दाङ,१३ कात्तिक । नगर स्वास्थ्य केन्द्र स्थानीयवासीका लागि स्वास्थ्य सेवाको भरपर्दो आधार बन्दै गएको छ ।
लमही नगरपालिका–३ अन्तर्गतका सातवटै गाउँका नागरिकलाई घरनजिकै सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको टिकुलीगढस्थित नगर स्वास्थ्य केन्द्रले स्थानीयलाई उपचारमा सहजता प्रदान गरेको छ । सामान्य स्वास्थ्य समस्या देखिँदा उपचारका लागि लमही अस्पतालसम्म पुग्नुपर्ने बाध्यता स्वास्थ्य केन्द्रले हटाएको स्थानीय बताउँछन् ।
लमही नगरपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले नगरका नौवटै वडामा नगर स्वास्थ्य केन्द्र केही वर्षअघि सञ्चालनमा आएको थियो । सोही अभियानअन्तर्गत वडा नं. ३ को टिकुलीगढमा स्थापना भएको स्वास्थ्य केन्द्रबाट स्थानीय नागरिकले विभिन्न स्वास्थ्य सेवा लिँदै आएका छन् । नगर स्वास्थ्य केन्द्रबाट सामान्य बिरामीको उपचार, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन, नियमित खोप कार्यक्रम, पोषण सेवा तथा शीघ्र कुपोषणको पहिचान र उपचारलगायतका आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध हुँदै आएका छन् । लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोजकुमार चौधरीका अनुसार वडाका सातवटै गाउँका नागरिकलाई उपचारमा सहजता भएको छ ।
गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुँदा विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत मिलेको उनको भनाई छ । वडा अध्यक्ष चौधरीले भने,‘वडाका सबै गाउँका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।’
टिकुलीगढस्थित नगर स्वास्थ्य केन्द्रमा दैनिक औसत २० देखि २५ जनासम्म बिरामी उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेको केन्द्रमा कार्यरत अनमी प्रतीक्षा ज्ञवाली बताउँछिन । उनका अनुसार स्वास्थ्य केन्द्रले संस्थामा आउने सेवाग्राहीलाई मात्र नभई समुदायमै पुगेर पनि विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्यकर्मीले समय–समयमा नागरिकका घरदैलोमा पुगेर ज्येष्ठ नागरिक घरभेट कार्यक्रम, बालबालिकाको पोषण अवस्था लेखाजोखा, डेङ्गु रोग नियन्त्रणसम्बन्धी सचेतना तथा सुत्केरी महिला भेटघाट कार्यक्रम गर्ने गरेका छन् ।
नगरपालिकाले नौवटै वडामा सञ्चालन गरेका अधिकांश नगर स्वास्थ्य केन्द्रमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीसहित तीन जना कर्मचारीको व्यवस्था गरेको छ । वडा नं. ३ निवासी ५७ वर्षीय रामलौटन चौधरी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी भएको बताउँछन् । सामान्य स्वास्थ्य समस्या हुँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । लमही अस्पताल वा अन्य स्वास्थ्य संस्थामा जाँदा सेवाग्राहीको भीड, पालो कुर्नुपर्ने अवस्था, समयको खर्च र यातायातलगायतका अतिरिक्त खर्च व्यहोर्नुपर्ने भएकाले सामान्य उपचारका लागि नगर स्वास्थ्य केन्द्र नै सहज भएको उनी बताउँछन।