घोराही १६ कात्तिक । गुरुकुल एकेडेमीका कक्षा ११ विज्ञान संकायअन्तर्गत जीवविज्ञान अध्ययनरत ४२ जना विद्यार्थीले बाँकेको ढकेरीस्थित बोटानिकल गार्डेनको शैक्षिक अवलोकन गरेका छन्।
विद्यार्थीलाई कक्षाकोठामा पढाइएका जीवविज्ञान तथा वनस्पति विज्ञानसम्बन्धी विषयलाई प्रत्यक्ष अवलोकनमार्फत व्यवहारिक रूपमा बुझाउने उद्देश्यले अवलोकन गरेका हुन । गुरुकुल एकेडेमीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको नेतृत्वमा भएको भ्रमणमा प्लस टु संयोजक राजन अधिकारी र शिक्षक सुशील लामिछानेसहित ४२ जना विद्यार्थी सहभागी थिए । अवलोकनका क्रममा विद्यार्थीहरूले बोटानिकल गार्डेनमा रहेका विभिन्न प्रजातिका वनस्पति, तिनको संरचना, विशेषता, जैविक विविधता तथा वातावरणीय महत्वका विषयमा प्रत्यक्ष जानकारी लिएका हुन ।
विद्यालयले पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा अवलोकन, प्रयोग र अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिँदै आएको जनाएको छ । शैक्षिक भ्रमणले विद्यार्थीको विषयगत ज्ञानसँगै अनुसन्धान गर्ने क्षमता, वातावरणप्रतिको चेतना र व्यवहारिक सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ‘कक्षाकोठाबाट प्रयोगशालासम्म र प्रयोगशालाबाट वास्तविक जीवनसम्म’ भन्ने अवधारणालाई आत्मसात् गर्दै गुरुकुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको छ।