तरकारी खेतीमा सक्रिय २५ जना उत्कृष्ट महिला किसान घोषणा

गोरक्ष समाचारदाता
दाङ, १८ कात्तिक । तरकारी उत्पादनसँगै किसानको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले २५ जना उत्कृष्ट महिला किसान घोषणा गरिएको छ । लमही नगरपालिका–२ केरुनियामा रहेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थामा हेफर इन्टरनेसनलको सहयोगमा ग्रामीण महिला उत्थान केन्द्रद्वारा सञ्चालित ‘तरकारीको मूल्य शृङ्खलामा आधारित नवप्रवर्धनमार्फत् ग्रामीण महिलाको प्रतिस्पर्धात्मक क्षमता विकास’ परियोजनाको कृषि उद्यम प्रवर्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट किसान घोषणा गरिएको हो ।

परियोजना अन्तर्गत सहकारीमा आवद्ध भएर तरकारी खेती गर्दै आएका तीन सय किसानमध्ये आवेदन दिने ७० जनाबाट २५ जना छनोट गरी मङ्गलवार उत्कृष्ट घोषणा गरिएको थियो । कृषि उद्यम प्रवर्धन अन्तर्गत किसानले गरेको तरकारी खेती, अपनाएको विधि र उत्पादनका आधार किसानलाई छनोट गरिएको थियो । घोषणा भएकामा किसानमा मनपति चौधरी, कमला चौधरी, श्यामकुमारी चौधरी, फुलमाया चौधरी, जनक चौधरी, भोजली चौधरी, शान्ति चौधरी, सिता चौधरी, इन्द्रा चौधरी, राजकुमारी चौधरी, सुदामा चौधरी÷सुसिता चौधरी, राजकुमारी चौधरी, शशिकला चौधरी, मायालु चौधरी, चम्पी चौधरी, सिता चौधरी, सिर्जना थारु, रुक्मा चौधरी, चेलिया चौधरी, असल्ली चौधरी, श्यामकुमारी चौधरी, संगीता चौधरी, रञ्जीता चौधरी, श्यामकुमारी चौधरी र शान्ता चौधरी रहेका छन् ।

छनोट भएका महिला किसानले अव सयदिने कार्ययोजना बनाएर काम गर्नु पर्ने छ । त्यस अनुसार राम्रो काम गर्ने किसानलाई टप १० हुँदै टप ३ सम्म छनोट गरिने छ । उत्कृष्ट ठहरिने किसानलाई पुरस्कार स्वरूप आवश्यक कृषि यान्त्रीकरणमा सहयोग गरिने छ । र्काययोजना अन्तर्गत किसानले खेतीको पूर्वतयारी, खेत र समुदायस्तरको कार्ययोजना कार्यान्वयन, मूल्याङ्कन र भोटिङ तथा पिचिङ प्रस्तुतिलगायतका काम गर्नु पर्ने छ । त्यसका लागि छनोट भएका किसानलाई तीनदिने तालिम दिइने र त्यसबाट तरकारी खेती गरिने जमिनको क्षेत्रफल बढाउने, व्यावसायिक खेती विस्तार गर्ने तथा जलवायु अनुकूलित कृषि र प्रविधिको प्रयोगमा जोड दिदँै कृषि उत्पादनका साथै किसानले खेती गर्दाका अनुभव, सफलताका कथा र उत्पादन वृद्धिका लागि अपनाएका उपायबारे पनि प्रस्तुत गर्नु पर्ने छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आशामणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी र कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीलगायतले उत्कृष्ट घोषणा भएका किसानलाई सम्मान गरेका थिए । प्रमुख अतिथि नगर प्रमुख चौधरीले तरकारी खेतीमार्फत् आयआर्जन बढाउन सहकारीले गरेको कामलाई उत्कृष्ट बताए । देउखुरीको उरुर्वर भूमिमा किसानको उत्पादन क्षमता बढाउन सहकारीले थालेको नयाँ अभ्यासले खेतीमा किसानको सहभागिता बढाउने र राम्रो उत्पादन गर्नेलाई प्रोत्साहन गरिने बताए । कृषि ज्ञान केन्द्र दाङका प्रमुख भण्डारीले परियोजनाले उत्कृष्ट किसान घोषणा गरेर कृषि उत्पादन बढाउनसँगै कृषिमा आकर्षणका लागि नयाँ कामको सुरुवात गरेको बताए ।

केन्द्रकी अध्यक्ष चौधरीले ग्रामीण महिलालाई कृषिमा जोड्दै आयआर्जन र उत्पादन क्षमता बढाउन परियोजनाले काम गर्दै आएको बताइन् । कार्यक्रममा हेफर इन्टरनेसनलका कार्यक्रम प्रबन्धक प्रदीप शर्मा, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष अन्जु चौधरी तथा उत्कृष्ट किसान सिर्जना थारू र कमला चौधरीले बोलेका थिए । परियोजनाअन्तर्गत सहकारीमा आबद्ध महिलालाई क्षमता विकास, प्रविधि हस्तान्तरण र सिँचाइ सुविधासँगै उत्पादित तरकारीको बजारीकरणमा सहयोग गर्दै आएको छ । ग्रामीण महिला उत्थान केन्द्रकी माधवा पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण परियोजनाका व्यवसाय विकास अधिकृत हिमाल खड्काले गरेका थिए ।