विकास निर्माणसँगै प्रभावकारी सेवा प्राथमिकतामा : वडाध्यक्ष चौधरी [अन्तर्वार्ता]

२०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लमही नगरपालिका वडा नं. ३ का अध्यक्ष मनोजकुमार चौधरीले वडाको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि बढाउँदै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि तथा पशुपालनलगायतका क्षेत्रमा नागरिकको आवश्यकता सम्बोधन गर्नेगरी काम भइरहेका छन् । जनताका अपेक्षा बढिरहेको समयमा सीमित बजेट र स्रोतसाधनका कारण सबै समस्या एकै पटक समाधान गर्न चुनौती रहेको देखिन्छ । यसै सन्दर्भमा वडा अध्यक्ष मनोजकुमार चौधरीसँग गोरक्षकर्मी प्रियास्मृति गजमेरले वडामा भएका विकास निर्माण, सेवा प्रवाह र आगामी योजनाका विषयमा गरेको कुराकानीको सारसंक्षेप ।

 वडाको नेतृत्वमा आउनुभएको करिब चार वर्ष भयो, यो अवधिमा वडाको विकासका लागि के–कस्ता काम गर्नुभएको छ ?

 वडाबासीको कामलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कामकाज प्रवाह भइरहेको छ । निर्वाचित भएर आएपछि वडाको आवश्यकता र नागरिकका अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, पशुपालन र पूर्वाधार विकास हाम्रा मुख्य प्राथमिकता हुन् । वडामा रहेका समस्या पहिचान गरेर उपलब्ध बजेट र स्रोतसाधनअनुसार योजना छनोट गर्ने गरेका छौँ । नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकता दिएका छौँ । सबै समस्या एकै पटक समाधान गर्न सम्भव नभए पनि क्रमशः सुधार गर्दै वडालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने प्रयास भइरहेको छ ।

नागरिकलाई प्रविधिमैत्री बनाउन कम्प्युटरका आधारभूत तथा डिप्लोमा कार्यक्रम सञ्चालन, थारू कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि बढका नाच कार्यक्रम सञ्चालन, स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन च्याउ उत्पादनसम्बन्धी तालिम तथा बजेटको व्यवस्था, महिलाको सिप विकास र आर्थिक आम्दानी वृद्धि गर्न झोला बनाउने तालिम सञ्चालन गरिएको छ । त्यस्तै महिलालाई सिपमूलक तथा स्वरोजगार बनाउन कटाई–सिलाई तालिमको व्यवस्था, आर्थिक वर्ष २०८२÷८३ मा युवालाई रोजगारमुखी सिप प्रदान गर्न इलेक्ट्रिकल तथा वायरिङ तालिम सञ्चालन, युवा तथा युवतीको व्यक्तित्व विकास, खेलकुदप्रतिको रूचि अभिवृद्धि र प्रतिभा प्रस्फुटनका लागि वडा कप सञ्चालन जस्ता महत्वपूर्ण कार्यक्रमका लागि बजेट विनियोजन गरी कार्यक्रम सम्पन्न गरेका छौँ ।

 वडामा पूर्वाधार विकासका लागि के–कस्ता काम भएका छन् ?

 सडक र नाली निर्माणलाई हामीले प्राथमिकतामा राखेका छौँ । वडाका विभिन्न टोलमा सडक स्तरोन्नति, ग्राभेल, कालोपत्रे तथा पक्की नाली निर्माणका काम भएका छन् । हाल मजगाउँको प्रियसी टोलमा १० लाख रूपैयाँ बजेटबाट ११७ मिटर पक्की नाली र ११५ मिटर सिँचाइ नहर निर्माण भइरहेको छ । यसबाट वर्षायाममा पानी निकास र किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन सहयोग पुग्नेछ । त्यस्तै, बड्का गल्लीमा दुवैतर्फ पक्की नाली निर्माण गरिएको छ । सडक कालोपत्रे गर्ने योजना पनि अघि बढाइएको छ । पुलपुलेसा तथा कल्भर्ट आवश्यक भएका स्थानमा पनि क्रमशः काम गर्दै आएका छौँ तर सबै सडक पक्की भइसकेका छैनन् । केही बस्तीमा अझै सडक स्तरोन्नति र नाली निर्माण आवश्यक छ । नागरिकका आवश्यकतालाई ध्यानमा राखेर आगामी योजनामा यी विषयलाई प्राथमिकता दिनेछौँ ।

 शिक्षा क्षेत्रको सुधारका लागि वडा कार्यालयले के–कस्ता पहल गरेको छ ?

 शिक्षा समाज विकासको आधार हो । त्यसैले विद्यालयको भौतिक पूर्वाधार सुधार, विद्यार्थीलाई सहज शैक्षिक वातावरण र गुणस्तरीय शिक्षामा हाम्रो ध्यान केन्द्रित छ । विद्यालयमा आवश्यक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि नगरपालिका र सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबिच सहकार्य आवश्यक हुन्छ । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य छ । आगामी दिनमा पनि शिक्षालाई प्राथमिकतामा राखेर काम गर्नेछौँ । बितेको अघिल्लो आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि वडाले आर्थिक सहयोग समेत गरेको छ । बालजनता माध्यमिक विद्यालय वनगाउँमा इएससीएजी ३ वर्षे डिप्लोमा, आदर्श नमुना माध्यमिक विद्यालय देउपुरमा सिभिल इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराएको छ ।

 तपाईंको वडामा भूमिहीन सुकुम्बासीको अवस्था कस्तो छ ? हालसम्म कति जनाले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् ?

 निकै महत्वपूर्ण प्रश्न गर्नुभयो धन्यवाद । हाम्रो वडा नं. ३ मा आफ्नै जग्गा नभएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको सङ्ख्या उल्लेख्य छ । वडामा १३ जना भूमिहीन दलित, २१५ जना भूमिहीन सुकुम्बासी र ५८२ जना अव्यवस्थित बसोबासी गरी जम्मा ८१० जना रहेका छन् । तीमध्ये ऐलानी तथा पर्ती जग्गामा बसोबास गर्दै आएका २५ जनालाई जग्गाधनी लालपुर्जा वितरण गर्न सफल भएका छौँ । वर्षौँदेखि आफ्नै जग्गाको स्वामित्व प्राप्त गर्ने आशामा रहेका नागरिकलाई लालपुर्जा उपलब्ध गराउन सक्नु हाम्रो कार्यकालको एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । यसलाई मैले हाम्रो कार्यकालको स्वर्णिम उपलब्धिका रूपमा लिएको छु । हाम्रो वडामा जग्गाको नापजाँच, आवश्यक कागजात सङ्कलन तथा प्रमाणीकरण लगायतका प्रक्रिया पूरा भइसकेका छन् । अब बाँकी रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः जग्गाधनी लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ । वर्षौँदेखि जग्गाको स्वामित्व नपाएका नागरिकलाई आफ्नै जग्गाको मालिक बनाउने अभियानलाई सफल बनाउन वडा कार्यालय निरन्तर लागिरहेको छ ।

 विद्यालयको भौतिक तथा शैक्षिक अवस्था कस्तो छ ? सुधारका लागि के प्रयास भइरहेका छन् ?

 शिक्षा क्षेत्रको विकास र सुधार हाम्रो प्राथमिकताभित्र पर्ने महत्वपूर्ण विषय हो । वडा नं. ३ मा रहेका विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न हामीले विभिन्न प्रयास गर्दै आएका छौँ । विद्यालयमा विद्यार्थीका लागि सहज पठनपाठनको वातावरण निर्माण गर्ने, आवश्यक भौतिक संरचनाको व्यवस्थापन गर्ने र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेका छौँ । विद्यालयमा आवश्यक भवन, कक्षाकोठा, शौचालय, खानेपानी तथा अन्य पूर्वाधारको व्यवस्थापनका लागि नगरपालिका र सम्बन्धित विद्यालयसँग समन्वय गर्दै आएका छौँ । विद्यालयको भौतिक संरचना राम्रो भए मात्रै शैक्षिक गुणस्तर कायम हुँदैन, त्यसका लागि शिक्षण सिकाइ प्रक्रिया पनि प्रभावकारी हुनुपर्छ । त्यसैले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबिच राम्रो समन्वय र सहकार्य हुन आवश्यक छ । हाम्रो उद्देश्य सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउनु र बालबालिकाले आफ्नै गाउँठाउँका विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउनु हो । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।

 स्वास्थ्य सेवाको पहुँच र वडामा स्वास्थ्य सेवा कस्तो छ ?

 स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न टिकुलीगढस्थित नगर स्वास्थ्य केन्द्र महत्त्वपूर्ण बनेको छ । वडाका सातवटै गाउँका नागरिकलाई लक्षित गरी सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नियमित खोप तथा पोषणसम्बन्धी सेवा उपलब्ध हुँदै आएका छन् । यसले सामान्य उपचारका लागि लमही अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गरेको छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्थापनमा नगरपालिकासँग समन्वय गरिरहेका छौँ ।

 वडा नं. ३ का सबै नागरिकले स्वच्छ र नियमित खानेपानी पाएका छन् ?

 खानेपानीको पहुँच विस्तार र उपलब्ध स्रोतको व्यवस्थापनका लागि सम्बन्धित उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गर्दै आएका छौँ । केही क्षेत्रमा खानेपानीको सुविधा सहज भए पनि सबै बस्तीमा समान रूपमा सुविधा पुगेको अवस्था छैन । खानेपानीको नियमितता, गुणस्तर र वितरण प्रणालीमा सुधार गर्नु पर्ने आवश्यकता छ । बाँकी रहेका समस्या समाधानका लागि आगामी योजनामा प्राथमिकता दिनेछौँ । स्वच्छ खानेपानी नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई महत्वका साथ लिएका छौँ ।

 कृषि तथा पशुपालनमा के कस्ता कार्यक्रम सञ्चालन भएका छन् ?

 हाम्रो वडामा धेरै नागरिक कृषि तथा पशुपालन पेसामा निर्भर छन् । त्यसैले कृषि र पशुपालन क्षेत्रको विकासलाई हामीले प्राथमिकतामा राखेका छौँ । किसानको उत्पादन र उत्पादकत्व बढाउन सिँचाइ सुविधा, कृषि सडक, उन्नत कृषि प्रविधि तथा उत्पादनको बजारीकरण महत्वपूर्ण छन् । कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि नगरपालिका र सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने, पशुपालनलाई व्यवस्थित बनाउने र स्थानीय उत्पादनको बजार सुनिश्चित गर्ने विषयमा पनि हाम्रो ध्यान छ । आगामी दिनमा कृषि तथा पशुपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउने गरी कार्यक्रम अघि बढाउने योजना छ । किसानलाई है हाइब्रेड जातको उन्नत धानको बिउ, मकैको बिउ ५० प्रतिशत अनुदानमा तथा घाँसको बिउ वितरण गर्दै आएका छौँ ।

 किसानका समस्या समाधान गर्न वडा कार्यालयले के पहल गरिरहेको छ ?

 किसानले मुख्य रूपमा सिँचाइ, मलखाद, उन्नत बिउबिजन, कृषि उत्पादनको उचित मूल्य र पशु स्वास्थ्य सेवासम्बन्धी समस्या भोग्दै आएका छन् । यी समस्या समाधानका लागि वडा कार्यालयले नगरपालिका, कृषि तथा पशु सेवा शाखा र सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ । किसानलाई आवश्यक प्राविधिक परामर्श तथा सेवा उपलब्ध गराउने र कृषि उत्पादनमा सहयोग पुग्ने पूर्वाधार निर्माण गर्ने हाम्रो प्रयास छ । यसै क्रममा मजगाउँको प्रियसी टोलमा ११५ मिटर सिँचाइ नहर निर्माण भइरहेको छ । यसबाट स्थानीय किसानलाई खेतीपातीका लागि सिँचाइ सुविधा पुग्ने अपेक्षा गरेका छौँ । किसानका वास्तविक समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने र आगामी दिनमा कृषि तथा पशुपालनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ । उत्तर फल्कापुरमा बोरिङ्ग सिँचाइका लागि पक्कि नाली निर्माणको काम भएको छ ।

 वडा कार्यालयबाट सेवा प्रवाहमा कुनै समस्या छन ?
 हामीले सकेसम्म छिटो, सहज र पारदर्शी सेवा दिने प्रयास गरेका छौँ । नागरिकका गुनासा सुन्ने, आवश्यक सिफारिस तथा प्रशासनिक सेवा उपलब्ध गराउने र विकास निर्माणका काममा जनसहभागिता सुनिश्चित गर्ने गरेका छौँ । तर बजेटको सीमा, जनशक्तिको अभाव र प्रक्रियागत जटिलताका कारण केही काममा ढिलाइ हुने गर्दछ । नागरिकले उठाएका गुनासालाई सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता छ ।

 वडा अध्यक्षका रूपमा काम गरिरहँदा समस्या समाधान गर्न केकस्ता चुनौती देखिने गरेका छन् ?

 सडकको पूर्ण स्तरोन्नति, सबै बस्तीमा नियमित खानेपानी, व्यवस्थित नाली, कृषि सिँचाइ र स्वास्थ्य सेवाको थप सुदृढीकरण प्रमुख आवश्यकता हुन् । केही बस्तीमा वर्षायाममा पानी जम्ने र सडक हिलाम्मे हुने समस्या अझै छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा किसानका समस्या समाधानमा पनि थप काम गर्नु पर्ने छ । यी समस्या समाधान गर्न नगरपालिकाको बजेट, प्रदेश तथा सङ्घीय सरकारका कार्यक्रम र नागरिकको सहभागिता आवश्यक हुन्छ । सीमित बजेटका कारण सबै योजनालाई एकै पटक सम्पन्न गर्न कठिनाइ हुने गरेको छ ।

 आगामी दिनमा वडा नं. ३ को विकासका लागि के योजना छन् ?

 आगामी दिनमा नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा विकासका कामलाई निरन्तरता दिनेछौँ । सडक स्तरोन्नति, पक्की नाली, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिनेछ । कृषि तथा पशुपालनलाई उत्पादनमुखी बनाउने र किसानलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास हुनेछ । विकास निर्माणमा पारदर्शिता, गुणस्तर र जनसहभागितालाई जोड दिँदै वडालाई व्यवस्थित र सुविधासम्पन्न बनाउने हाम्रो लक्ष्य छ । नागरिकका सुझाव र आवश्यकतालाई समेटेर योजना अघि बढाउने छौँ ।

 अन्त्यमा वडाबासीलाई के भन्न चाहनुहुन्छ ?

 वडा नं. ३ को विकासका लागि हामी सबैको साझा प्रयास आवश्यक छ । नागरिकका सुझाव, गुनासा र सहयोगले विकासका कामलाई सही दिशामा अघि बढाउन मद्दत गर्छ । वडा कार्यालयले गरेका कामको अनुगमन गर्न, समस्या र आवश्यकताबारे जानकारी गराउन तथा विकास निर्माणमा सहकार्य गर्न सबै वडावासीलाई अनुरोध गर्दछु । नागरिकको विश्वास र सहयोगलाई सम्मान गर्दै वडाको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।