संस्कृत विश्वविद्यालय सभाको ७९औँ बैठक, एक अर्ब ५८ करोड बढी बजेट स्वीकृत

गोरक्ष समाचारदाता
दाङ, १९ कात्तिक । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७९औँ बैठक सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति सस्मित पोख्रेलको अध्यक्षतामा शिक्षा मन्त्रालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२÷०८३ को शैक्षिक कार्यक्रम र ०८३÷०८४ को आय–व्यय विवरण पारित गरेको छ । सभाले कार्यकारी परिषद् तथा प्राज्ञिक परिषद्सम्बन्धी नियुक्तिका प्रस्तावहरू पारित गर्नुका साथै आर्थिक वर्ष ०८३÷०८४ का लागि प्रस्तावित एक अर्ब ५८ करोड ५० लाख रुपैयाँको बजेट स्वीकृत गरेको हो ।

सभाले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाको प्रस्ताव पारित गरेको छ । विश्वविद्यालयको आयोजनामा अन्तर्राष्ट्रिय योग सम्मेलन (ग्लोबल योग समिट २०२६÷०२७) आयोजना गर्ने प्रस्तावलाई सभाले स्वीकृति प्रदान गरेको छ । २०८३ चैत महिनाको अन्तिम सातामा विश्वविद्यालयको केन्द्रीय परिसर, बेलझुण्डी, दाङमा सम्मेलन आयोजना गरिने छ । सम्मेलनमा कम्तीमा ३० देशका योगसाधक, योगविज्ञ तथा सम्बन्धित विषयका विशेषज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । विश्वविद्यालयको अतिक्रमित जग्गासम्बन्धी विषयलाई विशेष प्राथमिकताका साथ छलफल गर्दै जग्गाको वास्तविक अवस्था र स्वामित्वसम्बन्धी विषयमा अध्ययन गर्न आधिकारिक समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले विश्वविद्यालयको जग्गाको स्वामित्व नेपाल संस्कृत विश्वविद्यालयकै नाममा कायम हुने आधारसहित ठोस प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णयसमेत सभाले गरेको छ ।

यसैगरी २०७७ सालदेखि दीक्षित हुन बाँकी रहेका विद्यार्थीलाई लक्षित गरी छैठौँ दीक्षान्त समारोह चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने प्रस्ताव सभाबाट पारित भएको छ । विश्वविद्यालयको शैक्षिक उन्नयन, संस्थागत सुदृढीकरण, सम्पत्तिको संरक्षण, अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि तथा योग र पूर्वीय ज्ञान परम्पराको विश्वव्यापी प्रवर्धनका दृष्टिले सभाबाट भएका यी निर्णयहरू महत्वपूर्ण रहेको विश्व विद्यालयका उपकुलपति भीमप्रसाद खतिवडाले बताए ।