

दुई वर्ष गंगटेमा पढाएपछि तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरस्थित जनज्योति माविमा पाँच वर्ष पढाए । त्यसपछि तुलसीपुरकै बालमितेरी मावि भोजपुर हुँदै हाल सिर्जनशिल आधारभूत विद्यालय छोटेमा पढाउँदै आएका छन् । मानिसको अनुहार हेरेर जस्ताको त्यस्तै चित्रमा उतार्न सक्ने क्षमता भएका प्रधानाध्यापक परियार यही कलाका कारण चर्चामा समेत रहने गरेका छन् । विद्यार्थीलाई सिर्जनात्मक रुपमा पढाउन भूमिका खेल्ने शिक्षक परियारलाई गतबर्ष निलकृष्ण जसोदा सिटौला फाउन्डेसनलले गतबर्ष सम्मान समेत गरेको थियो ।