पत्रकार पक्राउ पञ्चायतकालिन अभ्यास : निवर्तमान अध्यक्ष पोख्रेल

दाङ,१३ कात्तिक । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निनन्दा गरेका छन् । पत्रकार सुवेदीलाई आज बेलुका सादा पोशाकमा रहेका प्रहरीले कार्यालय भित्र प्रवेश गरेर नियन्त्रणमा लिएका थिए ।

उक्त घटना लोतान्त्रिक शासन व्यबस्थामा मा कल्पनासम्म पनि गर्न नसकिने विषय रहेको पोख्रेलले उल्लेख गरेका छन् । अन्य पत्रकारहरुलाई समेत प्रहरीले खोजिरहेको सुन्नमा आएको भन्दै पोख्रेलले भने ‘पक्राउपुर्जी बिना नै सञ्चारमाध्यमको कार्यालयमा पुगेर पक्राउ गर्नु गलत हो, अन्तराष्ट्रिय अभ्यास पनि के हो भने पत्रकारले आफ्नो सूचनाको स्रोतको संरक्षण गर्छ र गर्नुपर्छ । अदालतले पनि स्रोत खोल्न बाध्य पार्न पाउँदैन ।’

समाचार लेख्ने पक्रकारलाई साइबर व्यूरो लगेर समाचारको स्रोत खोल्न दवाव दिनु भनेको लोकतान्त्रिक शासन व्यबस्थामा मा कल्पनासम्म पनि गर्न नसकिने विषय रहेको उल्लेख गर्दै निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेलले समाचारको सन्दर्भमा कुुनै समस्या भएमा त्यसको निरुपणको दायित्व प्रेस काउन्सिलको रहने स्मरण समेत गराएका छन् । ‘सिधै प्रहरीको सक्रियतालाई स्विकार गर्न सकिदैन,’ पोख्रेलले भने ‘समाचारको सन्दर्भमा कुुनै समस्या भएमा त्यसको निरुपणको दायित्व प्रेस काउन्सिलको हो ।’

लोकतन्त्रका आधारभूत मान्यताको सम्मान गर्न र कानुनी साशनको प्रत्याभूत गर्ने सन्दर्भमा राज्यका सबै संरचनाहरु गंभिर बन्नु पर्ने भन्न्दै उनले प्रहरीको यो शैलीलाई पञ्चायतकालिन अभ्यासका रुपमा चित्रण गरेका छन् । ‘यो अभ्यास त पञ्चायतकालिन अभ्यास भयो, लोकतन्त्रमा यस्तो हुँदैन,’उनले भने ‘ लोकतन्त्रका आधारभूत मान्यताको सम्मान गर्न र कानुनी साशनको प्रत्याभूत गर्ने सन्दर्भमा राज्यका सबै संरचनाहरु गंभिर बन्नु पर्छ ।’ पत्रकारहरुलाई पक्राउ गरेर सिंगो प्रेस लाई राज्यले तर्साउन खोजेको भन्दै पोख्रेलले सरकारको यो गलत शैलीले लोकतन्त्र खतरामा पर्ने बताए । उनले पत्रकार सुवेदीको विना सर्त रिहाईको माग समेत गरेका छन् ।