घोराही १९ कात्तिक । सञ्जीवनी शिक्षण अस्पतालमा छुट्टै इमर्जेन्सी युनिट गठन गरिएको छ ।
घोराही उपमहानगरपालिका–३ बर्गदुवामा रहेको अस्पतालले आकस्मिक तथा दुर्घटनामा परेका बिरामीलाई छिटो, छरितो र प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले छुट्टै ‘इमर्जेन्सी एण्ड ट्रमा युनिट’ गठन गरी सेवा शुभारम्भ गरेको हो । अस्पतालले आकस्मिक उपचार सेवालाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यसहित मेडिकल डाइरेक्टर डा. बाचस्पति सुवेदीको संयोजकत्वमा ११ सदस्यीय युनिट गठन गरेको छ ।
नवगठित युनिटले सवारी दुर्घटना, विभिन्न प्रकारका चोटपटक तथा अन्य आकस्मिक दुर्घटनामा परेका बिरामीको उपचारलाई प्राथमिकतामा राखेर काम गर्ने अस्पतालले जनाएको छ । गठित युनिटको सदस्यमा न्युरो सर्जन डा. मुसाफिर आलम, जनरल सर्जन डा. रविन आचार्य, एनेस्थेसिया विशेषज्ञ डा. शिशिर खड्का, अर्थोपेडिक्स विशेषज्ञ डा. दुर्गा बेलबासे, रेडियोलोजिस्ट डा. बोम बिसी, अस्पताल व्यवस्थापक मदनप्रसाद पन्थी, मेट्रोन सिर्जना ढकाल, फार्मेसी इन्चार्ज अजय कोइराला, ल्याब इन्चार्ज लक्ष्मण ज्ञवाली र इआर इन्चार्ज सिर्जना घिमिरे रहेका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर तथा युनिटका संयोजक डा. सुवेदीका अनुसार दुर्घटनामा परेका बिरामीलाई समयमै उपचार उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार तत्काल शल्यक्रिया लगायतका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले युनिट गठन गरिएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार इमर्जेन्सी एण्ड ट्रमा युनिटमार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइनेछ । यसले दुर्घटनामा परेका तथा गम्भीर प्रकृतिका आकस्मिक बिरामीलाई समयमै उपचार पाउन सहज हुने अस्पतालको विश्वास छ ।
विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक उपचार सेवाहरूलाई एउटै युनिटमा समन्वय गरी सञ्चालन गरिने यो व्यवस्थाले दाङसहित आसपासका जिल्लाका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।