पद, प्रतिष्ठा र पैसा सबै होइन

नारायणप्रसाद श्रेष्ठ

हातको मैलो सुनको थैलो के गर्नु धनले देवकोटाको मुनामदन काव्यमा उल्लेख गरेका वाक्य हुन् । सामाजिक जीवनशैली कस्तो हुनुपर्छ, जीवनले खोजेको सुहानुभूति के हो आदि कुरालाई निकै सावधानीपूर्वक सम्बोधन गर्दै सामाजिक जीवनको धरातललाई समेत यसले उजागर गर्न खोजेको छ । अहिले मानवीय चरित्र यसले देखाएको बाटोको विपरित तछाडमछाड गरेको देखिन्छ ।

वर्तमान समयलाई नियालेर हेर्ने र त्यसबाट उत्पन्न हुने सामाजिक धरातललाई बुझ्ने हो भने अहिले मानवीय जीवनशैली व्यक्तिवादी सोच र चिन्तनले गाँजिएको देखिन्छ । मै खाउ मै लाउ मै मोजमजा गरु भनी अहंकार र घमण्डले मानवीय जीवन संकुचित घेराभित्र खुम्चिएको जस्तो देखिन्छ । पैसा, पद र प्रतिष्ठा नै सबै हो भन्ने गरी मानिसको दौड धुप बढेको देखिन्छ । एकले अर्कालाई लडाउने भिडाउने पछार्ने बाहेक मैले मात्र होइन उसले पनि अवसरको सदुपयोग गर्न पाउनु पर्छ भन्ने सोच निकै कमजोर छ ।

बिहान उठेदेखि राति ओच्छ्यानमा नसुतेसम्म केवल म मेरो बाहेक अरुको बारेमा चिन्तन गर्न मानिसले छोडिसकेको पाइन्छ । हामी र हाम्रो भन्ने संस्कार कमजोर छ । समयको गतिसँगै वातावरणमा आउने परिवर्तन, परिवर्तनसँगै जीवनमा देखिने उतारचढाव, जीवनको गतिशिलतामा हुने विविधता, सोच, चिन्तन र विचारमा हुने परिवर्तन तथा परिवर्तन पछि आउने सत्यलाई समेत अहिले मानव चिन्तनले स्वीकार्न नसकेको देखिन्छ । सत्य सधै सत्य हुन्छ भन्ने सोच नै कमजोर भएको पाइन्छ ।

वास्तवमा यहीनेर मानव जीवनले आफूले आफैलाई धोका दिएको देखिन्छ । परिस्थिति जस्तोसुकै भए पनि मानिसको चिन्तन अहंवादी चिन्तनभित्र गुम्सिएको छ । तसर्थ समय, काल र अवसर सधै एउटै गतिमा दौडिरहन्छ भन्ने मानसिकता हटाई समय गतिशिल छ । यो सत्लाई स्वीकारी भविष्यमा आइ पर्ने जुनसुकै कठिनाइको सामना हामी आफैले समाधान गर्दै अघि बढ्नु पर्छ भन्ने मानसिकता जगाई प्रत्येकले प्रत्येकको आदर सत्कार र सहयोगी बनी जीवनलाई चलायमान बनाउनु बुद्धिमानी हुन्छ । जीवनले खोजेको सामाजिक मान्यतालाई अंगिकार गर्न समयले भनिरहेको छ ।

पैसा सबै हो यसले जे पनि किन्न पाइन्छ । मानिसलाई दास बनाइ पिछलग्गु बनाउन सकिन्छ भन्ने हिजोको जुन चिन्तन थियो । २१औँ शताब्दीमा आएर त्यो कमजोर भइसकेको छ । प्रत्येक मानव आत्मा आफैमा योग्य र जानकार भइसकेका छन् । के राम्रो के नराम्रो त्यो छुट्टयाउने सामर्थ अब सबैमा जागृत भइसकेको अवस्था छ । मेरो गोरुको बाह्रै टक्का भन्ने हिजोको उखान अहिले छैन । हिजो जसरी पैसाको माध्यम मानिसलाई दास बनाउने अवस्था थियो अहिले त्यो निकै कमजोर भइसकेको छ । अर्को कुरा पैसाले सबै गर्न सकिन्छ भन्ने सोच अहिले गलत सावित हुँदैछ । पैसा साधन हो साध्य होइन भन्ने मानसिकता सबैमा बोध भइसकेको छ ।

म र मेरो अस्तित्व पैसा मा होइन इमानदारी र नैतिक धरातलमा रहेर व्यवहार गर्नुमा श्रेयकर छ भन्ने विवेक अहिले जवरजस्त अगाडि आइरहेछ । यही पैसा जसले मानिसलाई विवेकहीन पनि बनाउँछ । उच्च सम्मानको भागिदार पनि बनाउँछ । त्यति मात्र होइन नैतिक पतन गराउनमा पनि पैसाले महत्वपूर्ण भूमिका निभाउन खोजेको देखिन्छ । नीति र नैतिकता बिनाको जीवन सामाजिक कलंक हो यो पनि यही पैसाले बनाएको हुन्छ । यो कुरालाई मनन गरी जीवनको आरोह, अवरोहमा समाधानको साधन बनेको पैसालाई आवश्यकताको आधारमा प्रयोग गर्ने बानी गरौँ । समय त्यही भन्दै छ । सामाजिक जीवनशैलीमा पैसाको धेरै महत्व हुँदा हुँदै पनि यसलाई प्रयोग गर्न जानिएन भने यही पैसा जीवनको अभिसाप पनि बन्दछ ।

हो ! पैसा जीवन जिउन नभई नहुने साधन हो । सामाजिक जीवनलाई चलायमान बनाउन यसले निकै महत्वपूर्ण भूमिका राख्दछ । पैसा छैन भने जीवन अधुरो पनि हुन्छ यो पनि सत्य हो तर बुझ्नु पर्ने के हो भने पैसा सबै होइन यो एक साधन मात्र हो साध्य होइन । यसलाई सदुपयोग गर्न जाने यो जीवनको महत्वपूर्ण पाटोमा आई सफलता उन्मुख हुन्छ भने नजाने दुर्गति । मानिसले पैसालाई प्रयोग गर्ने हो, पैसाले मानिसलाई प्रयोग गर्ने होइन । पैसा सबै हो, सबै पनि होइन । पैसालाई हामी जसरी लक्ष्मीको रुपमा पुज्दछौँ । मान सम्मान र इज्जतका साथ यसको गरिमालाई उच्च सम्मान दिन्छौँँ ।

सामाजिक रुपान्तरणमा यसको भूमिकाबारे चिन्तन गर्छौ । नैतिक आचरण र व्यवहारबाट नै यसको गतिशिलताप्रति विश्वास र भरोसा गर्छौ त्यसरी नै जीवनको प्रत्येक गतिशिलतामा यसको सही सदुपयोग गर्नु हामी सबैको दायित्व र जिम्मेवारी पनि हो । यही पैसा अहंकार र घमण्डको कारक हो भने यही पैसा इमानदारी र नैतिक चरित्रको उत्कृष्ट उपहार पनि हो । त्यसैले म मेरो भित्र हुर्कन खोजेको पैसाको अहंकारपन परित्याग गरी आवश्यकताको आधारमा यसको सदुपयोग गर्न हामी सबैको चिन्तन बढ्नु जरुरी छ । वर्तमानमा राष्ट्र र राष्ट्रियताप्रति जति पनि प्रश्न उठेका छन्, भ्रष्टाचार, अन्याय अत्याचारको समाचार दिनहुँजसो आइरहेको छ यो सबै पैसाको महत्व र गरिमालाई लत्याउनु हो भन्ने कुरा छर्लंग भएको छ ।

चिनी धेरै खाए तितो हुन्छ यही तितो सत्यलाई प्रयोग गर्न नजान्नु जीवनलाई अधोगतिमा धकेल्नु हो । यो सबैले स्वीकार्न जरुरी छ । भोलिको भविष्य के छ, जन्मपछि मर्नु पर्छ, मरेर जाँदा साथमा के लिएर जाने हो ? जन्म नाङ्गो, मर्नु नाङ्गो भनी थाहा पाउँदा पाउँदै पनि भौतिक सम्पत्ति जोड्न, पैसा कमाउन, एकले अर्कालाई ठग्न मानिसको दौडघुप किन बढी रहेछ ? यो प्रश्न निकै पेचिलो छ । फलाना व्यक्ति त यति योग्य र राम्रो थियो कि उ सधै अरुको सेवा र सत्कारमा समर्पण हुन्थियो, त्यसतर्फ मानव चिन्तन कमजोर छ । तसर्थ सत्य कर्म गर्न हामी किन पछि, यो सबैले मनन गरौँ ।

अर्को कुरा पद र प्रतिष्ठा क्षणिक समयको लागि सामाजिक धरातलमा एकले अर्कालाई सहयोग र सद्भाव कायम गर्न तथा अफ्ठेरो परेकोलाई सफ्ठेरो बनाउन भूमिका खेल्ने कार्यको रुपमा क्षणिक समयको लागि निर्धारण गरिएको साधन मात्र हो । योग्यता र क्षमताको आधारमा निर्धारण गरिने यस्तो व्यवस्था जुनसुकै समयमा हटाउन बढाउन सकिन्छ । यो राज्य सञ्चालन प्रक्रियाभित्र पर्ने कुरा हुन् । यसले जुनसुकै बेलारुप बदल्न सक्छ । कुन कहाँ कसरी सहयोगको वातावरण सिर्जना गर्ने यो नीतिले निर्धारण गरेको हुन्छ । यस्तो किसिमको जिम्मेवारी निश्चित समयको लागि निर्धारण भएको हुन्छ, यदि यसबेला सेवा लिने र दिने अवस्थामा कुनै गलत काम गरियो भने क्षणिक समयको लागि त यसले केही राहत भएको महसुस होला तर पछि यो जीवनको सबैभन्दा घिनौना कर्म हुन पुग्दछ ।

जसको फलस्वरुप जीवनमा पछुताउने बाहेक अरु केही बच्दैन । तसर्थ जीवनमा यदि जिम्मेवारी आउँछ भने त्यो केही समयको लागि हो भनी नीति र नैतिकतामा आधारित कर्मद्वारा आफूलाई समाजमा मर्यादित भएर बाच्ने आधार तयार गर्नुपर्दछ । थोरै समयको लागि प्राप्त भएको पद र प्रतिष्ठालाई यो मेरो मेहनत र पसिनाले आर्जेको सम्पत्ति हो भनी अहंकार वश कुनै अप्रिय र नैतिक पतन हुने कार्य गरिन्छ भने यसले ल्याउने परिणाम निकै कष्टकर हुन्छ । पछि समाजले पनि त्यही कर्मको कारण अपहेलित गर्न पुग्दछ । अपहेलित र कलंकित भएर बाच्नु पर्ने अवस्था आउनु भनेको जीवन असफल हुनु हो ।

समाजबाट बहिस्कृत हुनु हो । सामाजिक कलंक बोक्नु भनेको जीवन असफल हुनु हो । तसर्थ असल संस्कार र संस्कृतिबाट हुर्केको हाम्रो जीवन पद्धतिलाई बुझेर प्रत्येकले आफूलाई नैतिकवान बनाउन लागि पर्नुपर्दछ । आचरण र व्यवहारमा पवित्रता झल्कने कार्य गर्नुपर्दछ । नीति र नैतिकतामा आधारित आचरण र व्यवहार गर्नुपर्दछ ।

समय अनुकुल यदि यसलाई प्रयोग गर्न जानिएन अहंकार र घमण्ड स्वरुप यसको गरिमालाई कायम गर्न सकिएन भने यसले निम्त्याउने जुन परिणाम हो यो निकै भयावह र खतरनाक हुन पुग्दछ । तसर्थ जीवनको गतिशीलतामा पैसा, पद र प्रतिष्ठा नै सबै हो भन्ने मानसिकताभित्र हुर्कन थालेको गलत मानसिकतालाई जरैदेखि हटाउन जरुरी हुन्छ । किनकी गलत मनसाय देखिए सामाजिक प्रतिष्ठामा उसले प्राप्त गरेको जुन किसिमको सम्मान छ । त्यो धुलोमा मिल्न गई उसलाई सामाजिक कलंक लाग्न पुग्दछ ।

त्यसैले पैसा, पद र प्रतिष्ठालाई सदुपयोग गर्न जान्नुपर्दछ । यसको सही सदुपयोगले जीवन हिरासरी चम्किन्छ भने गलत हुन गयो भने उसलाई सामाजिक कलंक लाग्न थाल्दछ । त्यसैले जीवनको आरोह अवरोहमा आउने जति पनि अवसर छन् त्यो अवसरलाई सही सदुपयोग गरी पद, प्रतिष्ठा र पैसाभन्दा इमान्दारिता नै सबै हो भन्ने सोच गरी उसको मर्यादाअनुसार परिपालन गर्नुपर्दछ । यो समयले दिएको सन्देश हो । चेतना भया ।