सुशीला ओली
घोराही, १८ कात्तिक । तिहार नजिकिँदै गर्दा लमही नगरपालिका–५ कोलहीकी वसन्ता गिरी सिन्कामारी रोटी बेच्न व्यस्त भएकी छिन् । तिहारलाई लक्षित गरेर उनले विगत पाँच वर्षदेखि यो व्यवसाय गर्दै आएकी छिन् ।
गुराँस सिन्कामारी उद्योगमार्फत व्यवसाय गर्दै आएकी गिरीले तिहारमा खाइने सिन्कामारी रोटी बनाउन यतिबेला भ्याइनभ्याइ भएको बताइन् । उनले उत्पादन गरेको सिन्कामारी लमही बजार र नजिकका गाउँमा बिक्री हुने गरेको छ । धेरैजसो बिक्री घरबाटै हुने उनको भनाइ छ । तिहार र विवाहको सिजनमा बिक्री बढी हुने उनले जानकारी दिइन् । व्यवसायमा श्रीमानले पनि सहयोग गर्दै आएका छन् ।
‘खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, समयको सदुपयोग पनि भएको छ’, उनले भनिन्,‘सीप भएका महिलालाई फुर्सदको समयको सदुपयोगसँगै आयआर्जनको अवसर मिलेको छ ।’
तिहारलाई लक्षित गरेर सुरु गरेको व्यवसायले अन्य समयमा पनि राम्रो आम्दानी दिएको गिरीले बताइन् । तिहारको समयमा मात्रै डेढदेखि दुई लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनको भनाइ छ । अन्य समयमा मागअनुसार उत्पादन गरी बिक्री गर्ने र सधैँ केही मौज्दात राख्ने गरेको उनको भनाई छ ।
हेर्दा आकर्षक, खान स्वादिलो र तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वमा सिन्कामारी रोटीको बिक्री राम्रो हुने गरेको बताउँछिन । । उनका अनुसार सिन्कामारी छोटी चामलको पिठो पकाएर मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि व्यापारबाट राम्रो कमाइ हुने गरेपछि विगत पाँच बर्षदेखि सिन्कामारी रोटी बनाउने काम गर्दै आएको उनी बताउँछन् । तिहारको समयमा धेरैजसो ग्राहक घरमै लिन आउने भएकाले बजारको समस्या नभएको उनले बताइन् ।
तिहारमा माग राम्रो हुने भएकाले बिक्री गर्न सजिलो हुने गरेको छ । उनले एक दर्जन सिन्कामारी थोकमा २५० र खुँदामा ३०० का दरले बिक्री गर्ने गरेको बताउँछिन । जिल्लामा पछिल्लो समय तिहारलाई लक्षित गरेर सिन्कामारी बनाई बेच्नेको सङ्ख्या बढ्दै गएको छ ।