‘कांग्रेसको आन्तरिक निर्वाचन अस्वस्थ प्रतिस्पर्धाको माध्यम बन्नु हुँदैन’

दाङ,२ मंसिर । नेपाली कांग्रेसका नेताहरूले पार्टीको आन्तरिक निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धाको माध्यम बनाउन नहुने बताएका छन् । बुधवार घोराहीमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्ने नेताहरुले पार्टीको आन्तरिक निर्वाचन कसैलाई सिध्याउने वा कमजोर बनाउने उद्देश्यले हुन नहुनेमा जोड दिएका हुन् ।

पार्टीको प्रदेश महाधिवेशनलाई लक्षित गरी दाङ आएका प्रदेश पदाधिकारीहरूको उपस्थितिमा भएको छलफल कार्यक्रमका सहभागी नेताहरूले आन्तरिक निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पार्टीको नीति, योजना र भावी रणनीतिका विषयमा समेत छलफल भएको थियो । नेताहरूले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस सबल र सशक्त हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए । छलफलमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनेश्वर श्रेष्ठ, महामन्त्री सुरेन्द्र आचार्य, सहमहामन्त्री खगराज पाण्डे, कोषाध्यक्ष प्रकाश राणा र निवर्तमान केन्द्रीय सदस्य लीला नेपालीलगायतले धारायणा राखेका थिए ।