दाङ, १८ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा घोराहीमा ‘महाकवि देवकोटा सांगीतिक साँझ’ हुने भएको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आगामी कात्तिक २० गते शुक्रबार घोराहीस्थित कौशी ब्याङ्क्वेटमा कार्यक्रम हुने भएको छ । बेलुकी ५ बजेदेखि सुरु हुने कार्यक्रम पारिवारिक वातावरणमा सञ्चालन गरिने राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मीले जानकारी दिएका छन् ।
कार्यक्रममा देवकोटाका सिर्जनासँगै नेपाली साहित्य, संगीत र संस्कृतिसँग सम्बन्धित सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । सांगीतिक साँझमा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्दाचार्य, बरिष्ठ साहित्यकार डा. कृष्णराज डीसी, नारायण नेपाल, गायक राजेन्द्र श्रेष्ठ, गोविन्द मधुर आचार्य, पिताम्बर रिजाल र अम्बिका रिजालले प्रस्तुति दिनेछन् ।
साथै साइग्रेस म्युजिकका बालबालिकाले देवकोटाका बालकविता प्रस्तुत गर्नेछन् । देवकोटाको साहित्यिक योगदानको सम्मान गर्दै उनका कालजयी सिर्जनालाई संगीतमार्फत नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष रेग्मीले बताए । कार्यक्रमको सांगीतिक संयोजन साई ग्रेस म्युजिक एन्ड इभेन्ट्सले गर्नेछ भने गुरुकुल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक स्कुल सह–संयोजनमा रहेका छन् ।
वि.सं. १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटाले कविता, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यासलगायत विभिन्न विधामा कलम चलाए । ’मुनामदन’, ’शाकुन्तल’, ’सुलोचना’, ’कुञ्जिनी’ र ’पागल’ उनका चर्चित कृति हुन् । विशेषगरी ’मुनामदन’मार्फत उनले मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतना सशक्त रूपमा अभिव्यक्त गरेका छन् । नेपाली साहित्यमा पु¥याएको अतुलनीय योगदानका कारण उनलाई महाकविका रूपमा सम्मान गरिन्छ ।